तराई–मधेसमा दशैँ : साहस र कलाको प्रदर्शन ‘झिझिया नृत्य’

समाज |


2019-10-05-2281


ईश्वरचन्द्र झा

काठमाडौँ, असोज १८ गते । मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकपन, पहिचान र इतिहास छ । गाग्रीमाथि आगोको डल्ला लिएर गरिने ‘झिझिया नृत्य’ गर्नु आफैमा साहस र कलाको अलौकिक प्रदर्शन हो ।
समाज रूपान्तरणका क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँ घरमा मात्रै नभई सहरमा समेत प्रचलनमा छ । कानुनले बोक्सी प्रकरणलाई असत्य भन्दै त्यसमा मुछिएकाहरूलाई सजाय निर्धारण गरे पनि न त बोक्सीको प्रसङ्ग नै हटेको छ न त्यस्ता घटनाहरूमा कमी नै आएको छ । तर समाजमा कथित बोक्सीको उपस्थिति रहेको भन्दै सातौँ आठौँ शताब्दीतिर पुर्खाहरूले बोक्सीको विरुद्धमा प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझियाको जग बसालेको हो । गाउँ घरमा ती नृत्यले निरन्तरता पाइरहँदा सहरमा यसको आकर्षण बढिरहेको छ ।
मध्य तथा पूर्वी मधेसका शक्तिपीठमा पूजा आराधनाका क्रममा साँझ मनोरञ्जनका लागि झिझिया नृत्य प्रदर्शन गरिन्छ । मुख्यतः जनकपुरको राजदेवी मन्दिर वा महोत्तरीको सोनामाई मन्दिर, सबैतिर झिझिया नृत्य गरिन्छ । टेलिभिजनहरूमा लोक संस्कृति जगेर्ना गर्ने कार्यक्रमहरूमा देशैभरिका लोक गीतले स्थान पाउँदा झिझिया नृत्य र गीतको उत्थानमा सहयोग पुगेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसमेत रहनुभएका साहित्यकार रामभरोस कापडी भन्नुहुन्छ, “सातौँ÷आठौँ शताब्दीमा जग बसेको झिझिया नृत्य २१औँ शताब्दीमा पनि निरन्तरता पाउनु संस्कृति जगेर्नाको आधारमा महìवपूर्ण हुनजान्छ ।” कथित बोक्सीका मुद्दाहरू तराईतिर दशैँको समयमा विगतकादेखि नै अझै बढी सुनिएका छन् । तन्त्र अर्थात् शक्ति प्राप्त गर्ने समय दशैँ भएको विश्वास गरिन्छ । त्यस्ता बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले विगतमा झिझिया नृत्य मात्र गाउँमा हुने प्रचलन छ । तर शिक्षामा पहुँचसँगै जनचेतनाको स्तर तुलनात्मकरूपमा बढी हुने र भद्रभलाद्मीको उपस्थिति रहने सहरमा पनि कथित बोक्सी प्रकरणविरुद्ध अपनाइने उपाय अङ्गीकार गर्दै झिझिया नृत्य सुरु गरिएको छ ।
जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीका अनुसार, लोप हुन लागेको झिझिया नृत्यलाई जीवन्त राख्न दशैँको समयमा सङ्घ संस्थाले कार्यक्रम विशेषको आयोजना गरी झिझिया कलाको प्रदर्शन गर्छन् । दर्शकहरूको भीड झिझिया नृत्यमा रमाउँछन् । विगतमा जादु, टुनाबाट बच्न गरिने नृत्य यतिबेला भने मनोरञ्जनमा सीमित भएको छ ।
वास्तवमा नृत्य प्रदर्शन गर्ने कला पनि हेर्नयोग्य हुन्छ । सात आठ वर्षका बालबालिकादेखि लिएर वयस्क र अधबैँसे पनि यस नृत्यमा सहभागी हुने गर्छन् । मिथिलाको लोकनृत्यलाई जीवन्त राख्न मात्रै झिझिया नृत्यको आयोजना गरिँदै आएको छ । नृत्यमा प्रायः महिलाको भूमिका प्रधान रहन्छ ।
यसरी नृत्य गर्दा बोक्सीहरूको शक्ति क्षीण हुन्छ भन्ने जनविश्वास छ । नृत्यको क्रममा गाइने गीतका पङ्क्तिमा पनि बोक्सीलाई गाली गरिएको हुन्छ । त्यसो त झिझियालाई निरन्तरता दिनु अन्धविश्वासबाहेक अरू केही मान्न नसकिने तर्क गर्नैहरू पनि छन् । तर झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रूपान्तरित समाजमा परिष्कृत गर्दै अगाडि बढ्दा झिझिया नृत्य अझै लोकप्रिय हुने साहित्यकार कापडी बताउनुहुन्छ ।
कापडीका अनुसार, छैठौँ शताब्दीदेखि एघारौँ शताब्दीसम्ममा जादु, टुनाबाट बालबालिकाको सुरक्षाका लागि बचाउन तान्त्रिक विधिले गीत गाएर मनाउन थालिएको नृत्यसहितको लोक संस्कृति झिझिया हो । लोक नृत्यमार्फत झिझिया गायन गरी देवीकै आराधना गरिने र मन्त्रोच्चारण गरी विजया दशमीमा समेत देवीकै आराधना गरिने हुनाले दुवैबीच सम्बन्ध रहेको अनुमान गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?