logo
२०८० चैत्र १६ शुक्रवार



पाइप लाइनबाट चोरी असम्भव : निगम

अर्थ |


पाइप लाइनबाट चोरी असम्भव : निगम


लक्ष्मण दर्नाल

काठमाडौँ, माघ ५ गते । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको भारतीय खण्डमा गतसाता डिजेल चोरीको प्रयास भयो । पाइप लाइनबाट चोरीको सम्भावना शून्य रहेको नेपाल आयल निगमले जनाएको छ ।
आधुनिक पाइप लाइन भएकाले चोरी तथा चुहावटका प्रयास तुरुन्त जानकारीमा आइहाल्ने निगमले जनाएको छ ।
निगमका अनुसार पाइप लाइनमा अप्टिकल फाइबर राखिएको र त्यसको सहायताले पाइप लाइनमा पु¥याएको असर पत्ता लगाउन सकिन्छ । त्यसका साथै पाइप लाइन ‘स्काडा र पीएलसी प्रोग्रामले कन्ट्रोल’ गरिएको हुँदा कसैले पाइप लाइनमा असर पु¥याए तुरुन्त जानकारीमा आउने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
उहाँको भन्नुभयो, “मोतिहारी–अमलेखगञ्ज पाइप लाइन आधुनिक हो, यसमा सामान्य तरिकाले चोरी गर्छु भनेर सम्भव छैन प्रविधिले तत्काल थाहा पाइहालिन्छ । पाइप फुट्यो भने पनि प्रेसर कम भइहाल्छ अनि कहीँ गडबढी छ भन्ने कुरा त थाहा भइहाल्छ । ” उहाँका अनुसार अस्ति भारतमा भएको चोरीको प्रयास पनि तुरुन्त जानकारीमा आएको थियो ।
पाँच दिनअघि भारतको विहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँनजिक पाइप लाइनको डिजल चोरीको प्रयास भएको थियो । तत्काल जानकारी प्राप्त भएकाले कुनै क्षति हुन नपाएको दाबी निगमको छ । इन्डियन आयल कर्पोरेसनको मोतिहारी कार्यालयले कुनै पनि क्षति नभएको जानकारी निगमलाई गराएको थियो ।
प्रवक्ता उपाध्याय भन्नुहुन्छ, “पाइल पाइनबाट नियमित रूपमा दुई लाख ५० हजार लिटर प्रतिघण्टाका दरले आयात भइरहेको छ । चोरीको प्रयासले आयातमा कुनै असर परेको छैन भन्ने कुरा प्रमाणित भइसकेको छ तर चोरी कार्यमा संलग्नलाई के गर्छ भन्ने कुरा त्यो भारतको ऐन कानुनले जान्ने कुरा हो, नेपालतर्फ चोरीको कुनै सम्भावना छैन । ”
उहाँका अनुसार नेपालतर्फ पाइप लाइनलाई असर गर्ने वा चोरी कार्यहरू असम्भव छ । नेपालतर्फको पाइप लाइन बजार क्षेत्र र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेकाले पनि भौगोलिक रूपमै सुरक्षित छ ।
त्यसका साथै नेपाली सेनाले गस्ती गरिरहेकाले गैरकानुनी गतिविधि सम्भव नभएको निगमको दाबी छ । पाइप लाइनको सुरक्षाका हिसाबले नेपालतर्फ कुनै चुनौती नभएको उपाध्यायको भनाइ छ । पाइप लाइन २.५ मिटर गहिराइमा छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन सञ्चालन भएपछि नेपाल आयल निगमले एक वर्षमा एक अर्ब ४५ करोड रुपियाँ नाफा कमाएको छ । जुन, भारतबाट अमलेखगञ्जसम्मको ढुवानीबापतको खर्च पाइप लाइन सञ्चालन भएपछि बचत भएको थियो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय मोतिहारी–अमलेखगञ्ज पाइप लाइन २०७७ भदौ २४ गतेदेखि सञ्चालनमा आएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?