logo
२०८१ बैशाख ७ शुक्रवार



फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप वयस्कमा पनि ९५ प्रतिशत प्रभावकारी

बिज्ञान |


फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप वयस्कमा पनि ९५ प्रतिशत प्रभावकारी


इश्वरचन्द्र झा
काठमाडौँ, मङ्सिर ४ गते । अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले कोभिड–१९ विरुद्धको तेस्रो चरणको ट्रायलले सङ्क्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ । दुवै कम्पनीले बुधबार जारी गरेको वक्तव्यमा खोप लगाएपछि गम्भीर प्रकृतिका सुरक्षाका सवाल अवलोकन नगरिएको उल्लेख गरेको छ ।
ट्रायलमा सहभागी १७० जना कोरोना सङ्क्रमित स्वयंसेवीमा उक्त खोप लगाइएको कम्पनीले जनाएको छ । एक सय ६२ जनामा प्रायोगिक औषधी (प्लेसबो) दिइएको थियो । आठ जनामा खोप दिइएको थियो । फाइजरले भनेको छ, “९५ प्रतिशत प्रभावकारी देखिएको छ ।”
यसअघि कात्तिक अन्तिम साता फाइजरले जारी गरेको प्रारम्भिक वक्तव्यमा खोपको प्रभावकारिता ९० प्रतिशत रहेको उल्लेख गरेको थियो । उक्त वक्तव्ले स्वास्थ्यविद् तथा अनुसन्धानकर्मीलाई उत्साहित बनाएको थियो ।
“सबै उमेर समूह, जाति र नश्लमा स्थिर प्रभावकारी देखिएको छ, ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा खोपको प्रभावकारिता ९४ प्रतिशत पाइएको छ ।” फाइजर र खोप निर्माणमा उससँग सहकार्य गरेको जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
“ट्रायलमा दश जना कोभिड–१९ बाट सङ्क्रमित जटिल प्रकृतिका बिरामीलाई समेत सामेल गराइयो, जसमध्ये नौ जनालाई प्लेसबो समूहअन्तर्गत राखिएको थियो, एक जना बीएनटी१६२बी२ खोप लगाइएको समूह थियो ।” बीएनटी१६२बी२ खोपको प्रयोगशाला नाम हो । उक्त ट्रायलको परिणाम र खराब असरमाथि स्वतन्त्र समूहले समेत निगरानी गरिरहेको छ ।
कम्पनीले भनेको छ, “निगरानी गर्ने समितिले हालसम्म कुनै प्रकारको गम्भीर सुरक्षाका सवाल फेला पारेको छैन ।”
फाइजरले अमेरिकी खाद्य तथा औषधि प्रशासनसमक्ष आपतकालीन प्रयोगका लागि केही दिनभित्रै अनुमति पाउने विश्वास गरेको छ । केही दिनभित्रै ट्रायलबाट उपलब्ध भएको डाटालाई विश्वस्तरमा नियमन गर्ने निकायलाई उपलब्ध गराइनेछ ।
बायोएनटेकका सहसंस्थापक डा. उगुर सहिनले सबै उमेर समूहका प्रभावकारी देखिएकोले वर्तमान महामारीविरुद्ध लड्न उक्त खोप महत्त्वपूर्ण औजारको रुपमा सहयोगी सिद्ध हुने प्रतिक्रिया दिनुभयो । उक्त खोपको तेस्रो चरणको ट्रायल जुलाइ २७ मा सुरु भएको थियो । फाइजरले ४३ हजार ६६१ जना स्वयंसेवीमा खोप लगाइएको जनाएको छ । जसमध्ये ४१ हजार १३५ जनाले खोपको दोस्रो डोज लिएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासनले दोस्रो डोज लिएको दुई महिनासम्मको अवधिलाई निगरानी गर्ने समय लिएको छ ।
कम्पनीले खोपको प्रभावकारिता बुझ्न महामारीबाट तङ्ग्रिएका विश्वका अन्य भेगका विविध स्वयंसेवीमा लगाइएको जनाएको छ । ४२ प्रतिशत विश्वका अन्य भागका सहभागी थिए । विभिन्न जात र नश्लका ३० प्रतिशत अमेरिकी सहभागी थिए । ट्रायलमा ४१ प्रतिशत विश्वका अन्य भागका र ४५ प्रतिशत अमेरिकाका ५६ देखि ८५ वर्ष उमेर समूहका सहभागीहरू रहेको फाइजरले उल्लेख गरेको छ ।
अमेरिका, जर्मनी, टर्की, दक्षिण अफ्रिका, ब्राजिल र आर्जेन्टिनाका १५० स्थानमा क्लिनिकल ट्रायल गरिएकोमा अझै दुई वर्षसम्म बढीभन्दा बढी जानकारी र प्रभावकारिताबारे अध्ययन गरिने फाइजरले जनाएको छ ।
सन् २०२० भित्र पाँच करोड र सन् २०२१ भित्र एक अर्ब ३० करोड खोप उत्पादन गर्ने कम्पनीले लक्ष्य राखेको छ । फाइजरसँग अमेरिकाभित्र सेन्ट लुईस, कालामाजू र मिसिगन र एन्डोभर तथा मासासुट्स गरी तीन स्थानमा खोप उत्पादन गर्ने प्लान्ट  छ ।
खोप आपूर्तिका लागि माइनस ७५ डिग्री सेल्सियस तापक्रम हुनुपर्ने बाध्यता छ । तर कम्पनीले आफूहरू आपूर्तिमा समेत सहयोग गर्न सक्ने जनाएको छ । “ठूलो अनुभव, पोख्तता र विद्यमान चिस्याउने श्रृङ्खलाले खोपलाई विश्वभरि आपूर्ति गराउन फाइजर सक्षम र विश्वस्त रहेको छ ।” कम्पनीले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?