logo
२०८० चैत्र १६ शुक्रवार

  कमला नदीमा भूत मेला 



पंहेलो वस्त्रमा सजिएका महिला र पुरुष लाठी लिएर काम्दै थिए

समाज |
पढ्नै पर्ने |


पंहेलो वस्त्रमा सजिएका महिला र पुरुष लाठी लिएर काम्दै थिए
तस्बिर: घनश्याम मिश्र, राजा झा


इश्वरचन्द्र झा
काठमाडौं, कात्तिक २६ गते । धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा सोमबार रातिदेखि मानिसको चहलपहल थियो । पंहेलो वस्त्रमा सजिएका महिला र पुरुष हातमा लाठी लिएर काम्दै थिए । कोही नदिमा डुबुल्की मार्दै थिए । झ्वाट्ट हेर्दा कुनै नाटक वा भूतको चलचित्रको को सुटिङ् भए जस्तै देखिन्थ्यो ।
मंगलबार बिहानसम्म हजारौंको संख्यामा मानिसहरुको भीड लागेको यो दृष्य हरेक वर्ष कमला नगरपालिका भित्रका इनरुवा भन्ने स्थानमा हुने भूत मेलाको हो । यो स्थानमा कात्तिक पूर्णिमाका दिन हिन्दू धर्माबलम्बीहरूले गंगा नदीको घाटमा स्नान गरेर पूण्य कमाउने गर्छन्, ।
सोमबार रातिदेखि मंगलबार बिहानसम्म हजारौंको संख्यामा मानिसको भिड लागेको छ । नेपालका विभिन्न जिल्ला र भारतबाट श्रद्धालु, भक्तजन स्नान गरेर पूण्य कमाउन कमला नदी पुगेको छन् । सँगै धामी झाँक्री र भूतपिचाशमा अझै विश्वास गर्ने हजारौं सर्वसधारण कमला नदी पुगेर झारफुक गराएका छन् ।
उहाँहरुको विश्वास छ – पिचास, मनुष्यदेवा, भूत समातेकोले कमला नदीको तटमा धामी झाँक्रीबाट झारफुक गराएर स्नान गर्दै दान पूण्य गरे पिचास हट्छन् र राम्रा दिनहरु सुरु हुन्छ ।
सोही विश्वास गरेर भारत बिहार मधुवनी जिल्लाका पल्टनकुमार श्रीमली सहित कमला नदी आउनु भएको हो । श्रीमली राजीलाई भूत लागेर सन्तान प्राप्त हुन नसक्दा उहाँ भूत छोडाउन कमला मेलामा आउनुभएको छ ।


कमला नदीमा स्नान गर्नेहरूमा नेपालको मध्य तथा पूर्वी मधेशका जिल्लाका भन्दा भारतीय सीमा क्षेत्रका सर्वसधारणको संख्या बढी हुन्छ् । मेला लाग्ने स्थल धनुषातर्फ कमला नगरपालिका क्षेत्रमा पर्छ । र उक्त क्षेत्रभन्दा थोरै मिटरको दूरीमा भारतीय सीमा रहेकोले पनि नदीमा स्नान गर्न आउनेहरूमा भारतीयको संख्या बढी हुने गरेको छ ।
तराई मधेशको ग्रामीण क्षेत्रबाट कात्तिक पूर्णिमामा सिद्धि प्राप्त गर्ने, भूत लागेको हटाउने आस्थासहित दुई साता अघिदेखि नै कमला पुग्ने तयारी सुरु हुन्छ ।
पहेंलो धोती र आकर्षक साडी लगाएर दन्किरहेको आगोसहितको ढाकन समातेर कैयौं कोषको बाटो पैदल हिंडेर लोक गीत गाउँदै सोमबार अबेर हजारौं ब्यक्ति कमला नदीको तटमा पुगे ।
महोत्तरीको जलेश्वर नगरपालिकाका युवा श्यामकुमार सदालाई कमला नदीप्रतिको आस्थाले सपरिवार कमला पुर्याएको छ । उहाँ परिवारले विगत्मा गरेको भाकल पूरा भएपछि सपरिवार कमला नदीमा स्नानको लागि आएको बताउनुहुन्छ ।


उहाँले नदी तटमा तन्त्र–मन्त्र जपेर झारफुख गर्नेलाई मनग्यै दक्षिणा समेत दिनुभयो । परिवार हराभरा भई राम्रा दिन आएकोले खुशीयाली मनाउन कमला नदीमा स्नान गरी धामी झाँक्रीलाई दान पूण्य गरेको उहाँ बताउनुहुन्छ ।


कात्तिक पूर्णिमा अवसर पारेर पल्टन र श्यामकुमार जस्तै सयौं सर्वसधारण कमला नदी पुगेका छन् ।
यसरी कात्र्तिक पूर्णिमाका दिन नाच्दै, गाउँदै हिंडेका ब्यक्तिमाथि देउता वा देवी आएको भनिन्छ । धामी झाँक्रीले देवी देवता हटाउन आस्थावानहरुबाट दक्षिणा लिन्छ र मनग्यै कमाउँछन् ।स्नान गरेका विवाहित महिला र पुरुषलाई धामी झाँक्रीले प्रसादको रुपमा विभिन्न परिकारहरु दिन्छन र झाँक्रीले भने बमोजिम गर्दा फलिफाप हुने विश्वासले प्रसाद ग्रहण गर्छन् ।
सिकारु धामी–झाँक्रीले कात्र्तिक पूर्णिमाको दिनलाई कमला नदीको तटमा सिद्धि प्राप्त हुने दिनको रुपमा लिएर गाजाबाजसहित कमला छेऊ पुग्छन् । कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा लाग्ने भीड पूर्णिमाको दिन देउता खेलाउँदै कमला स्नानपछि पातलिदै जान्छ । स्थानीयको सक्रियतामा पूर्णिमाको अवसर पारेर देवी देवताको मूर्ति बनाएर पूजा आराधना गरिन्छ ।


औषधि विज्ञानको नयाँ नयाँ अन्वेषण र अनुसन्धानले ल्याएको उपचार पद्धतीले धामी झाँक्रीमाथि विश्वास गर्नेहरुको संख्यामा कमी आएको छ । यद्दपी भूतमेलामा गाइने लोक गीत र बजाइने बाजा भने लोप नै हुने अवस्थामा पुगेकोले धामी झाँक्रीको अध्यायलाई समाप्त गरी उक्त मेलाका लागि गाईने गीत र बाजाको जर्गेना गरी संस्कृतिलाई संरक्षण गर्नु आवश्यक देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?