logo
२०८० चैत्र १५ बिहीवार

  फाेटाे फिचर सहित 



मिथिलाञ्चलमा छठकाे रौनकः किन मनाईन्छ छठ ?

समाज |


मिथिलाञ्चलमा छठकाे रौनकः किन मनाईन्छ छठ ?


इश्वरचन्द्र झा
कात्तिक १६ गते । पर्वै पर्वको समाज हो, मिथिला समाज । एकपछि अर्को गर्दै वर्षभरि नै पर्व मनाउने परम्परा रहेको मिथिला समाजमा छैठ पर्वको रौनक र आकर्षण विश्लेषणीय छ ।
पर्वै पर्वको समाजको रुपमा रहेको मिथिलामा छठको स्थान सबैभन्दा विशिष्ट श्रेणिमा राखिएको छ । सबै जात वर्ण, समुदायले छैठ पर्व मनाउने गरेका छन् । छैठ पर्वमा न लिङ भेद–न धर्म भेद, न भाषाभेद – न जातीय भेद देखिन्छ ।
त्यसै भएर त मिथिला क्षेत्रका मुस्लिम समुदायले पनि छैठका लागि अर्घ दिने गरेका छन् । मिथिलामा जो बस्यो, छठको महिमालाई स्वीकार गरी मनाउन थाले ।
सूर्य पुराणमा उल्लेख भए बमोजिम छैठ पर्व कात्र्तिक शुक्ल षष्ठीका दिन मनाईने गरिन्छ । बिभिन्न वेद पुराण तथा ग्रन्थहरुमा बिभिन्न प्रकारले छैठ पर्वको महत्वबारे उल्लेख गरिएको भएपनि त्रेतायुगमा अत्री ऋषिकी पत्नी सती अनसुईयाले सर्वप्रथम छठ पर्वको अनुष्ठान गर्नुभएको बताईन्छ । फलस्वरुप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् । महाभारत कालमा वनवासको क्रममा द्रोपदीले राज्य फित्र्ता पाएपछि छठ व्रत बस्ने संकल्प गर्दा राज्य फित्र्ता पाएपछि छैठ मनाउन थालेको संस्कृतिविद् रामभरोस कापडी बताउनुुहुन्छ । बिभिन्न कालखण्डमा बिभिन्न तवरले छैठको प्रसंग आए पनि अत्री ऋषिकी पत्नि अनसुईयाले सूर्यको आराधना गरी छैठ पर्वको सुरुवात गरेको विश्वास गरिन्छ । यो व्रत गरे दुःख दरिद्र तथा चर्म रोग आदि सबै पीडाबाट मुक्ति पाईने विश्वास रही आएको छ ।
मिथिलाञ्चलको केन्द्र जनकपुरमा भने छैठ पर्वको रौनक नै छुट्टै देखिन्छ । सन्ध्या अर्घ दिईने दिन मध्यान्हबाट नै छैठ पर्व मनाउने सर्वसधारणको घुईचो पोखरी, तलाउ, नदीको किनारमा देख्न सकिन्छ । सपरिवार पोखरीको डिलमा उपस्थित भई अस्ताउँदो सूर्यलाई अर्घसहित भाकल गरिन्छ र भाकल पूरा भएकाहरूले दिनकरलाई नमन गर्दै रातिको मनोरञ्जनमा सरिक हुने गर्छन् ।
यसरी तलाउको डिलमा रातिको रंगिबिरंगी दृश्यले स्वर्गकै एक टुक्रा पृथ्वीमा परेको अनुभूति दिलाउने गर्छन् । पञ्चमी तिथिदेखि सप्तमी सम्म निराहार बस्नुपर्ने भएकोले छठ पर्वलाई कठोर पर्वको रुपमा लिईने गरिएको छ । निराहार बस्ने तीनदिनसम्म व्रतालुले पानी पनि खान नहुने हुनु र पर्वमा प्रसादका लागि तयार गरिने सामग्रि समेत छुट्टै माटोको चुल्होमा बनाउनुपर्ने भएकोले छैठलाई निष्ठाको पर्व समेत भनिएको हो ।
षष्ठीको बिहानैदेखि छैठ पर्वमा प्रसादका लागि ठकवा, भुसवा तयार गरिन्छ । साथै मूला, भान्टा जस्ता तरकारीजन्य वस्तु समेत प्रसादको रुपमा राखने चलन छ । प्रसादलाई बाँसले तयार गरिएको परम्परागत् ढाकीमा राखिन्छ । र पूजन सामग्रिलाई अर्घ दिइने तलाउ र नदी सरसज्जा र लिपपोत गरेर पवित्र पारिएको घाटमा राखिन्छ ।
षष्ठीको साँझ व्रतालु महिलाले घर नजिकको पोखरी, तलाउ, नदीमा गएर सूर्यको अर्घ दिएपछि छठको तेस्रो दिन सम्पन्न हुन्छ । अचेल नेपालको मिथिला क्षेत्रमा छैठ पर्व मनाउने परिवारजनले नदी, पोखरीको डिलमा जाग्राम बसेर रात बिताउने परम्पराले गर्दा छैठको रौनक झन थपिएको छ । कथित तल्लो समुदायदेखि माथिल्लो समुदायका व्रतालुहरु एउटै घाटमा सँगै पर्व मनाउने परम्पराले समेत छैठ पर्वलाई एकता र सद्भावको पर्वको रुपमा ब्याख्या गरिएको छ । झन् पछिल्लो समयमा मिथिला क्षेत्रमा मात्रै नभई पहाडी जिल्लाहरुमा समेत पर्वको ब्यापकताले एकता र सद्भावको पर्वको रुपमा छैठलाई पुष्टी गरेको छ । पाँच वर्ष अघि र अहिलेको छैठमा समेत परिवर्तन आएको बताउनेको संख्या अत्याधिक छ ।
घाटमै राती बस्ने ब्यवस्था समेत भईदिदा रातीको मनमोहक दृश्य मनमोहक देखिन्छ । सप्तमीको बिहानैपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छैठको समापन हुन्छ । सप्तमीको दिनलाई पावर्ण समेत भनिन्छ । यद्दपी सप्तमीको बिहान सूर्यलाई अर्घ दिएपनि छैठ पर्वबारेको कथा व्रतालु महिलाले परिवारजन तथा डिलमा भेला भएका सर्वसधारणलाई सुनाउने परम्परा समेत रहेको छ । यसरी छैठ पर्व सम्पन्न हुने गरेको छ ।
छठ पर्व गर्दा निसन्तान हुनेले सन्तान पाउने, रोगबाट ग्रसित भएकाहरुको रोग निको हुने तथा कुष्ठ तथा चर्म रोग समेत निको हुने विश्वास अझै कायम रहेको छ । सूर्यलाई जिवनशक्तिको स्रोतको रुपमा मानिन्छ । मिथिलाको छठ व्रत पनि यसै जिवनशक्तिको स्रोत, सूर्यको उपासना गर्ने एउटा मोहक आध्यात्मिक पद्धती हो । मिथिलाञ्चलको महान पर्व छ्रैठ आर्यहरुको सूर्योपासना परम्पराको एउटा अङ हो ।

तस्बिरहरू: इश्वरचन्द्र झा/धर्मेन्द् झा/माला कर्ण/अजयकुमार साह

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?