logo
२०८० चैत्र १६ शुक्रवार



अभिनेत्री मानन्धरको चासो ग्रामीण विकासमा

मनोरञ्जन |
समाज |


अभिनेत्री मानन्धरको चासो ग्रामीण विकासमा


काठमाडौं, मङ्सिर १९ गते । मनमा इच्छा र चाहना भए उमेरले पढ्न कसैलाई छेक्दैन भन्ने कुरा नायिका करिश्मा मानन्धरले पुष्टि गर्नुभएको छ । उमेरले ४० नाघेपछि ८ कक्षाबाट उहाँले अध्ययन सुरु गर्नुभएको हो ।

शुक्रबार सार्वजनिक भएको १२ कक्षाको परीक्षामा उहाँ २.४१ जीपीएसहित उत्तीर्ण हुनुभएको छ । काठमाडौंको गोदावरीस्थित किटिनी माविबाट उहाँले परीक्षा दिनुभएको हो ।

अभिनेत्री मानन्धरले नतिजाबाट आफू खुसी रहेको बताउनुभयो । ‘म एभ्रेज विद्यार्थी हो, त्यस्तो भयंकर पढ्ने विद्यार्थी होइन’, उहाँ भन्नुहुन्छ, ‘जुन विषयमा म धेरै राम्रो थिए’, त्यसैमा कम अङ्क आयो । खै कता बिग्रियो, थाहा भएन ।’

कक्षा १२ पास भएर अगाडिको बाटो खुल्नु ठूलो कुरा भएको उहाँको भनाइ छ । ‘पास भएँ, अगाडि पढ्न पाएँ’, उहाँ भन्नुहुन्छ, ‘यही ठूलो कुरा हो ।’

कोरोना महामारीले तयारीमा असर गरे पनि नतिजा राम्रो आएको उहाँको भनाइ छ । ‘कोरोना महामारीका कारण कलेज सञ्चालन हुन सकेको थिएन । तयारी पनि खासै थिएन’, नायिका मानन्धरले भन्नुभयो, ‘महामारीले कलेज सञ्चालन नभएको अवस्थामा परीक्षा दिएको भए पनि नतिजाबाट सन्तुष्ट छु ।’

अभिनेत्री मानन्धरले पढाइलाई निरन्तरता दिने बताउनुभएको छ । गोदावरीस्थित किटिनीबाट नै स्नातक गर्ने सोच रहेको उहाँको भनाइ छ । ‘१२ पास भएपछि पढाइलाई निरन्तरता दिने सोच बनाएकी छु’, उहाँ भन्नुहुन्छ, ‘मैले अहिले पढ्ने कलेज किटिनीबाटै स्नातकमा ग्रामीण विकास मेरो पहिलो रोजाई हो । त्यो नभए प्राविधक विकास वा कृषि पढ्छु ।’

भाषा विस्तारै सुधार गर्ने योजना अनुसार उहाँले मेजर इङ्लिस पढ्ने तयारी गरेको बताउनुभयो । ‘मेजर इङ्लिस पढ्ने सोच छ, भाषा पनि विस्तारै सुधार हुन्छ’, उहाँले भन्नुभयो ।

बिहान कलेज पढ्ने र दिउँसो फिल्मको काम गर्ने उहाँको योजना छ । ‘बिहान कलेज पढ्छु, दिउँसो फिल्मलाई समय दिन्छु’, उहाँ भन्नुहुन्छ । सुटिङको दिनमा कलेज जान नसके शिक्षक र साथीसँग नोट मागेर पढ्ने उहाँको तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?