logo
२०८० चैत्र १५ बिहीवार



बेंसीसहर–चामे सडक क्षतविक्षत

खुला |


बेंसीसहर–चामे सडक क्षतविक्षत


बेलिना थापा
लमजुङ, कात्तिक २ गते । अबिरल बर्षापछिको बाढीपहिरोले बेंसीसहर–चामे सडक क्षतविक्षत भएको छ । असोज ३१ गते बेलुकादेखि निरन्तर परेको बर्षाका कारण मनाङ पुग्ने एकमात्र सडकखण्डको ठाउँठाउँमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएको हो । मनाङतर्फको खण्डमा बाह्र स्थानमा बाढी पहिरो गएको र सडक अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोले सडकखण्डको अस्थायी पुल तथा अस्थायी सडकहरु बगाएको छ । केही ठाउँमा मस्र्याङ्दीमा आएको बाढीले कटान गरेको छ । स्याल्क्युखोलाको अस्थायी काठे पुल र तिमाङखोलाको अस्थायी काठे पुलमा क्षति पु¥याएको प्रजिअ आचार्यले बताउनुभयो । ‘आइतबारदेखि पानी परिरहेको छ । सोमबार साँझसम्म सवारी साधन चलिरहेको थियो । रातिको पानीले अधिकांश ठाउँमा पहिरो खस्यो । सडक अवरुद्ध छ’ उहाँले भन्नुभयो, ‘पहिरो खसेको चामे गाउँपालिका क्षेत्रमा स्थानीय समुदायको सहयोगमा पैदल यात्रुलाई आवातजावत गर्न सामान्य बाटो बनाएका छौं । मोटरसाइकल सम्म चल्ने खालको बनाएका छौं । यसले नागरिकलाई केही राहत मिलेको छ ।’
प्रजिअ आचार्यको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरुले मंगलबार नै बाढीपहिरोको क्षतिको निरीक्षण गरेको थियोे । करिव २५ किलोमिटर पैदल यात्रा गरी अनुगमन गरिएको आचार्यले बताउनुभयो । बर्षा भइरहेकाले तत्काल सडक मर्मत गर्न सम्भव नभएको मनाङ प्रशासनले जनाएको छ । बर्षा भइरहेको समयमा मर्मत कार्य गर्दा झन् जोखिम बढ्न सक्ने भएकाले बर्षा रोकिएपछि मात्र काम थालिने जनाएको छ । पानी रोकिएपछि एक दिनमा सडक आउजाउ गर्न मिल्ने गरी मर्मत गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । मौसममा सुधार हुने वित्तिकै धारापानीबाट तालसम्म एउटा जेसिबी, दानाक्यूदेखि तिमाङसम्म एउटा जेसिबी र भ्राताङबाट चामेसम्म एउटा जेसिबी प्रयोग गरी सडक सफा गर्ने योजना रहेको र एकै दिनमा बाटो सुचारु गर्ने बताउनुभयो ।
बर्षा भइरहेकाले मस्र्याङदीमा बहाव बढ्दा जोखिम हुने भएकाले नासों गाउँपालिका एक ताल क्षेत्रमा जनप्रतिनिधीमार्फत नागरिकलाई सचेत रहन भनिएको छ । मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको ठाउँमा पहिरो खसेको बताउनुभो । माथिल्लो मनाङ जाने सडक तलेखुको माथिल्लो क्षेत्रमा मस्र्याङ्दी नदीले कटान गरेपछि सडकमा क्षति पु¥याएको बताउनुभयो । मंगलबार बाढीपहिरोको निरीक्षण पछि उहाँले तत्काल सडक खुलाउन असहज हुने भएकाले पानी रोकिएपछि मात्र गर्न सकिने बताउनुभयो ।
गएको जेठ ३१ गतेपछिको भीषण बाढीपहिरोले क्षतविक्षत बनाएको मनाङतर्फको सडक दसैंअघि मात्रै खुलेको थियो । करीब चार महिनापछि खुलेको सडक बेमौसमी बर्षाका कारण आएको बाढीपहिरोले पुनःअवरुद्ध बनाएको हो । बेंसीसहरदेखि मनाङ सम्मको ६५ किलोमिटरमध्ये लमजुङ खण्डको म्यार्दीसम्म ३५ किलोमिटर छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?