logo
२०८० चैत्र १६ शुक्रवार

  उपचार खर्चबारे मन्त्रालयले प्रस्ट्यायो  



सङ्क्रमितको उपचार खर्च हुनेबाट लिने र नहुनेलाई दिने

स्वास्थ्य |


सङ्क्रमितको उपचार खर्च हुनेबाट लिने र नहुनेलाई दिने


इश्वरचन्द्र झा 
काठमाडौं, कात्तिक ३ गते । कोरोना सङ्क्रमितले उपचार खर्च आफैं ब्योहोर्नुपर्ने निर्णयबारे तिब्र आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णयबारे प्रस्ट पारेको छ । मन्त्रालयले कोरोना सङ्क्रमितले उपचार खर्च आफैं तिर्नुपर्ने निर्णयबारे प्रष्ट्याउँदै उपचारको क्रममा राज्यले पैसा हुनेबाट लिने र नहुनेलाई दिने नीति अख्तियार गरेको जनाएको छ ।
गत् असोज १९ गतेको मन्त्रीपरिषद्ले कोरोना सङ्क्रमितले उपचार खर्च आफैं तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयको कार्यान्वयन कात्तिक २ गतेबाट लागू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राज्यले पहिलो सङ्क्रमित पुष्टि हुँदादेखि नै आफ्नै स्रोत साधनबाट कोरोना सङ्क्रमितको उपचार गरिरहेको बताउनुहुँदै हालसम्म करिब १२ लाख ब्यक्तिको परीक्षण गरिएको जानकारी दिनुभयो ।
मन्त्रालयले राज्य कोषबाट उपचार हुने मापदण्ड समेत निर्धारण गरेको छ । जसमा एकल महिला, विपन्न, अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतलाई परिभाषित गरिएको छ ।
प्रवक्ता डा. गौतमले भन्नुभयो, “उपचारको प्रक्रियालाई थोरै परिवर्तन गरिएको छ, क्षमता हुनेले खर्च तिर्ने र नहुनेलाई राज्य कोषबाट उपलब्ध गराइनेछ ।” उहाँले थप्नुभयो, “असहाय, एकल महिला, अपाङ, अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य उपचार व्यवस्थापनमा सघाउ पुग्नेछ ।”
प्रवक्ता डा. गौतमले राज्यकै कोषबाट एक लाख सङ्क्रमितको उपचार गरिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । हालसम्म नेपालमा एक लाख ३६ हजार ३६ जना ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । १३ लाख ९१८ जना ब्यक्तिले आरटीपीसीआर परीक्षण गराएका छन् ।
त्यसैगरी, मन्त्रालयले शव व्यवस्थापनबारे संशोधन गरिएको निर्देशिकाबारे समेत प्रष्ट्याएको छ । मन्त्रालयको संशोधित निर्देशिकाले कोभिड–१९ को सङ्क्रमणले मृत्यु हुने बिरामीको शव व्यवस्थापन परिवार र आफन्तजनले तोकिएको मापदण्ड अपनाएर आफैं गर्ने व्यवस्था गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयो, “यस प्रकारको व्यवस्था गर्दा नेपाली सेनाले शव व्यवस्थापन नगर्ने भन्न खोजिएको हैन, थुप्रै संघ संस्थाले धार्मिक रितिरिवाज बमोजिम परिवारजनले शदगद् गर्नुपर्ने माग गरेकोले संशोधन गरिएको हो ।” उहाँले नेपाली सेना पुग्न नसकेको स्थानमा र परिवारजनले आफैं अन्त्येष्टि गर्ने अनुरोध गरेमा मापदण्ड बमोजिम शव व्यवस्थापन गर्न पाउने बाटो खोलिएको प्रष्ट्याउनुभयो ।
यसअघि कोभिड–१९ सङ्क्रमितको मृत्यु हुँदा नेपाली सेनाले साबधानी अपनाएर शव व्यवस्थापन गर्दै आएको थियो । प्रवक्ता डा. गौतमले शवबाट कोरोना सङ्क्रमण सर्ने जोखिम न्यून रहेकोले परिवारजनले मापदण्ड अपनाएर गर्दा समस्या नहुने तर्क गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?