logo
२०८१ बैशाख १२ बुधवार

  जातीय र लैङ्गिक समानताकाे प्रयास  



गाउँकाे सिंहदरबारमा दलित र एकल महिलालाई भान्से

समाज |


गाउँकाे सिंहदरबारमा दलित र एकल महिलालाई भान्से


गोकर्ण दयाल
बैतडी, कात्तिक १९ गते । गाउँको सिंहदरवारका रुपमा रहेको बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाले दलित र एकल महिलालाई भान्से र सहयोगी नियुक्त गरेको छ ।

दलित जाति भएकै कारण बैतडीका अन्य गाउँपालिका र कार्यालयहरुमा दलितलाई भान्से नियुक्त गरेको उदाहरण कतै पाईँदैन । तर, शिवनाथ गाउँपालिकाले दलितलाई भान्से र एकल महिलालाई कार्यालय सहयोगी नियुक्त गरेको हो ।
समाजमा हुने जातीय विभेद अन्त्य गर्न शिवनाथ गाउँपालिकाले प्रकाश नेपाली औजी र हिमा धनाडीलाई भान्से र कार्यालय सहयोगी नियुक्त गरेको जानकारी दिएको छ ।

समाजमा अझैं जातीय विभेद उन्मुलन भई नसकेको गाउँपालिका उपाध्यक्ष कुश्मा चन्दले बताउनुभयो । गाउँपालिकामा हुने जातीय विभेद र लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकार नै लाग्नु पर्ने बेला आएको चन्दले बताउनुभयो ।
चन्दले भन्नुभयो, गाउँपालिकामा दलित र एकल महिलालाई भान्से र सहयोगी राख्न मैले समाजका टाठावाठासंग नै संघर्ष गर्नु प¥यो । उत्पीडनमा परेका वर्ग र समुदायले परिवर्तनको अनुभूति गर्न पाएनन् भने स्थानीय सरकार बनेको के काम ? त्यसैले दलित र एकल महिलालाई भान्से र सहयोगीका रुपमा एक वर्षअघि नै नियुक्त गरेका हौं ।
शिवनाथ गाउँपालिकाले आफुलाई बोलाएर भान्सेमा नियुक्त गरेको शिवनाथ गाउँपालिका वडा नम्बर २ सनकोटकोटका प्रकाश नेपाली औजीले बताउनुभयो । नेपालीले भन्नुभयो, गाउँपालिकाले यस्तो मौका दिएकोमा म निकै खुशी छु । साँच्चै गाउँमै सिंहदरवार आएको अनुभूति भएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडी जिल्लाको कुल जनसंख्या दुई लाख ५८ हजार रहेको छ । यो मध्ये दलित समुदायको ५० हजार जनसंख्या रहेको छ । जनसंख्याको अनुपातमा बैतडी जिल्लाका सरकारी निकायमा दलितको समानुपातिक सहभागिता हुन सकेको छैन । पछिल्लो समय शिवनाथ गाउँपालिकाले भान्से र कार्यालय सहयोगीमा एकल महिला र दलितलाई नियुक्त गर्नु उदाहरणीय कार्य भएको अधिकारकर्मीले बताएका छन् ।
गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा नियुक्त हुनुभएकी शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीकी एकल महिला हिमा धनाडीको अनुभूति वेग्लै छ । उहाँ विवाह गर्ने २० वर्ष उमेर नपुग्दै विधवा हुनु भएको थियो ।
हिमा धनाडीले भन्नुभयो, म अहिले २८ वर्ष पुगे । २० वर्ष नुपग्दै विधवा भएकी हुँ । बुवा आमाले सानैमा विवाह गरेर दिएपछि पढ्न पाईन । रोजगारीको क्रममा श्रीमानको मृत्यु भयो । साथमा दुई छोराछोरी थिए । भाग्यले जीवन नै समाप्त पारेको ठानेर बसेकी थिए । मेरो जीवन गाउँपालिकाले परिवर्तन गरिदियो ।
खुशी हुँदै धनाडी भन्नुहुन्छ, गाउँपालिका त मेरा लागि भगवान नै बनेर आयो नि ! दुई छोराछोरी हुर्काउन समस्या भईरहेको थिया । अब छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिने सोच बनाएकी छु । गाउँपालिका उपाध्यक्षले मलाई पनि खुला स्कुलबाट पढ्न सुझाव दिनु भएको छ ।
जिल्लाको दुर्गम शिवनाथ गाउँपालिकाले परिवर्तनका लागि सुरुवात गरेको यो कदम अन्य पालिकाका लागि पनि अनुकरणीय काम हुन सक्ने नागरिक समाज बैतडीले टिप्पणी गरेको छ ।
गाउँपालिकाले स्थानीयवासीलाई सरकारी सेवा दिने काम मात्र नगरेर समाज परिवर्तनका लागि पनि केही नमुना काम गर्नुपर्छ भनेर दलित र एकल महिलालाई भान्सेका रुपमा नियुक्त गरेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?