logo
२०८१ बैशाख ८ शनिवार



नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन

क्रिकेट |
खेलकुद |


नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन
तस्विर–क्यान


इश्वरचन्द्र झा
काठमाडौं, वैशाख ११ गते । नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराएर नेपाल विजेता बनेको हो । घरेलु मैदानमा नेपालले पहिलो पटक टी ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ ।
नेपालले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले १७ ओभर दुई बलमा मात्र ९६ रनमा समेटिन पुग्यो । नेपालको अन्तर्राष्ट्रिय टी ट्वान्टीमा यो अहिलेसम्मकै सर्बाधिक ठूलो जित हो । यसअघि नेपालले साग खेलकुदमा भुटानमाथि १४१ रनको जित हात पारेको थियो ।
यसअघि नेपाल विरुद्धको दोस्रो खेलमा २०६ रनको सफलतापूर्वक पछ्याएको नेदरल्याण्ड्सले फाइनलमा समेत त्यसै प्रकारको खेलको अपेक्षा गरिएको थियो । तर ४२ रनमै छ विकेट गुमाएर उसको पारी धरमराउन पुग्यो । सुरुदेखि १२ रन प्रति ओभर ल्याउनुपर्ने दबाब नेदरल्याण्ड्सका ब्याट्सम्यानका लागि असहज भयो ।
नेपालले भने लिगमा दोस्रो पटक नेदरल्याण्ड्सको सामना गर्दा बलिङमा गरेको गलतीलाई दोहोरयाएन । सोमपाल र कमल ऐरीबाट बलिङको सुरुवात गरेको नेपाललाई आशिफ शेषले दोस्रो ओभरको पाँचौं बलमा रन आउट गरेर पेभेलियन फर्काउनुभयो । त्यसपछि लगालग उसको विकेटको पतन हुन सुरु भयो । बेन कूपर सात रन बनाएर फर्किनुभयो । बास डे लीडले खाता खोलेको अर्कै बलमा कुशल भुर्तेलद्वारा रन आउट भएपछि नेदरल्याण्ड्सले ३३ रनमा तेस्रो विकेट गुमाउन पुग्यो ।
अर्का ओपनर म्याक्स ओ डौडले केही आक्रामक शट लगाएपनि करण केसीले नेदरल्याण्ड्सको योगफल ३६ रन हुँदा चौथो विकेटको रुपमा पेभेलियन फर्काएपछि ऊ थप दबाबमा आयो । विकेटकीपर ब्याट्सम्यान स्कट्ट एडवार्ड्स पाँच तथा एन्टोयिस स्टाल डक आउट हुन पुग्दा नेदरल्याण्ड्सले सात ओभर चार बलमा ४२ रन जोडेको थियो ।
नेदरल्याण्ड्सको पारीमा ओपनर म्याक्स ओ डौडले २० तथा सेबेष्टियन ब्राटले बनाउनुभएको २६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । ब्राट अविजित रहनुभयो । कप्तान पिटर सीलरले १३ रनको योगदान दिनुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेन ।
नेपाली बलरहरुमा करण केसीले सर्बाधिक तीन विकेट लिनुभयो । कमल ऐरी र सन्दीप लामिछानेले सामान दुई दुई विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट लिनुभयो । नेदरल्याण्ड्सका दुई जना ब्याट्सम्यान रन आउट हुन पुगे ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको नेपालले पुरै २० ओभर खेलेर मात्र तीन विकेटको क्षतिमा २३८ रनको विशाल योगफल तयार गर्यो । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नेपालको यो अहिलेसम्मकै सर्बाधिक ठूलो योगफल हो । यसअघि दक्षिण एशियाली खेलकुद(साग)मा नेपालले भुटान बिरुद्ध तीन विकेटको क्षतिमा २३६ रनको योगफल तयार गरेको थियो ।
ओपनर आशिफ शेष मात्र आठ बलमा १६ रन बनाएर पेभेलियन फर्किदा नेपालले दुई ओभर दुई बलमा ३० रन जोडेको थियो । सुरुवाती र मध्यक्रमका सबै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भएको थियो ।
कुशल भुर्तेलको अर्धशतक
ओपनर कुशल भुर्तेलले मात्र ४३ बलमा पाँच चौका र दुई छक्का लगाएर आफ्नो अर्धशतक पूरा गर्नुभयो । ११ रनको ब्यक्तिगत् योगफलमा पहिलो जीवनदान पाएका कुशलले १३ औं ओभरको चौथो बलमा फिलिप बोस्सेभेनको बलमा छक्का लगाउँदै अर्धशतक पुरा गर्नुभयो । उहाँले ५३ बलमा आठ चौका र तीन छक्काको सहयोगमा सर्बाधिक ७७ रनको योगदान दिनुभयो । यो उहाँको टी ट्वान्टी अन्तर्राष्ट्रियको सर्बाधिक ब्यक्तिगत् योगफल समेत हो । प्रतियोगिताको पाँच खेलमा उहाँको यो चौथो अर्धशतक हो ।

आशिफ सबेरै पेभेलियन फर्केपछि कुशल भुर्तेलसँग कप्तान ज्ञानेन्द मल्लले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेर टोलिको योगफल ८७ रनसम्म पुर्याउनुभयो ।
कुशल मल्लको कीर्तिमान
कुशल मल्ल अन्तर्राष्ट्रिय टी ट्वान्टीमा अद्र्धशतक लगाउने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाउनुभयो । ज्ञानेन्द्रले मात्र १९ बलमा तीन चौका र दुई छक्का लगाएर ३३ रन बनाएर पेभेलियन फर्किदा चौथो नम्बरमा ब्याटिङ गर्न आउनुभएका कुशल मल्लले विष्फोटक पारी खेल्दै टोलिलाई १८ औं ओभरको चौथो बलमा दुई सय रनको योगफलसम्म पुर्याउनुभयो । नेपालले १८ ओभरमा तीन विकेटको क्षतिमा २०६ रन बनाउँदा कुशल मल्लले मात्र २२ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४८ रन बनाउनुभयो । लगत्तै कुशल मल्लले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा आफ्नो पहिलो अद्र्धशतक पुरा गर्नुभयो । उहाँले मात्र २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५० रन बनाएर अविजित रहनुभयो ।
पारीको उत्कृष्ट अन्त्य
नेपालले १२ औं ओभरदेखि १७ औं ओभरका बीच पाँच ओभरमा ८६ रन जोड्दा कुशल भुर्तेलको रुपमा एक मात्र विकेट गुमाउन पुग्यो । अन्तिम पाँच ओभरमा नेपालले एक विकेट गुमाएर ८१ रन जोड्यो ।
कुशल मल्ल, कुशल भुर्तेलले अद्र्धशतक लगाउँदा दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ४८ रन बनाएर अविजित रहँदै अर्धशतक लगाउनबाट चुक्नुभयो । उहाँले पारीको अन्तिम बलमा चौका लगाएर ४८ रन बनाउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?