logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

अन्तर्राष्ट्रिय |


अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा


हेल्डस्बर्ग, कात्तिक ११ गते ।
अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको, बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्नेलगायतका कारणले सङ्कटकाल घोषणा गरिएको उनीहरुले बताएका छन् । सान फ्रान्सिस्को क्षेत्रमा लागेको “किनकेड फायर” नाम दिइएको यस आगलागीका कारण १२ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको छ । नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने खतरा देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो ।

आगलागीका कारण अहिलेसम्म ५० हजारभन्दा बढी विस्थापित भएको र सयौँ संरचनाहरुमा क्षति पु-याएको अधिकारीहरुले जनाएका छन् । ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा पनि बन्द गर्न लागिएको छ । उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो ।

आगो निभाउन एक हजारभन्दा बढी अग्निनियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?