logo
२०८० चैत्र १५ बिहीवार



गैरप्राकृतिक विपद्का घटना बढे

राष्ट्रिय |


गैरप्राकृतिक विपद्का घटना बढे


चाँदनी हमाल

काठमाडौँ, कात्तिक ६ गते । नेपालमा प्राकृतिक विपद् जस्तै गैरप्राकृतिक विपद्को जोखिमसमेत बढ्दै गएको छ । केही दिनअघि मात्र काठमाडौँको नयाँ बजारमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भए । त्यसैगरी विगत २४ घण्टामा विभिन्न स्थानमा आठवटा आगलागीका घटना भए । जसमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको वैशाखदेखि हालसम्म आगलागी, सर्पदंश र जनावरको आक्रमणजस्ता गैरप्राकृतिक विपत्तिबाट ४५ जनाले ज्यान गुमाए । योबाहेक सडक दुर्घटनामा दैनिकजसो मानिसको ज्यान गइरहेको छ । बुधबार मात्र विभिन्न क्षेत्रमा तीनवटा सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
वैशाख यता आगलागीका ७०३ वटा घटना भए । त्यसमा परेर १३ को मृत्यु र १५० जनाभन्दा बढी घाइते भएका छन् । सर्पदंशका ५३ घटना भए । जसका कारण २१ जनाको मृत्यु र ३६ जना घाइते भए । अन्यमा जनावरको आक्रमणका ११९ वटा भएका छन् । त्यसमा परेर ११ जनाले ज्यान गुमाउनुका साथै ११२ जना घाइते भए । गत वर्षको आँकडाअनुसार आगलागीमा परी ४७ जना र जनावरको आक्रमणबाट ३१ जनाको मृत्यु भएको थियो । प्राकृतिक विपत्तिजस्तै गैरप्राकृतिक विपत्ति पनि समुदायका लागि घातक रहेको प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउनुहुन्छ ।
विपद्विज्ञ डा. गङ्गालाल तुलाधरका अनुसार हरेक वर्ष प्राकृतिकतर्फ औसत पाँच सयभन्दा बढी घटना हुन्छन् । जसमा नौ सयले ज्यान गुमाउँछन् । गैरप्राकृतिक विपद्मा पर्ने सडक दुर्घटनाका कारण मात्र प्रतिवर्ष करिब दुई हजार मानिसले ज्यान गुमाउने र १३ हजार जना बढी घाइते हुने गरेको उहाँ उल्लेख गर्नुहुन्छ ।
विपद्का कारण नेपालमा हरेक वर्ष छ लाख ४० हजार मानिस प्रभावित हुने गरेका छन् । यस वर्ष बाढी, पहिरो र चट्याङजस्ता प्राकृतिक विपद्बाट ४०२ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका ६४ र बाढीमा बगेर ३७ बेपत्ता छन् ।
उहाँका अनुसार गैरविपद्तर्फ महामारी, अनिकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराबाट हुने फ्लु, अन्य महामारी, सर्पदंश, जनावरको आतङ्क, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, विषाक्त ग्यास, रसायन वा विकिरण चुहावट, ग्यास विस्फोट, विषाक्त खाद्य सेवन, वातावरणीय विनाश, वन विनाश वा भौतिक संरचनाको क्षति र प्रकोप उद्धारमा हुने घटना पर्छन् । उल्लिखितमध्ये धेरै घटनाबाट हुने क्षतिको पूर्ण विवरण नेपालको विपद् सूचनाको एकद्वार प्रणालीमा समेटिन सकेको छैन ।
सुक्खा मौसम सुरु हुँदै गर्दा आगलागीका घटनाले तीव्रता लिनसक्ने भएकाले सजगता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । दाउराको चुलो, पूजा गर्दा बालिएको धुप वा बत्तीबाट, ग्यास लिक भएर, विद्युत् सर्ट भएर र सुक्खा पराल वा बुटामा आगलागी भएर क्षति पु¥याउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?