थारूका गुरुवा

समाज |


2019-10-07-2372


लक्की चौधरी

दशैँ आयो, थारू गाउँघरमा हर्षोल्लासमा नाचगानसँगै गुरुवा काँपेको र केही आश्चर्यजनक दृश्य देखिने छन् । दशैँमा गुरुवाले अखारी खेल्ने छन् र मारिएको कुखुरा गुरुवाद्वारा जिउँदो बनाइने छ । विश्वासै लाग्न गाह्रो तर यस्तै हुन्छ । वैज्ञानिक विश्लेषणबाट यसको अन्य तथ्य बाहिर आउन सक्ला तर गुरुवाले कुखुराको घाँटी निमोठेर मारेको कुखुरा एकछिनपछि जिउँदो भएर त्यहाँबाट भागेको यस पङ्क्तिकारले पटकपटक देखेको छ ।
गुरुवाले पहिले कुखुरा मार्छन् । त्यसपछि घण्टौँ लगाएर गुरुवाले उफ्री उफ्री मादलको तालमा नाच्ने र कुखुरालाई जिउँदो गराएर मन्त्रको परीक्षण गर्छन् । यसो गर्नु भनेको मन्त्रको शक्ति सञ्चारित छ कि छैन परीक्षण गर्नु हो । “मरेको कुखुरा आफैँ उठेर दौडेर भागेमा मन्त्रको शक्ति छ, उठेन भने मन्त्र कमजोर भयो” आकलन गुरुवाले गर्छ । हरेक दशैँमा अखारी खेल्ने काम हुन्छ । यसो गर्दा धर्ती जागा हुने र अन्नबाली सप्रिने तथा उत्पादन बढ्ने विश्वास धनगढी–४, उत्तरबेहडीका गुरुवा दलबहादुर चौधरीको छ ।
थारू समुदायमा गुरुवा भनेको गाउँका सदस्यको जन्मदेखि मृत्यु संस्कारसम्म मुख्य भूमिका निर्वाह गर्ने विश्वासिलो अग्रजका रूपमा रहन्छ । गुरुवा (गुर्वा) अर्थात् गुरु+बुवा= गुरुवा । थारू संस्कृतिविद् अशोक थारूका अनुसार थारू धार्मिक लोकसाहित्यमा निहित रहस्यलाई राम्रोसँग पर्गेल्न सक्ने क्षमता भएको व्यक्ति नै गुरुवा हुन् ।
गाउँको संरक्षकका रूपमा थारूले गुरुवालाई हेर्ने गरेको छ । थारूको धर्म, संस्कृति, संस्कार र आपसी विश्वासलाई यस प्रणालीले बचाइ राखेको छ ।
गुरुवाको मुख्य काम धार्मिक क्रियाकलापलाई हेरचाह गर्नु हो । त्यसैले समाजमा गुरुवाको सम्मान र शक्ति हुने गर्छ । गुरुवा प्रथा अनुभवसिद्ध आत्मिक, नैतिक, दिव्य ज्ञानको प्रयोग गर्दै बिरामीको उपचार गर्ने प्रक्रिया पनि हो । गुरुवा ईश्वरले दिएको शक्ति, आध्यात्मिक मुक्तिको चाहना र आवश्यकताबाट उत्पत्ति भएको मानिन्छ । थारू सदस्यहरू गुरुवाले भनेअनुसार सामूहिक व्यवहारमा चल्ने गर्छन् ।
नेपाल एकीकरण हुनुअघि थारू समाजमा गुरुवाको भूमिका प्रगन्नाको रूपमा हुने गथ्र्यो । सरकारद्वारा प्रशासनिक भूमिका पनि उसलाई दिइएको थियो । स्थानीय तहमा कर (राजस्व) सङ्कलनको जिम्मा पनि गुरुवालाई थियो । विगतमा पश्चिम तराईमा औलोको महामारीका कारण अरू समुदायको खासै बसोबास थिएन । त्यसैले सरकारी प्रशासनले गाउँको अगुवाको हैसियतले गुरुवालाई नै राजस्व सङ्कलनको जिम्मा दिन्थ्यो ।
थारू समुदायले गाउँ सञ्चालन गर्न विभिन्न प्रणालीको विकास गरेका हुन्छन् । त्यसमध्ये गुरुवा प्रणाली, बरघर प्रणाली र कुलोपानी प्रणाली छन् ।
आफ्नो आत्मरक्षादेखि गाउँमा महामारी फैलिएमा, गाउँका सदस्य बिरामी परेमा, टाउको दुखेमा, केटाकेटी धेरै रोएमा, महिला बाँझो भएमा, सर्प–बिच्छीले टोकेमा निवारणका लागि गुरुवाद्वारा आफूले जानेको आध्यात्मिक ज्ञान, मन्तर र जडीबुटीको प्रयोग गरिन्छ । अहिले आधुनिक समाज निर्माणसँगै गाउँघरमा पनि चिकित्सा सेवा पुगेपछि गुरुवा वैद्यको पेशा सङ्कटमा पर्दै गएको छ ।

