logo
२०८१ बैशाख ७ शुक्रवार



आज सालको पहिलो सूर्यग्रहण

बिज्ञान |


आज सालको पहिलो सूर्यग्रहण
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । यस वर्षको पहिलो सूर्य ग्रहण आज लागेको छ । नेपाली समयअनुसार अपरान्ह दुई बजेदेखि सुरु हुने सूर्य ग्रहण साँझ करीब सात बजेसम्म लाग्नेछ । यद्दपी नेपालबाट भने सूर्य ग्रहणको अवलोकन गर्न सकिने छैन । सूर्य ग्रहण औंसीका दिन मात्रै लाग्ने गर्छ । अर्को सूर्य ग्रहण भने यसैवर्षको डिसेम्बर चारमा हुनेछ । दक्षिणी ध्रुबमा विशेष प्रभाबित क्षेत्र हुने हुनाले वर्षको दोस्रो सूर्यग्रहण समेत नेपालबाट अवलोकन गर्न सकिने छैन ।
अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले जारी गरेको अन्तरक्रियात्मक नक्सा बमोजिम सूर्य ग्रहण उत्तरी ध्रुबमा मात्रै सक्रिय रहने र देख्न पाइनेछ । यद्दपी भारतको अरुणााचल प्रदेशको केही भूभागमा समेत अवलोकन गर्न सकिने नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँले अरुणाचल प्रदेशमा साँझ पाँच बजेर ५५ मिनेटदेखि छ बजेर छ मिनेटसम्म अवलोकन गर्न सकिने बताउनुभयो ।
भारत बाहेकको सार्क राष्ट्रबाट भने सूर्य ग्रहण देखिनेछैन् । खगोलविद् भट्टराईले उत्तरी अमेरिका महादेशको क्यानाडा, यूरोप र एशिया महादेश दुबैमा पर्ने रुस, मंगोलियासहित ग्रीनल्याण्डमा सूर्य ग्रहण राम्ररी अवलोकन गर्न सकिने जानकारी दिनुभयो ।
ग्रहणको क्रममा सूर्य वलयाकार देखिनेछ । सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा वलयाकार सूर्य ग्रहण देखिन्छ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्नुले उक्त खगोलीय घटना हुन्छ । र केही समयका लागि प्रभाब हुने विशेष क्षेत्रमा अन्ध्यारो हुन्छ । ‘रिंग अफ फायर’ भने क्यानाडा, ग्रीनल्याण्ड र उत्तरी रुस क्षेत्रबाट मात्रै अवलोकन गर्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?