logo
२०८१ बैशाख ८ शनिवार



केशर महल निजी क्षेत्रमुक्त हुन्छ’

राष्ट्रिय |


केशर महल निजी क्षेत्रमुक्त हुन्छ’


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केशर महलको सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । केशर महल र यसले चर्चिएको जग्गाबारे गोरखापत्र दैनिकले माघ ११ गते पुस्तकालयलाई सीमित पार्न खोजिएको तथ्यसहितको समाचार प्रकाशित गरेको थियो । यसै सन्दर्भमा उहाँ आइतबार आकस्मिक अनुगमनका लागि केशरमहल जानुभएको थियो । त्यस अवसरमा उहाँले कर्मचारीहरूलाई सरकारी जग्गा कसैलाई पनि उपलब्ध गराउने मन्त्रालयको नीति नरहेको र अध्ययन प्रतिवेदनका नाममा त्यस्तो काम गर्न प्रस्ताव ल्याएमा सो तत्काल खारेज गरिने बताउनुभयो । शिक्षामन्त्री पौडेलले निर्देशन दिँदै भन्नुभयो, “कसैले यसखाले ‘डिल’ गर्न सक्छन्, तपाईंहरू सचेत रहनुहोला । यो सरकारी संरचनाभित्र निजी क्षेत्रलाई प्रतिबन्ध लगाइएको छ भनेर स्पष्ट भन्नुहोला । यहाँभित्र निजी क्षेत्रले प्रवेश पाउँदैन र प्रवेशमा प्रतिबन्ध छ भन्नेमा तपाईंहरू प्रष्ट हुनुहोला । ”

उहाँले केही दिनअघि केशरमहलबाट ऐतिहासिक सामग्री चोरी भएको प्रसङ्ग उल्लेख गर्दै सुरक्षाकर्मीको अभाव भएमा थप उपलब्ध गराउन सकिने तर त्यस्ता गतिविधि हुन नहुने बताउनुभयो । केशर पुस्तकालयका प्रमुख सुरेश यादवले निजी क्षेत्रलाई केशरमहलभित्र प्रवेश गराउने कुनै पनि किसिमका गतिविधि आफूहरूले गर्न नदिने मन्त्री पौडेललाई विश्वास दिलाउनुभयो ।

गत मङ्सिर २८ गते सकिनुपर्ने केशर महलको पुनर्निर्माण मुस्किलले ५० प्रतिशत मात्र सकिएको शिक्षा मन्त्रालयका कर्मचारीहरूले जानकारी दिए । शिक्षामन्त्री पौडेलले तत्कालै ठेकेदार कम्पनीका जिम्मेवार व्यक्तिलाई फोन गरेर पुनर्निर्माण कार्य छिटो सक्न निर्देशन दिनुभयो ।

“चिकित्सा शिक्षा आयोगलाई सानोठिमीमा अस्थायी रूपमा व्यवस्थापन गरेका छौँ । चिकित्सा शिक्षाका परीक्षाका प्रश्नपत्र लगायतका गोपनीय काम गर्न समस्या भइरहेको छ । त्यसैले केशर महलको पुनर्निर्माण कार्य सकिनासाथ आयोगलाई यहाँ सार्छाैं,” उहाँले ठेकेदार कम्पनीका जिम्मेवार व्यक्तिलाई टेलिफोनमा भन्नुभयो, “अरू तीनवटा निकायले पनि टहरामा अलपत्र किसिमले कार्यसम्पादन गर्नुपरेको छ । केशर पुस्तकालय पनि अस्तव्यस्त छ । तिनलाई पनि छिट्टै केशरमहलभित्र सार्नुपर्ने छ । त्यसैले फास्ट ट्र्याकबाट काम सक्नुस् । ”
जेडसीजीआई– खानी– जेभी निर्माण कम्पनीले ६० करोड रुपियाँको खर्चमा सो पुनर्निर्माण कार्य गरिरहेको छ । निर्माण कम्पनीबाट खटिनुभएका परियोजना व्यवस्थापक नरकान्त सापकोटाले आगामी तीन महिनाभित्र भवनको पश्चिमतर्फको भाग पूरा गर्ने र आगामी छ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हाल दैनिक ८० जना कामदार प्रयोग गरिएकामा अब एक सय जना कामदार प्रयोग गर्ने बताउनुभयो ।

शिक्षामन्त्री पौडेलले जमलमा निर्माण हुने भनिएको राष्ट्रिय पुस्तकालयको निर्माणस्थलको पनि अनुगमन गर्नुभयो । त्यसबखतमा उहाँले केशर र राष्ट्रिय पुस्तकालय विशिष्टीकृत हुनुपर्ने बताउँदै केशर पुस्तकालयलाई पुराना किताब अध्ययन गर्ने थलो तथा राष्ट्रिय पुस्तकालयलाई आधुनिक प्रविधिको पुस्तकालय बनाइने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?