कसरी बन्छ गुरुवा ?
गुरुवा बन्ने उचित महिना चैत र असोज हो । यद्यपि जुनसुकै बेला पनि गुरुवा बन्न छुट हुन्छ । गुरुवा बन्नलाई पहिले व्यक्तिमा इच्छाशक्ति चाहिन्छ । जोकोही गुरुवा बन्न सक्दैन । गुरुवा बन्न चाहने व्यक्तिले नुहाइधुवाइ गरी सफा भएर घरका देवतासँग आफू गुरुवा बन्ने चाहना राखेर पुकार गर्छ । थारूले आफ्नो देवतालाई ‘देउता’ या ‘भुत्वा’ भन्छन् । देवतालाई बोका, भेडा, सुँगुर, मुर्गा (मुर्घा) पनि बलि चढाउँछन् । मुर्गा बलि चढाउँदा कालो या रातो रङको हुनुपर्छ । थारू देवताले सो दुई रङको भाले (मुर्गा)को माग गर्छन् भनिन्छ ।
बलि चढाएमा देवता खुशी भएर गुरुवा बनाइदिने विश्वास गरिन्छ । तर सबैको सपना पूरा हुँदैन । गुरुवा बन्न चाहने व्यक्तिको सूची बनाएर बड्का गुरुवा (देशबन्ध्या गुरुवा)ले उनीहरू गुरुवा बन्नलायक छन् कि छैनन्, परीक्षण गर्छन् । अर्थात् उनीहरूलाई आफ्नो तन्त्रमन्त्रको सहायताले सामूहिक रूपमा गुरुवा चढाउँछन् । त्यो बेला मादल वा ढक पनि बजाइन्छ । मादलको तालमा ‘सु.. सु..’ भन्दै उफ्री उफ्री नाच्न लगाइन्छ । थारूमा यसलाई ‘अखरिया खेल्ने’ भनिन्छ ।
मन्त्रले काम गरेमा गुरुवा बन्ने व्यक्तिको शरीर काँप्न थाल्छ । शरीर काँपेपछि त्यसको शरीरमा देवता सवार भयो । अर्थात् ऊ गुरुवा बन्ने लायकको भयो भन्ने बड्का गुरुवाले अनुमान गर्छ । जसको शरीर काँप्दैन, जति मन्त्र र अक्षता छर्के पनि उसको शरीर काँपेन भने ऊ गुरुवा बन्ने लायक मानिँदैन ।
गुरुवाका रूपमा छनोटमा परेका व्यक्तिले तन्त्रमन्त्र सिक्नलाई आफूभन्दा जान्ने बुझ्ने गुरुवासँग मन्त्र सिक्नुपर्छ । यसरी गुरुले चेलालाई मन्त्र सिकाउँछ । मन्त्रमा निपूण हुन ६ महिनादेखि एक वर्षसम्म समय लाग्ने गरेको बड्का गुरुवा रामप्रसाद चौधरी बताउँछन् ।
कैलालीको हसुलिया–२, लक्कड गाउँका देशबन्ध्या (बड्का गुरुवा) रामप्रसादका अनुसार मन्त्र सिकाएबापत चेलाले गुरुलाई विभिन्न उपहार दिने गर्छन् । गुरुबाट बढीभन्दा बढी तन्त्रमन्त्रको ज्ञान सिक्नलाई चेलाले गुरुलाई खुशी बनाउनुपर्छ । त्यसो नगरेमा गुरुले चेलालाई सबै विद्याको ज्ञान नदिन सक्छ । बड्का गुरुवा रामप्रसाद धेरै अगाडि २० आना पैसामा गुरुवा बनेका थिए ।
तर अहिले गुरुवा बन्नलाई गुरुलाई एकजोडी धोती, अङ्गौछा, चप्पल, कट्टु, सर्ट, प्यान्ट, रुमाल, टोपीसहित नगद २० हजार रुपियाँसम्म खर्च गर्नुपर्छ ।

