logo
२०८१ बैशाख ८ शनिवार

  राउटे समुदायमा जातीय संस्कार 



बिहेका लागि कतै केटी पाउन गाह्राे कतै केटा भेट्न मुश्किल

प्रदेश |
समाज |


बिहेका लागि कतै केटी पाउन गाह्राे कतै केटा भेट्न मुश्किल


कमल शर्मा
दैलेख, मंङसिर १० गते । राउटे समुदायकी गाजली शाही उम्मेरले २७ वर्ष पुग्नुभयो । आफ्नो समुदायमा आफूले बिहे गर्ने राउटे युवा नहुँदा उहाँको लगनगाँठो जुर्ने समय मिलेको छैन । उक्त समुदायमा अहिले सातवर्षका वालकबाहेक अरु युवा छैनन् । संस्कार भित्र बस्दा उहाँलगायत अन्य चारजना युवतीको बिहे हुन सकेको छैन ।
राउटे समुदायमा अहिले तीन जातका ठकुरीहरु बस्ने गरेका छन् । कल्याल, सुबंसी र रास्कोटी । त्यस मध्येका सबै भन्दा बढी समुदायमा रहेको कल्याल ठकुरीका छोरीहरु हुन् उनीहरु । समुदायमा अहिले गाजली शाही जस्ता चारजना युवती आफ्नो संस्कारमा समुदाय भन्दा बाहिर गएर विवाह गर्न नपाइने संस्कारका कारण बिहे हुन सकेको छैन । आफूलाई जंगलको राजा ठान्ने र जंगलमै फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा परम्परागत संस्कार र संस्कृतिका कारण समुदायभन्दा बाहिर आउन नसक्दा राउटे समुदायमा रहेकी युवतीको बिहे हुन नसकेको हो । शाहीले संस्कारभन्दा बाहिर जान मिल्दैन, आफ्नै समुदायमा विवाहका लागि केटा नभएकाले विवाह गर्न नसकेको उहाँले जनाउनुभयो ।
राउटे मुखिया सूर्यनारायण शाहीका अनुसार समुदायमा पछिल्लो समय युवा युवतीको बिहे हुन नसेककोमा आफु चिन्तित रहेको बताउनुभयो । समुदायमा रास्कोटी र शुबंसीको जनसंख्या कम छ । सबै भन्दा बढी कल्याल नै हो, कल्यालमा शाहीका युवायुवती गरी जम्मा २० जनाको बिहे हुन नसकेको उहाँले जनाउनुभयो ।
राउटे समुदायमा फरक गोत्रमा उमेर पुगेकी युवती नहुँदा १२ वर्षीया मायाराम शाहीसँग ३१ वर्षीय दलबहादुर शाहीले बिहे गरेका छन् । आफ्नै समुदायमा आफ्नो उमेरको केटी नहुँदा २० वर्ष कान्छीसँग लगनगाँठो कसेको दलबहादुरले बताउनुभयो ।
‘त्यही पनि नपाउने चिन्ता हुन्छ, हाम्रोमा केटाहरु धेरै भयो, केटीहरु छैनन् । त्यही भएर जन्मने बित्तिकै उसलाई कुर्नैपर्ने बाध्यता छ ।’ उहाँले भन्नुभयो ।
कर्णाली प्रदेश तथा सुदूरपश्चिमका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे अहिले दैलेखको गुराँस गाउँपालिका वडा नं ४ सतुवाचौरमा बसेका छन् । दक्षिण एशियाकै लोपोन्मुख जातिमा पर्ने उनीहरु पछिल्लो समय आफ्नै संस्कारका कारण कतिपय युवायुवती समाजमा खुल्न चाहे पनि खुल्न सकेका छैनन् ।
पछिल्लो समय जिल्लामा रहेको एक गैससले राउटे समुदायमा विभिन्न सचेतना जगाउन राउटे परियोजना संचालन गरेको छ । परियोजनामार्फत् विरामी पर्दा आवश्यक औषधि उपचार र सरसफाई लगायतका क्षेत्रमा काम गर्नका लागि स्थानीय सामाजिक परिचालक राखेर समुदायको रेखदेख समेत गर्ने गरेको राउटेका शिक्षा क्षेत्रमा काम गरेको सामाजिक परिचालक लालबहादुर खत्रीले बताउनुभयो । एकसय ५० जनाको संख्यामा रहेको राउटेमा महिला ७२ जना र पुरुष ७८ जना रहेका छन् ।

दैलेखको गुराँस गाउँपालिका वडा नं ४ सतुवाचौरमा बस्दै राउटे युवतीहरु । विहे गर्ने केटा नहुँदा उनीहरुको बिहे हुन सकेको छैन । तस्विरः कमल शर्मा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?