logo
२०८१ बैशाख ६ बिहीवार



पिठ्यूँमै सामग्री बोकेर गुजारा

समाज |




जाजरकोट, भदौ ३१ गते । बारेकोट गाउँपालिका–४ का जिरीका सर्वराज रावत सिँचाइ योजना निर्माण गर्न प्लाष्टिक पाइप पिठ्यूँमा बोकेर लग्न थालेको तीन दिन भयो । योजनाको निर्माणस्थलसम्म यातायातका साधन नपुग्दा सामग्री ढुवानीको समस्याले गर्दा पाइप पिठ्यूँमा बोकेर लगेको उहाँको भनाइ छ ।

नलगाड नगरपालिकाको कालीमटीदेखि बारेकोटसम्म सामग्री बोकेर लग्न मात्र दुई दिन लाग्ने गर्दछ । स्थानीयवासी दैनिक पिठ्यूँ र घोडा, खच्चडको भरमा सामग्री ढुवानी गर्दै आएका छन् । पिठ्यूँमा भारी बोकेर सामग्री नलिएकामा दैनिक छाक टार्न समस्याका साथै विकास निर्माणका कामसमेत प्रभावित हुने गरेका छन् । भारी बोक्दाबोक्दा टाउकोमा नाम्लोको खत नै परेको बारेकोट–४ का कालीबहादुर बोहोराले बताउनुभयो ।

चैतमा यहाँका बासिन्दा जडीबुटीको मौसम छोपेर हिमालतिर लाग्ने गर्दछन् । सरकारी निकायको उपस्थितिसमेत अत्यधिक कम हुने गरेको छ । फोन सेवासमेत उपलब्ध नभएको माथिल्लो बारेकोटका बासिन्दा बिरामी भएमा कयौँले उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै न्यून रहेको यहाँ आयातित खाद्यान्नले मात्र दैनिक परिवार पाल्नुपरेको रावत जिरीका शशि सिंहले बताउनुभयो । मकै, सिमी उत्पादन हुने बारेकोटमा त्यो पनि लगानीअनुसारको उत्पादन नहुँदा स्थानीयवासी हैरान छन् ।

जाजरकोट–डोल्पा सडकखण्डको ट्र्याक खुला भए पनि केही सहज महसुस गरेका बारेकोटका बासिनदा अहिले कालीमटीबाट सामग्री पिठ्यूँ र घोडा, खच्चडमा ढुवानी गर्दै आएका छन् । सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने भएकाले दैनिक उपभोग्य सामग्री पाउन यहाँका बासिन्दाले चर्को मूल्य तिर्नुपर्ने हुन्छ । निम्नवर्गीयले आफँै बोेकेर खाद्यान्न ढुवानी गर्दछन् भने हुनेखानोले घोडा, खच्चड र पिठ्यूँमा बोकेर लग्ने गरेका छन् ।

सडक यातायातले नछोएको बारेकोटमा साना–साना घोडेटो बाटोबाट यात्रा गर्नुपर्ने हुन्छ । जडीबुटीको भण्डारणका साथै वन्यजन्तुको उर्वरभूमि गाउँपालिका, सुरक्षा निकाय र स्थानीयवासीको सक्रियता कम हुने भएकाले चोरी निकासीसमेत उच्च छ । छरिएको बस्ती रहेकाले एक बस्तीबाट अर्को बस्ती पुग्न धेरै समय खर्चनुपर्ने बाध्यता छ । विकास निर्माणका काम गर्दा महङ्गो शुल्क खर्चिनु पर्दा तोकिएको मापदण्डमा विकास निर्माणका काम गर्न चुनौती हुँदै आएको छ ।

वर्षौँपछि विकास निर्माणको व्यापक अनुगमन गरेको जानकारी दिँदै प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले भन्नुभयो, “पैसा छरेर मात्र विकास नहुने भएकाले खास के रहेछ भनी म बारेकोटलगायत अन्य ठाउँमा अनुगमन गरी सकाएँ, हामी विकासमा अनुशासित हुनुपर्ने छ ।” दुई स्थानीय तहका स्थानीयवासी आफ्नो तौलभन्दा बढी भारी बोक्ने र घोडा, खच्चडमा सामग्री ढुवानी गरेर समग्री लग्दै विकासका काम गर्ने गरेको बताउँदै आएका छन् । जिल्लाका सबै ठाउँमा सडकको पहुँच भए सो समस्या समाधान हुने सिंहको विश्वास छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?