logo
२०८१ बैशाख ८ शनिवार



हिरण्यकश्यपकाे बध गरेपछि कलाकारले होस गुमाए

पढ्नै पर्ने |
मनोरञ्जन |


हिरण्यकश्यपकाे बध गरेपछि कलाकारले होस गुमाए


यलु जोशी

ललितपुर, कार्तिक २५ गते । पाटनको कृष्णमन्दिर डबलीमा आइतबार माहोल बेग्लै थियो । जति रात ढल्कँदै जान्थ्यो, त्यति यहाँ चहलपहल बढ्थ्यो । मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेवैको डबली वरपर थामिनसक्नुको भीड थियो । ऐतिहासिक कात्तिक नाचका क्रममा राति नरसिंह अवतारको हिरण्यकश्यप बध देखाइएको हुनाले भीड बाक्लै थियो । साे नाच हेर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराइ पनि पुग्नु भएकाे थियाे । 

मङ्गलबजारस्थित कात्तिक डबलीमा प्रदर्शन हुने ३७८ वर्ष पुरानाे परम्परागत नाचमा हिरण्यकश्यप पात्रको बध गरेपछि कलाकारले साँच्चै होश गुमाउने कथन छ । हिरण्यकश्यपले होस् गुमेदेखि फर्किदासम्मको दृश्य धेरैले रुचाए । कात्तिक नाच संरक्षण समितिका संजय शर्मा राजोपाध्याय त्यस क्षण आगन्तुकका लागि सबैभन्दा चाखलाग्दो बन्ने गरेको बताउनुभयो ।

कात्तिक नाचको विशेष आकर्षण भनेकै हिरण्यकश्यप बधलाई मानिन्छ । नाचको सुरुमा कृष्ण नाच देखाइयो । कालो लुगामा कृष्णलाई अरुले साथ दिएक थिए।

कृष्ण नाचपछि हिरण्यकश्यपु र प्रह्लाद नाच देखाइयो । हिरण्यकश्यपु र उनका छोरा प्रह्लादका साथ दुई दैत्य नृत्य गर्छन् ।

भगवान् विष्णुले नरसिंह अवतारको रूप धारण गरी हिरण्यकश्यपको बध गर्ने प्रस्तुतीलाई हेर्न सबैले रातको १ं.०० बजे सम्म कुरिरहेक थिए । २००७ सालपछि नाच छोट्याउने क्रममा संवाद हराइसकेको भए पनि समय क्रमसँगै यो नाचको अवधि पुनः लम्ब्याइएपछि अहिले केही संवाद पनि सुन्न पाइन्छ । संवाद सुनेर दर्शकह रमाउँछन् ।

प्रह्लादलाई दैत्य गुरुहरु ओम् नमः शिवाय् भन्न सिकाउँछन् । तर ओम् नमः शिवाय साटो ओम् नमो भगवते बासुदेवाय् मात्र भन्छन् । सिकाउँदा सिकाउँदा गुरुहरु थाक्छन् । हिरण्यकश्यपुले आफ्ना छोरालाई बाँध्न आदेश दिन्छन् । नाचको चरमोत्कर्ष तब सुरु हुन्छ ।

मसालहरू दन्काइन्छन् । पाटन दरबारबाट नृसिंह बाहिर ल्याइन्छ । खम्बा फोरेर नृसिंह अवतार बाहिर निस्कन्छ । नृसिंहको छायाँ पर्न नहुने भएकोले डबलीमा मसाल दनदनी दन्काइन्छ । नृसिंहले नाच्दै हिरण्यकश्यपुलाई खेदाउँछन् । नाचको महत्त्वपूर्ण दृश्य नै यही हो ।

नाच्दानाच्दै नृसिंहले दैत्यलाई फन्दामा पार्ने प्रयास गर्छ । तर पटक पटक दैत्य उम्कन्छ । अन्त्यमा नृसिंहले दैत्यलाई भाग्नै नसक्ने गरी घेरामा पार्छन् ।
नृसिंहले यसो छोएको मात्र के हुन्छ, हिरण्यकश्यपु साँच्चिकै अचेत हुन्छन् ।

आइतकार बेलुका ८ बजेबाट सुरु भएको नाच सोमबार विहान २ः१५ बजे सकिएको थियो ।

बीस वर्षदेखि कात्तिक नाचमा हिरण्यकश्यपको भूमिका निर्वाह गर्दै आउनुभएका किरण चित्रकार यस वर्ष पनि सोही पात्रमा नाच्नुभयो ।

उहाँले यो नाच रहस्यमय भएको बताउँदै एकातर्फ समाजको विकृति र विसङ्गगति उजागर गर्ने गरिन्छ भने अर्कोतर्फ धार्मिक नाच प्रस्तुत गर्ने गरेको बताउनुभयो । यसै नाचमा मधुकैटव बधको पनि प्रदर्शन गरिँदै आएको छ । ‘बध गर्दा मलाई होस् हुँदैन,’ कलाकार चित्रकारले भन्नुभयो, ‘हिरण्यकश्यपको वधपछि कात्तिक नाचको चोकमा लगेर पाटन सुन्धाराको जल छर्केपछि मात्र ब्युँझिन्छु ।’

सोमबार वस्त्रहरण लीला प्रदर्शन गरियो भने अन्तिम दिनमा दधि लीला देखाइने संरक्षण समितिले जनाएको छ । गत कात्तिक १५ बाट सुरु भएको नाच २६ गते मंगरबार समापन हुने समितिले जनाइएको छ । १६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?