logo
२०८० चैत्र १६ शुक्रवार



आलुमा लागेको डढुवा रोगले किसान चिन्तित

खुला |
प्रदेश |


आलुमा लागेको डढुवा रोगले किसान चिन्तित


मुरारी अधिकारी
धादिङ, माघ १४ गते । धादिङका किसानले लगाएको हिउँदे आलुखेतीमा पछौटे डढुवा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । धादिङको नीलकण्ठ नगरपालिका ७ का अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको छ ।

केहीदिन अघि परेको आकाशे पानी र त्यसपछिको तुसारोले अन्य कृषिवाली लाई फाईदा पुगे पनि आलुखेतीलाई भने नराम्रो असर पारेको छ । पानी र तुसारोका कारण आलुको पात र डाँठ नै सुक्न थालेको तल्लोबेसीका आलुखेती किसान पार्वती अधिकारीले बताउनुभयो ।

अधिकारीको मात्र होइन, अन्य किसानले लगाएको आलु पनि डढुवा रोगले सखापै पारेको छ । लामो समयदेखि आलुखेती गर्दै आउनुभएका रामप्रसाद अधिकारीले अहिलेको वर्षजस्तो डढुवा रोगको प्रकोप कहिल्यै भोग्न नपरेको बताउनुभयो । चिसो मौसमको सुरुवातीसँगै किसानले लगाएको आलुखेती नष्ट भएको छ । प्रायः सबै किसानले लगाएको आलुखेतीमा डढुवाको संक्रमण फैलिएको छ । माघको पहिलो सातादेखि नै डढुवा रोग लागेर सखाप भएपछि किसानले आलु मासेर अन्य खेती गर्न थालेका छन् ।

किसानमा प्राविधिक ज्ञानको कमीले पनि आलुखेतीमा रोग लाग्नेगरेको धादिङका वरिष्ठ बाली संरक्षण अधिकृत होमनाथ लम्सालले बताउनुभयो । वर्षात हुने, राम्रो घाम नलागेर शीत नओभाउने ठाउँमा रोग बढी फैलिएको पनि लम्सालकोे भनाइ छ । आलुखेती गर्दा प्राविधिकको सल्लाहअनुसार समयमै खेतीपातीको रेखदेख गर्न नसक्दा रोगले प्रभाव पार्ने लम्सालले बताउनुभयो । वातावरण नसु्रध्रिए अझै पात, काण्ड, डाठ र दानामा समेत सङ्क्रमण हुने लम्सालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र धादिङको तथ्याङ्कअनुसार जिल्लामा दुई सिजन गरेर २५ सय ४३ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदैआएको छ । उत्तरी धादिङको रुविभ्यालीलाई आलुको पकेट क्षेत्र मानिन्छ । नीलकण्ठ, बेनिघाट, धुनिबेंसी, गजुरी, ज्वालामुखी, नेत्रावती डबजोङलगायतका क्षेत्रमा आलुखेती हुँदैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?