logo
२०८१ बैशाख ७ शुक्रवार



बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा पुग्यो

फुटबल |
खेलकुद |


बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा पुग्यो
तस्बिर साैजन्य : राजेन्द्र चित्रकार


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ । फाइनल खेल सोमबार दशरथ रङ्शालामा साँझ साढे पाँच बजेदेखि हुनेछ । प्रतियोगिताको विजेता टोली पाँच हजार अमेरिकी डलरबाट पुरस्कृत हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङगलादेशले ०–० खेलेको हो । नेपालले प्रतियोगितामा गोल नगर्दै र जित हात नपार्दै फाइनलसम्मको यात्रा तय गरेको यो बिरलै अबसर हो । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । आफ्नो दुबै खेलमा अङ्क बाँडेको नेपालले दुई खेलबाट दुई अङ्क जोडेको छ । किर्गिस्तानसँग जितेर पुरा तीन अङ्क बटुलेको बङ्गलादेशले भने नेपालसँग बराबरी खेल्दै अङ्क बाँड्दै चार अङ्कसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा हार र दोस्रोमा नेपालसँग बराबरी खेलेको किर्गिस्तानले एक अङ्कमा सिमित हुँदै थ्री नेशन्स कप प्रतियोगिताको पूछारमा रहन बाध्य भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा नेपालले आधा दर्जन गोलको अबसर सृजना गर्यो । तर ‘फिनिश’ दिन सकेन ।
पहिलो हाफको २१ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विष्टको फ्रि हेडर पोष्टको माथिबाट बाहिरिन पुग्यो । नेपाल सुरुवाती अग्रता लिनबाट चुक्यो । ४० औं मिनेटमा बङ्गलादेशका कप्तान जमलको फ्रिकिक पोष्ट नजिकैबाट बाहिरिन पुग्दा बङ्गलादेश अग्रता लिन सकेन ।
पहिलो हाफको तुलनामा नेपालले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्यो । दोस्रो हाफको दश मिनेटभित्रै सञ्जोग राईलाई विशाल राईले र रबिशंकर पासवानलाई सुनिल बलले प्रतिस्थापन गर्नुभयो । दुबै खेलाडी आएपछि नेपालले आक्रामक प्रयास गर्यो तर गोलमा परिणत गर्न सकेन । बङ्गलादेशी डिफेन्डर मेहेदी हसन र अब्दुल्लाहले ब्लक गर्दै नेपाली आक्रमणलाई विफल तुल्याउनुभयो ।
५८ औं मिनेटमा अञ्जन विष्टले र ६० औं मिनेटमा अभिषेक रिजालले बङ्गलादेशी डिफेन्सलाई चिर्न सक्नुभएन । सुनिल बलले ६२ औं मिनेट दिनुभएको कर्नरलाई त्रिदेव गुरुङले हेडरमार्फत् गोलमा परिणत गर्ने प्रयास गर्नुभयो । तर सफल हुनुभएन ।
७७ औं मिनेटमा बङ्गलादेशले गोल गर्ने अबसर पायो तर गोलकिपर किरणकुमार लिम्बूले उक्त प्रयासलाई विफल तुल्याउनुभयो ।
प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई बङ्गलादेशले १–० ले हराउँदा तथा नेपालले किर्गिस्तानसँग बराबरी खेल्दा बङ्गलादेशले नेपाल बिरुद्धको खेल अगाडि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको थियो ।

थ्री नेशन्स कपमा नेपालका तीन जना खेलाडीले अन्तर्राष्ट्रिय स्पर्धामा डेब्यु गर्नुभएको छ । सञ्जोग राई र त्रिदेब गुरुङ पहिलो रोजाईमा पर्दै डेब्यु गर्नुभएको छ । दुबैजनाले किर्गिस्तान बिरुद्धकै खेलमा डेब्यु गर्नुभएको थियो । निशान खड्का भने बङ्गलादेश बिरुद्धको खेलबाट नेपालको राष्ट्रिय फुटबल टोलीको पहिलो पटक प्रतिनिधित्व गर्नुभयो । दोस्रो हाफमा ७० औं मिनेटपछि निशानले रञ्जित धिमललाई प्रतिस्थापन गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?