logo
२०८१ बैशाख १२ बुधवार

  क्यानमा पदपूर्ति  



प्रमुख प्रशिक्षकमा ७७ जनाको आवेदन, सबै विदेशी

खेलकुद |


प्रमुख प्रशिक्षकमा ७७ जनाको आवेदन, सबै विदेशी


इश्वरचन्द्र झा
काठमाडौं, कात्तिक १६ गते । राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक(जीएम), प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो ।

नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षकका लागि परेका आवेदन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)लाई पठाइएको जानकारी दिनुभयो । उहाँले एक साताभित्रै आईसीसीले प्रमुख प्रशिक्षक पदका उम्मेदवारहरुको छोट्याइएको सूची नेपाल क्रिकेट संघलाई पठाउने बताउनुभयो ।
एकजना प्रमुख प्रशिक्षक पदका लागि दक्षिण एशियाली राष्ट्रहरुसँगै दक्षिण अफ्रिकाबाट समेत आवेदन परेको छ । महासचिब प्याकुरेलले भन्नुभयो, “भारत, श्रीलङ्का, पाकिस्तानसँगै दक्षिण अफ्रिकाबाट प्रमुख प्रशिक्षकका लागि आवेदन परेको छ ।” नेपालबाट प्रमुख प्रशिक्षकका लागि एउटै आवेदन परेको छैन ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले एक साताभित्र छोट्याइएको सूची आईसीसीले क्यानलाई पठाउने जानकारी दिनुभयो । आईसीसीले जारी गरिएको मापदण्ड बमोजिम पहिलो चरणमा छोट्याएर दश जनाको सूची क्यानलाई पठाउने खुलाउनुभयो । दश जनाबाट थप ‘शर्टलिस्ट’ गरिने उहाँले बताउनुभयो । प्रमुख प्रशिक्षक पदका लागि आवेदन दिनेमा अधिकांश दक्षिण एशियाली राष्ट्रका छन् ।
महासचिब प्याकुरेलले आईसीसीबाट सूची प्राप्त हुनासाथ समिति बनाएर थप छनोट, अन्तवार्ता र नियुक्ति प्रकृया अगाडि बढाइने बताउनुभयो । अन्तिम छनोट चरणमा आईसीसीको सहमति लिएर नियुक्त गरिने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल क्रिकेट संघका अध्यक्ष र महासचिब दुबै जना अस्वस्थ्य भएपछि संघको नियमित कामकाज प्रभाबित भएको थियो । महासचिब प्याकुरेल गत् साता मात्रै कोरोनामुक्त भएर घर फर्किनुभएको छ ।
प्रमुख प्रशिक्षक पदका लागि सीए लेभल तीनको योग्यता हुनुपर्ने, तीन वर्ष व्यवसायिक प्रशिक्षणको अनुभव भएको हुनुपर्नेछ । जस अन्तगर्त आईसीसीको पूर्ण सदस्य, पहिलो श्रेणिको टोली, एशोसिएट सदस्य, राष्ट्रिय टोलि वा अन्तर्राष्ट्रिय लिगको अनुभव लिएको हुनुपर्नेछ । ६० वर्ष उमेर हद तोकिएको प्रशिक्षकका उम्मेदवारले एशोसिएट राष्ट्रको एकदिवसीय चक्रबारे जानकार हुनुपर्ने र क्रिकेट संस्कृतिको ज्ञान हुनुपर्ने मापदण्ड तोकिएको छ ।

संघले छनोट गरेको उम्मेदवारसँग एकवर्षको समयावधि राखेर अनुबन्धन गरिनेछ । भारतीय पूर्ब क्रिकेटर उमेश पटवालले समय अगावै अनुबन्धन समाप्त गरेरे फर्केपछि राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षकको पद रिक्त हुन गएको हो । गत् माघदेखि प्रशिक्षकविहीन रहेको नेपाली टोलिको प्रशिक्षण हाल जगत टमाटाले गर्दै आउनुभएको छ ।
संघका कोषाध्यक्ष सिंहले उम्मेदवार छनोट भएपछि आपसी सहमतिमा तलब वा वर्षभरिको प्याकेजबारे निर्णय लिइने जानकारी दिनुभयो । यसअघि प्रशिक्षक रहनुभएका पटवाललाई सात हजार अमेरिकी डलर प्रति महिना दिने गरी नियुक्त गरिएको थियो ।

त्यसैगरी नेपाल क्रिकेट संघको महाप्रबन्धक पदका लागि ४५ जनाको आवेदन परेको छ । संघका कोषाध्यक्ष सिंहले राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान विनोद दासले समेत बोर्ड प्रबन्धकको लागि आवेदन दिनुभएको जानकारी दिनुभयो । पूर्बकप्तान दास यसअघि जुनियर टोलिको प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

वित्त अधिकारीका लागि ३५ जना र क्रिकेट प्रबन्धकका लागि पाँचजनाले आवेदन दिएका छन् । सात प्रदेशका सात जना स्थानीय प्रशिक्षकका लागि २१ जनाले आवेदन दिएको नेपाल क्रिकेट संघले जनाएको छ । महासचिब प्याकुरेलले भन्नुभयो, “महाप्रबन्धक, वित्त अधिकारी, क्रिकेट प्रबन्धक र स्थानीय प्रशिक्षकको टुंगो नेपाल क्रिकेट संघले नै लगाउनेछ ।”

“आवेदन परेको प्रदेशका स्थानीयलाई नै प्रदेश प्रशिक्षकको जिम्मेवारी दिइने गरी तयारी गरिएको छ ।” कोषाध्यक्ष सिंहले बताउनुभयो । प्रमुख प्रशिक्षक बाहेकको सबै पदका लागि नेपाली नागरिक नै हुनुपर्ने मापदण्ड तोकिएको छ । नेपाल क्रिकेट संघले आफ्नो वेबसाइटसँगै एशियाली क्रिकेट संघ र आईसीसीको वेबसाइटमा प्रमुख प्रशिक्षक पदका लागि आवेदन आव्हान गरेको थियो । संघले सेप्टेम्बर २३ सम्मको म्याद राखेर आवेदन आव्हान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?