logo
२०८० चैत्र १६ शुक्रवार



जयबागेश्वरीका दुई तला भत्काएपछि भेटियो नयाँ तीन गजुर

समाज |




काठमाडौँ, भदौ २३ गते । भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार थपलियाले राससलाई जानकारी दिनुभयो । मन्दिरभित्र यस्तो गजुर छ भन्ने कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायका अधिकारीलाई यसअघि थाहा थिएन ।

पहिले एक तले मन्दिर रहेकामा पछि दुई तला थपेर तीनतले प्यागोडाशैलीको मन्दिर निर्माण गरेको प्रारम्भिक अध्ययनपछि थाहा भएको विभागका पुरातत्व अधिकृत अमृता महर्जनले बताउनुभयो । मन्दिर लिच्छविकालमा बनेको विश्वास गरिए पनि मन्दिर परिसरमा शिलालेख भने फेला परेको छैन ।

नयाँ भेटिएका गजुरका विषयमा विभाग र कोषका उच्च अधिकारीले अध्ययन गर्नुहुने भएको छ । भित्रको गजुर बाहिरको भन्दा पुरानो छ । परेवाले गरेको विष्टाले छोपेको गजुरलाई सफा बनाइएको छ । पुनःनिर्माणका लागि मन्दिर भत्काउने क्रममा नयाँ गजुर भेटिएपछि काम बन्द गरेर मन्दिरलाई जस्ताले छोपेर राखिएको छ । कोष र विभागका विज्ञको समूहले नयाँ गजुरका बारेमा अध्ययन गरी निष्कर्ष निकालेपछि मन्दिर भत्काएर पुनःनिर्माण गरिने कोषले जनाएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?