logo
२०८१ बैशाख ८ शनिवार



देवताका लागि रोटी पाक्दै

समाज |


देवताका लागि रोटी पाक्दै



यलु जोशी

काठमाडौँ, भदौ २१ गते । वसन्तपुरस्थित कुमारीघरभित्र परम्परागत रोटी बनाउन व्यस्त हुनुहुन्थ्यो– खड्गबहादुर श्रेष्ठ । कुमारीको रथयात्रा सुरु हुने चार दिनअघि देवगणहरूलाई निमन्त्रणा गर्ने प्रचलनअनुसार यस्ता विशेष प्रकारका रोटी तयार गरिएको हो ।
श्रेष्ठसित अरू पनि थिए रोटी बनाउनेहरू । कोही चराको टाउको भएको रोटी बनाउँदै (चारवटा टाउको भएको चरा भट्टु), कोही घ्यूमा तार्न व्यस्त थिए भने कोही अष्टमङ्गल रोटी बनाइरहेका थिए ।
इन्द्रजात्रा (येयाँ पुन्ही)का अवसरमा जीवित देवी कुमारी र देवताद्वय गणेश तथा भैरवलाई निमन्त्रणा गर्न सबै रोटी (मरी)को भोग तयार पारिरहेको श्रेष्ठले जानकारी दिनुभयो । “देवीदेवताका लागि हो जसरी मन लाग्यो त्यही गरेर बनाउन मिल्दैन,” रोटीको व्याख्या गर्दै उहाँले भन्नुभयो, “यसका लागि सही तरिका र तौल पनि मिलाउनु पर्छ ।”
उपत्यकाको भोटाहिटीमा इन्द्रध्वजोत्थान लिङ्गो प्रवेशसँगै सबै इन्द्रजात्राको चहलपहल पनि सुरु भइसकेको छ । रथमा विराजमान हुनका लागि योसीँ (इन्द्रध्वजोत्थान) उठाउने दिनमा तलेजुको मूल पुजारीले साइत निकालेपछि कुमारी घरमा ३६५ रोटीको भोग चढाएर देवीदेवतालाई निमन्त्रणा दिइने प्रचलन रहेको जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिनुभयो ।
गणेश भोग, थु्मरीः, कल्याः मरी, कटहर आकृति, कछुवा, पञ्चपकवान्, लाखामरी, जो प्रसाद, खाजा, फिनी, न्यास मरी, पुरी बलबारा, ऐठा, मिठाईहरू लगायतका रोटीहरू बनाउनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै मखन युवा समूहका अध्यक्ष तथा पुजारी राजन महर्जनले जात्रा अवधिभर रथ तान्दा कुनै पनि विघ्नबाधा नहोस् भनेर सो पूजा गरिने बताउनुभयो ।
नेवार समुदायमा कुनै पनि शुभकार्य गर्नका लागि रोटी दिएर निमन्त्रणा दिने चलन भएकाले पनि देवीदेवतालाई मन पर्ने रोटी चढाएर ससम्मान आमन्त्रण गरिने महर्जनले प्रस्ट पार्नुभयो । कुल २९ थरीका रोटीलाई सानो, ठूलो गरी विभिन्न तौल अनुसारको बनाउनुपर्ने प्रस्ट पार्दै उहाँले थप्नुभयो, “१२, १०, ६, २ र एक पाउँका गरी ३६५ वटा रोटी बनाउनुपर्छ । रोटी पकाउन सुरु गरेदेखि आठ दिनसम्म कुमारीलाई आठवटा पुरी र चारवटा चराको टाउको भएको भट्टु दिनुपर्छ ।”
उहाँले सबै प्रकारको रोटी, मिठाई बनाउनका लागि आँटा सय किलोभन्दा बढी, मासको पीठो १० किलो, शुद्ध घ्यू ५० किलो, सख्खर ३० किलो, चिनी ५० किलो, मकै पाँच किलो, ताइचिन चामलको पीठो २० किलो चाहिने जानकारी दिनुभयो । पाँच–छ जनाको टोलीले बनाइरहेको रोटी यही २४ गते मङ्गलबार तलेजुको मूलपुजारीले साइत निकालेपछि देवगणलाई चढाइने अध्यक्ष शाक्यले बताउनुभयो ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?