logo
२०८१ बैशाख ७ शुक्रवार



उपत्यकामा सक्रिय सङ्क्रमित बढे, ६० प्रतिशत पुग्याे

स्वास्थ्य |


उपत्यकामा सक्रिय सङ्क्रमित बढे, ६० प्रतिशत पुग्याे


इश्वरचन्द्र झा
काठमाडौं, असोज १९ गते । पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाभाइरस सङ्क्रमणको ‘हटस्पट’ बनेको छ । दैनिक एक हजारदेखि पन्ध्र सयसम्म सङ्क्रमित थपिदैछ । आइतबारसम्म देशभरि कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । ६४ हजार ६९ जना निको भएर घर फर्केका छन् । जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २७ हजार ९२० जना सङ्क्रमित छन् । जुन कुल सङ्क्रमितको करिब एक तिहाइ हो । जनसांख्यिक चाप र आवागमनमा खुकुलोले उपत्यकामा सङ्क्रमणको चाप बढेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम बताउनुहुन्छ ।
यसअघि उपत्यकाबाहिरबाट सङ्क्रमण भित्रिने जोखिममा काठमाडौं उपत्यका प्रबेशमा कडाइ गर्न सुझाब दिदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनहरुमा काठमाडौं नआउन आग्रह गरेको छ । मन्त्रालयको उक्त आग्रहले पनि काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमणको जोखिम दर्शाउँछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा हाल १२ हजार २५० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । आईतबारसम्म देशभर सक्रिय सङ्क्रमितको संख्या २२ हजार २५३ छ । उपत्यकामा रहेका सक्रिय सङ्क्रमित देशैभरको तुलनामा ६० प्रतिशतभन्दा बढी छन् ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा नौ हजार ८९२ जनामा सङ्क्रमण सक्रिय अवस्थामा छन् । काठमाडौंमा हालसम्म १२ हजार ६७७ जना सङ्क्रमित निको भइसकेका छन् । काठमाडौं जिल्लामा मात्रै १०३ जना सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमणबाट मृत्यु भएका देशैभरिको अनुपातमा उपत्यकामा करिब २२ प्रतिशत छन् ।
ललितपुरमा जम्मा दुई हजार ७९७ सङ्क्रमितमध्ये एक हजार २९० मा सङ्क्रमण सक्रिय अवस्थामा छन् । एक हजार ४८२ जना निको भएका छन् । २५ जनाको मृत्यु भएको छ । भक्तपुरमा भने दुई हजार ४५१ जना सङ्क्रमित भएका छन् । एक हजार ४८२ जना निको हुँदा एक हजार २९० जनामा अझै भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छन् । भक्तपुरमा कोभिड–१९ को सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ ।
उपत्यकामा सङ्क्रमण दर समेत अन्य भेगको अपेक्षा अत्याधिक बढी देखिएको छ । यसअघि प्रदेश २ मा सबैभन्दा बढी सङ्क्रमण दर रहेकोमा पछिल्लो समय उक्त स्थान काठमाडौं उपत्यकाले लिएको छ । उपत्यकामा प्रति सय जनाको परीक्षण गर्दा करिब १६ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?