logo
२०८० चैत्र १६ शुक्रवार



दोलखामा सम्पन्न भयो खड्ग जात्रा (फोटो फिचर)

समाज |


दोलखामा सम्पन्न भयो खड्ग जात्रा (फोटो फिचर)


कैलश लामा
चरिकोट, असोज २२ गते । प्राचीन नगरी दोलखामा देवता र असुरको युद्धसँग सम्बन्धित परम्परागत रुपमा मनाउने गरिएको खड्ग जात्रा बुधबार निकालिएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर–२ दोलखामा बडा दशैँको टीकाको भोलिपल्ट अर्थात बुधबार दिनभर यो जात्रा निकालिएको हो ।
मल्लकालदेखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा मनाइने परम्परा रहेको पुजारी एवम् जात्रा संचालक यज्ञ कुमार प्रधानले बताउनुभयो ।
दोलखाको राजकुलेश्वर मन्दिरबाट सुरु हुने खड्ग जात्रा नाच दोलखा नगरको चक्रमण्डप नकर्छेँ टोलको बौद्ध चैते, कोर्छेँ टोल, पिंगल टोलको बालकुमारी मन्दिर हुँदै भीमेश्वर डोबर डबलीमा पु¥याइने र त्यहाँ चार दानवको प्रतीक स्वरुप चार वटा राँगालाई सबैले खड्ग प्रहार गरी मार्ने चलन रहेको छ ।
किंवदन्ति अनुसार दानवहलरूे देवदेवी तथा मनुष्यलाई बिभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि युद्ध सुरु गरेका थिए।
युद्ध सुरु हुनुअघि देवदेवी पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि कालिञ्चोक भगवती भएको ठाँउमा गए र त्यहाँबाट आश्वासन प्राप्त गरेर फर्की दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरे ।
देवदेवीले राइतीमा यज्ञ गरेको खवर पाएपछि दानवहरु यज्ञ ध्वस्त गर्न त्यस ठाँउमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले । दानवहरूको यस्तो कार्यले देवदेवीहरु क्रुद्ध भए र दानव तथा देव देवीको बिचमा भीषण युद्ध भयो ।
युद्धमा दानवहरु पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे ।
यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा नगरीमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीय संस्कृतिकर्मी तीर्थनारायण जोशी बताउँनुहन्छ ।
उहाँका अनुसार खड्ग जात्रा मनाउन दोलखाको राजकुलेश्वरदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर वलि राजाको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरुद्वारा राँगाको बलि दिने प्रचलन समेत रहेको छ ।
युद्धका लागि कालिञ्चोक भगवतीसँग सहयोग माग्न देवदेवीहरू जनैपूर्णिमाको अघिल्लो दिन जाने र जनै पूर्णिमाको दिन त्यहीँबाट निसाना लिएर आई युद्ध सुरु गर्ने परम्परा रहेको छ ।
कालरात्रिको दिन भीमेश्वर मन्दिरमा चारवटा राँगाको बलि समेत दिने प्रचलन रहेको छ । भीमेश्वरमा बलि दिने चारवटा राँगामध्ये एउटा राँगाको मासु ताछी घाँटी नछिनाई भीमेश्वरको मन्दिर भन्दा केही तल रहेको त्रिपुरा सुन्दरी मन्दिरमा लाने प्रचलन समेत रहेको छ । त्यसरी लानुको अर्थ महिषासुरलाई यातना दिइएकोे भन्ने विश्वार गरिन्छ ।
भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालीको मन्दिर हुँदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको छ ।
राजा, राजाको सहयोगी, भगवती, सेनापती, अप्सरा, पुजारी, पुजारीको सहयोगी, गम्भीर खड्ग, म्यासमुचा खलक, बली बोक्ने र बटुक भैरव सहित १९ जनाको टोली त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिईएको राँगाको टाउको राखी राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ ।
खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पूजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?