गुरुवाको महत्त्व
थारू समाजमा गुरुवाको स्थान सर्वोच्च हुन्छ । गाउँ संरक्षकको भूमिकामा रहने हुनाले धार्मिक कामको सबै जिम्मामा गुरुवा हुन्छन् । थारू गुरुवाको मन्तर (मन्त्र)मा शिव, पार्वती, ब्रह्मा, विष्णु, भगवती, सरस्वती, पाँच पाण्डव, द्रौपदीको समेत प्रसङ्ग हुन्छ । त्यसैले गुरुवाको मन्त्रमा दैवीशक्ति हुन्छ भनिन्छ ।
गाउँका सदस्य बिरामी परेमा, घाउ खटिरा आएमा तथा टाउको र पेट दुखेमा, शरीरका अन्य अङ्ग दुखेमा, हातखुट्टा भाँचिएमा गुरुवाले मन्त्र र जडीबुटीको सहयोगले उपचार गर्छन् । सर्प, बिच्छी, अन्य कीरा वा जङ्गली जनावरले टोकेमा त्यसको उपचार पनि गुरुवाले मन्त्रकै सहायता लिन्छन् । हुँदाहुँदा गर्भवती महिलाले बच्चा जन्माउन नसक्दा समेत गुरुवाले मन्त्रको सहायताले सुरक्षित बच्चा जन्माउने भूमिका खेलेको पनि देखिएको छ ।
गुरुवाले गाउँका सदस्यलाई जस्तोसुकै सङ्कट पर्दा पनि उपचार गर्ने सामथ्र्य राख्ने विश्वास थारू समुदायमा छ । पूजाआजादेखि चिकित्सकको भूमिकामा पनि गुरुवाले नै काम गर्छन् ।
थारू गाउँमा कसैको विवाह हुँदा पनि दुलहा–दुलहीको संरक्षक गुरुवा नै हुन्छ । जन्ती हिँड्नुअघि दुलहा–दुलहीले लगाउने कपडा, बस्ने डोलालाई गुरुवाले आफ्नो मन्त्रले बाँध्ने गर्छ । कसैको नजर नलागोस् भनी मन्त्रले चामल (अक्षता) साजेर त्यसलाई पवित्र पार्छ । गाउँका देवतालाई सञ्चालन गर्ने (चलाउने) मुख्य पात्रमा गुरुवा रहन्छ । देवतालाई पूजा गर्ने, विधि विधान बनाउने सबै काम उसको जिम्मा हुन्छ । थारू गाउँमा महिनैपिच्छे गाउँको देउताको पूजा हुन्छ । विभिन्न खालका बलि दिएर देउता खुशी पार्ने गरिन्छ । यसरी पूजा गर्दा घरमै बनाएको रक्सी (दारु) अनिवार्य हुन्छ ।

थारूका देवीदेउता
थारूको देवीदेवता गुर्वावा (महादेव), लटौ महादेव, मैया (पार्वती), सौरा (गणेश), चतुर्वाहु (ब्रह्मा), डहरचण्डी (काली), खेख्री, मुराहा (कृष्ण), पाँच पाण्डव, द्रोपडी, लागुबासु (नाग), धमरज्वा (धर्मराज देवता), चैतिक पठ्या, भेंर्वा, रिख्या (नारद), जगन्नठ्या, चुरिन्या, दनुवा, बाघेश्वरी, पूर्वी भवानी, कोटिया, बडेल्वा, वनस्पति आदि हुन् ।
देवीदेवतालाई माटाका घोडाको रूपमा, फलामको त्रिशूल, काठ र माटाका थुम्काका रूपमा प्रतिविम्बित गरिन्छ । यी देवता देवथान, मर्वा, देहुरार आदि ठाउँमा आसीन हुन्छन् ।

भ्रम कि वास्तविकता
आधुनिक समाजले गुरुवाका मन्त्रलाई भ्रम वा अन्धविश्वासको रूपमा हेर्छ । परम्परागत रूपमा उपचार विधि अपनाउने गुरुवाका मन्त्रको भूमिकालाई आधुनिक औषधि र चिकित्सा विकासले ओझेल पारेको सत्य हो । समाज शिक्षित हुँदै गएपछि गुरुवाको मन्त्रप्रति त्यति आकर्षण देखिँदैन । तर गुरुवाको भूमिकामा रहेकाहरूले तन्त्रमन्त्र भ्रम नभई वास्तविकता भएको दाबी गर्छन् ।
परापूर्वकालदेखि तन्त्रमन्त्रको शक्ति रहेको र चिकित्सा क्षेत्रको विकास नभएका बेला उपचारको एउटै विकल्प मन्त्र र जडीबुटी भएकाले अहिले त्यसलाई कमजोर आँक्न नहुने तर्क गुरुवाहरूको छ ।
बड्का गुरुवा रामप्रसाद समाज विकसित भएपछि स्वाभाविक रूपले गुरुवाको भूमिका कमजोर देखिए पनि मन्त्रको भूमिका कमजोर नभएको दाबी गर्छन्, “गुरुवाको मन्त्र त्यही हो, शक्ति पनि यथावत् नै छ, पहिलेको तुलनामा बुझाइमा कमी आएको सही हो ।”
विषालु सर्पले डसेमा गुरुवाले मन्त्र प्रयोग गरी घाउ भएको ठाउँबाट चुसेर विष निकाल्ने गर्छन् । त्यसरी गाउँका कैयौँ मानिसलाई ठीक गरेको उदाहरण दिन्छन् गुरुवाहरू । गोमन, करेटजस्ता विषालु सर्पले टोकेमा पनि गाउँमा उपचार गर्ने गुरुवाले नै हो । कैलालीमा करिब दुई सय गुरुवा वर्षायाममा ‘सर्पदंश’ का बिरामी उपचार गर्न सक्रिय हुने गरेको जानकारी दिन्छन् रामप्रसाद । यसवर्ष मात्रै करिब दुई सय जनाको सफल उपचार गरिएको उनको दाबी छ ।

