logo
२०८० चैत्र १५ बिहीवार



एक्लिदै बेलायत, नयाँ कोरोनाभाइरसको त्रासमा ४० राष्ट्रद्वारा यात्रा प्रतिबन्ध

स्वास्थ्य |


एक्लिदै बेलायत, नयाँ कोरोनाभाइरसको त्रासमा ४० राष्ट्रद्वारा यात्रा प्रतिबन्ध


इश्वरचन्द्र झा
काठमाडौं, पुस ७ गते । नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिदै गएपछि बेलायत विश्व समुदायको सम्पर्कबाट एक्लिदै गएको छ । मंगलबारसम्म करिब ४० राष्ट्रले बेलायत यात्रामा प्रतिबन्ध लगाएको छ ।
बीबीसीका अनुसार एक्लिदै गएपछि बेलायतले एक्ला एक्लै प्रतिबन्ध लगाएका राष्ट्रसँग छलफलमा तिब्रता दिएको छ । यूरोपेली संघ मातहातका राष्ट्रले संयुक्त प्रतिबन्धबारे पछि समन्वय गर्ने जनाउँदै तात्काल एक्ला एक्लै प्रतिबन्ध लगाएको छ । स्वीडेनले डेनमार्क यात्रामा प्रतिबन्ध लगाएको छ । नयाँ प्रकारका कोरोनाभाइरसको सङ्क्रमण डेनमार्कमा समेत देखिएको छ ।
नयाँ प्रकारका कोरोनाभाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएपनि सार्स–कोभ–२ भन्दा बढी घातक हुने भन्ने कुनै संकेत देखिएको छैन । यूरोपेली संघ मातहातका सबै २७ राष्ट्रले बेलायतको यात्रामा प्रतिबन्ध लगाएको छ । दक्षिण पूर्ब इंग्ल्याण्डको केन्टमा करिब एक हजार पाँच सय लौरी ठप्प भएको छ । फ्रान्सेली सीमा क्षेत्र नजिकको उक्त नाका बुधबारदेखि खुलाउने प्रयास हुँदैछ ।
स्पेन, पोर्चुगल र हंगेरीले आफ्ना नागरिकको आगमनको अनुमति मात्रै दिएको छ । बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रहरुको संख्या थपिदै जाँदा विश्व स्वास्थ्य संगठनको यूरोप निर्देशक हान्स क्लजले सीमित यात्राका लागि नीति बनाई ब्यापार सन्तुलन बनाइराख्नुपर्ने बताउनुभएको छ ।
यसअघि विश्व स्वास्थ्य संगठनको आपातकाल प्रमुख माइक रयानले नयाँ प्रकारको कोरोनाभाइरस देखिनु महामारीको उत्पत्ति हुनुअघिको सामान्य अवस्था रहेको बताउनुभयो ।
बायोएनटेकका सह संस्थापक उगुर साहिनले नयाँ प्रकारको कोरोनाभाइरसबारे सकारात्मक प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, “वैज्ञानिक रुपमा खोपले उत्पन्न गर्ने प्रतिरक्षा प्रणालीले नयाँ प्रकारको भाइरससँग लड्न मद्दत पुग्ने विश्वास लिएका छौं ।” उहाँले आवश्यकता परे उक्त भाइरस विरुद्ध लड्ने खोप छ साता भित्र उपलब्ध गराउन सकिने उल्लेख गर्नुभयो ।
फ्रान्सले बेलायतबाट आउने सामान र यात्रुमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा दक्षिणी बेलायतको डोभर बन्दरगाह ठप्प भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफू फ्रान्सेली राष्ट्रपतिसँग ब्यापार सुचारु गर्न छलफल गरिरहेको र छिट्टै समाधान हुने अपेक्षा राखेको बताउनुभएको छ ।
बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रमा भारत, इरान र क्यानाडा पनि छन् । यी राष्ट्रहरुले बेलायतको उडानमा प्रतिबन्ध लगाएका हुन् । सऊदी अरेयिबा, कुवेत र ओमानले अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले यसअघि नै बेलायतको उडान स्थगित गरिसकेको छ । यद्दपी केही विमान कम्पनीले कोरोनाभाइरसको रिपोर्ट निगेटिभ आउने यात्रुलाई मात्रै ओसारपोसार गर्दैछ ।
डेनमार्कसँगै नयाँ प्रकारको भाइरस अष्ट्रेलिया, इटाली र द् नेदरल्याण्ड्समा समेत फेला परेको छ । बेल्जियमको रेगा इन्स्टिच्युट फर मेडिकल रिसर्चका भाइरोलोजिस्ट मार्क भान रास्ट्रले आगामी केही दिनभित्रै अन्य राष्ट्रहरुमा समेत देखा पर्ने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?