logo
२०८१ बैशाख ८ शनिवार



आत्मनिर्भर बन्दै महिला

समाज |


आत्मनिर्भर बन्दै महिला



बलेवा,भदौ १७ गते ।  बागलुङ नगरपालिका–४ उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट रु १० हजार ऋण लिएर बाख्रा पाल्न थाल्नुभएको थियो । उहाँले बाख्रा पालेरै छोराछोरी पढाउनुभयो, घर खर्च चलाउनुभयो र केही तरकारी पनि फलाउनुभयो ।

कालिका महिला सहकारीमार्फत रु १० हजारको ऋण पत्याउन समस्या पर्ने जिसीले दशकमा लाखौँ ऋण पाउने क्षमता बनाउनुभएको छ । नियमित बाख्रापालन गरेर उहाँले कमाइ मात्र गर्नुभएन, सहकारीमा आबद्व सदस्य र सञ्चालकको मन पनि जित्नुभयो । समयमा ऋण तिर्ने कामले उहाँप्रति विश्वास बढायो । उहाँको मेहेनतमा श्रीमान् खड्गबहादुर जिसीले पनि साथ दिनुभयो ।

“साहुको घरमा पुगेर ऋण माग्न कठिन हुन्थ्यो, आफ्नै सहकारीमार्फत काम गर्न सजिलो भयो”, उहाँले भन्नुभयो, “दुई छोरी र एक छोरा हुर्काउन सहकारीको ऋणले साथ दियो ।” नियमित मेहेनत गरेकै कारण उहाँले ऋण चाहेजति पाउने भएपछि बाख्रापालन छाडेर भैँसीपालनको तयारी गर्नुभएको छ । उहाँले भैँसी पालेर बजारमा दूध बिक्री गर्ने योजना बनाएको बताउनुभयो । “अब भैँसी पाल्ने योजना बनाएकी छु”, उहाँले भन्नुभयो, “त्यसका लागि रु १० लाख बढी खर्च लाग्छ ।”

सहकारीबाट केही ऋण लिएर यसअघि कमाएको कमाइ त्यसमा मिसाउने उहाँको तयारी छ । सहकारीले पनि उहाँलाई विश्वास गरेकाले उद्यम गर्नका लागि साथ दिने अध्यक्ष पिङ्गला खड्काले बताउनुभयो । “हामीले ऋण मात्र दिएका छैनौँ, महिलालाई उद्यमी पनि बनाएका छौँ”, खड्काले भन्नुभयो, “अधिकारका लागि हामीले अभियान चलाएका छौँ ।” महिलाले आफ्नो अधिकार खोजी गर्दै उद्यमी पनि बनेका उहाँले बताउनुभयो । आर्थिक क्रान्तिको लागि सहकारीले महिलालाई साथ दिने उहाँको भनाइ छ ।

जिसीलाई सहकारीले उत्कृष्ट ऋणीका रुपमा पुरस्कारसमेत दिएको छ । जिसीजस्तै सहकारीकै साथ पाएर १०० बढी महिलाले व्यवसाय चलाएका छन् । झण्डै ५०० महिला सदस्य भएको सहकारीमा हरेकले कुनै न कुनै उद्यम गरिरहेका सञ्चालकले बताएका छन् । व्यावसायिक गाई, भैँसी, बाख्रापालनसहित तरकारी खेती, पसल सञ्चालन र अन्य व्यवसायका लागि पनि ऋण प्रवाह गर्दा शतप्रतिशत असुली भएको खड्काले बताउनुभयो ।

पछिल्लो समय उनीहरुले घरघरबाट विकृतिविरुद्धको अभियान पनि चलाउने गरेका छन् । छोराछोरीमा भित्रिएको विकृतिको समस्या समाधान गर्न उनीहरु लाग्न लागेका हुन् । छोराछोरीको दैनिकी बुझेर विकृतिमा लागेका भेटिए सुधार गर्ने योजनामा पनि उनीहरुले तयारी गरेको उहाँले बताउनुभयो । तत्कालीन महिला तथा बालबालिका कार्यालयले गठन गरेको समूहबाट खोलिएको सहकारीबाट महिलाको बोल्ने क्षमता पनि विकास भएको अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले बताउनुभयो ।

“अधिकार खोज्दै आत्मनिर्भर व्यवसाय खोज्न सजिलो होस् भनेर महिला विकास कार्यालयले बीउ पूँजी दिएर थालेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले सबैजना खुशी छन्, उद्यम गर्छन् र सचेत भएका छन् ।” घरपरिवारका सदस्यको आशमा बस्नुपर्ने महिलालाई आफ्नो कमाइ खाने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?