 

लैङ्गिक विभेद
थारू गाउँमा पुरुष–महिलाको स्थान बराबर मानिन्छ । अझ रानाथारू समुदाय महिलाप्रधान हुन्छ । थारू समुदायले महिला–पुरुषबीच कुनै विभेद गर्दैन । घर व्यवहारमा पनि महिला–पुरुषको समान हैसियत हुन्छ । तर गुरुवा बन्ने प्रक्रियामा भने पुरुष हाबी हुन्छन् ।
थारू समाजले गुरुवाका रूपमा पुरुषलाई मात्र स्वीकार्छ । गाउँघरमा कोही दुःख, बिमार परेमा राति पनि उठेर उपचारमा लाग्नुपर्छ । गाउँघरमा बिजुली बत्ती हुँदैन । अँध्यारो, गर्मी–जाडो जुनसुकै बेला पनि उपचारमा हिँड्नुपर्छ । अँध्यारोमा एक्लै हिँड्दा बलात्कारको शिकार हुन सक्ने देखेर प्रायः महिलालाई गुरुवा बनाइँदैन । तर मन्त्रको ज्ञान भने महिलाले राख्न सक्छन् । ज्ञानसम्म राख्छन् तर उपचार वा सेवामा उनीहरूको भूमिका गौण रहन्छ ।
सुँडेनी र वैद्यको भूमिकामा रहेर महिलाले काम भने गर्छन् । पुरुषले मन्त्र सिकेमा गुरुवा हुने तर महिलाले सिकेमा उनीहरू ‘बोक्सी’ को आरोप खेप्छन् ।

रूपान्तरण आवश्यक
थारू गाउँमा पूजापाठ गर्दा या चाडपर्वमा जाँडरक्सीको प्रयोग अधिक हुन्छ । देवताले पनि रक्सी स्वीकार गर्छन् भनेर गुरुवाले हरेक पूजामा देवतालाई रक्सी चढाउँछन् । खेतबारीमा उब्जेको फसल देवतालाई चढाएर मात्र घरका सदस्यले ग्रहण गर्छन् । त्यसैगरी नयाँ अन्नबाट बनाइएको रक्सीको पहिलो थोपा देवतालाई चढाएर (चखाएर) मात्र घरका सदस्यले आफू खान्छन् ।
देवताले पनि रक्सी स्वीकार्ने विषयलाई भ्रमका रूपमा हेर्ने गरिएको छ । गुरुवाले आफैँ रक्सी खानलाई देवतालाई चढाउने गरेको युवापुस्ताको बुझाइ छ । थारू गाउँमा देवथान (मर्वा) भन्ने गाउँघरका देवता बस्ने साझा स्थान बनाइएको हुन्छ । जहाँ वार्षिक ठूलो पूजा लगाइन्छ । पूजामा बड्का गुरुवा, केसौका (सानो गुरुवा) र अन्य फुटकर गुरुवा सक्रिय रहन्छन् ।
तर अहिलेका युवा गुरुवाको तन्त्रमन्त्रमा धेरै विश्वास गर्दैनन् । गुरुवाले मन्त्रको पुस्तान्तरण गर्न नसक्दा साख जोगाउन हम्मे परेको छ । अब देवतालाई जाँडरक्सीले पूजा गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ । त्यसको ठाउँमा मिठाई, ल्वाङ, धूप, फूलले पूजा गर्ने परिपाटीको विकास अबको आवश्यकता हो । केही गाउँलेले परिवर्तन आत्मसात् गरेको पनि देखिन्छ ।
त्यस्तै गुरुवा प्रथाले थारू गाउँमा गहिरो विश्वास जडा गाडेर बसेको छ । चिकित्सा क्षेत्रको विकास जति भए पनि त्यसबाट थारूको विश्वास चाँडै हटिहाल्ने देखिँदैन । गुरुवा प्रणाली थारूको पहिचानसँग जोडिएकाले यसलाई चटक्कै छाड्न समाज तयार देखिँदैन । बरु पूजा गर्ने शैलीमा परिवर्तनको खाँचो छ ।
 

युवामञ्च असोज २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?