logo
२०८१ बैशाख ७ शुक्रवार



कार्यान्वयनको प्रक्रियामा खुुला कारागार

राष्ट्रिय |


कार्यान्वयनको प्रक्रियामा खुुला कारागार


भउचप्रसाद यादव

काठमाडौँ, असोज ७ गते । नेपालको पहिलो पटक खुला कारागार निर्माण भएको छ । संवत् १९७१ बाट नेपालमा कारागारको इतिहास सुरु भएको हो । कारागारको इतिहासको १०६ वर्षमा पहिलो पटक खुला कारागारको अवधारणा कार्यान्वयनमा आएको हो । कोरोनाको उच्च जोखिम कारागारमा समेत रहेको बेला यो अवधारणा कार्यान्वयन भइरहेको छ ।
खुला कारागारसम्बन्धी ऐन र नियमावली बनेको आधा शताब्दीभन्दा बढी समयपछि बाँके जिल्लामा खुला कारागार निर्माण सम्पन्न भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । कारागार ऐन, २०१९ र नियमावली, २०२० मा खुला कारागारसम्बन्धी व्यवस्था गरिएको थियो ।
समाजसँग नजिक रहेर कैदीको आचरणमा सुधार ल्याउन तथा कैदबाट छुटेका व्यक्तिलाई समाजमा घुुलमिल गराउन समस्या नहोस् भन्ने उद्देश्यसहित बाँकेको गनापुर भन्ने ठाउँमा खुला कारागारको निर्माण सम्पन्न भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाँकेको गनापुर गाउँको छ बिघा क्षेत्रफलमा खुला कारागार निर्माण गरिएको हो । यो जग्गा नेपालगञ्ज बजारबाट दस किलोमिटरको दूरीमा विमानस्थलसँगै जोडिएको छ । सो क्षेत्रमा प्रशासनिक तथा सुरक्षाकर्मीका भवनसमेत निर्माण भइसकेका छन् ।
“फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ का केही दफामा समेत खुला कारागारसम्बन्धी व्यवस्था गरिएका छन्, ती व्यवस्था लागू गर्न अझै बाँकी छन्, राजपत्रमा सूचना प्रकाशित गरेर त्यसलाई लागू गर्नुपर्छ,” उहाँले भन्नुभयो, “राजपत्रमा प्रकाशित भएसँगै खुला कारागार सञ्चालनमा आउने छन् ।” खुला कारागारसम्बन्धी उक्त ऐनमा गरिएको व्यवस्था छिट्टै नै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले ३२ जना कैदीले आफ्नो परिवारसहित बस्ने गरी बाँकेमा खुला कारागार सञ्चालनका लागि भौतिक पूर्वाधार तयार भइसकेको जानकारी दिनुभयो ।
“अपार्टमेन्ट प्रणाली अनुसार हरेक कैदीलाई कोठा उपलब्ध गराइनेछ” उहाँले भन्नुभयो, “खुला कारागारका कैदीले कारागार प्रशासनको सम्पर्कमा रही दिनभरि कारागारबाहिर काम गर्न सक्दछ तर रात कारागारमा नै बिताउनुपर्छ ।” कारागारमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै ब्लक भए पनि पुरुष कैदीले श्रीमतीसँग र महिला कैदीले श्रीमान्सँग बाँकी कैद भुक्तान गर्न पाउनेछन् । खुला कारागार सञ्चालनका लागि निर्माणाधीन कार्यविधिले परिवारको परिभाषा र सङ्ख्याबारे तय गर्नेछ ।
अहिले खुला कारागार सञ्चालनसम्बन्धी कार्यविधि निर्माण भइरहेको र कार्यविधि निर्माणसँगै खुला कारागार सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यविधिको मस्यौदाको तयारी अन्तिम चरणमा छ, बढीमा तीन महिनाभित्र कार्यविधि तयार हुन्छ र मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुन्छ ।” उक्त कारागार सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्न दरबन्दी सिर्जनाको कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।
अदालतबाट भएको आदेशको आधारमा दुई तिहाइ कैद भुक्तान बिताइसकेका र अन्तिम छ महिना बाँकी रहेका कैदीलाई मात्र खुला कारागारमा राख्न मिल्ने सूचना अधिकारी सापकोटाले स्पष्ट पार्नुभयो । २०७७ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी यो कारागार निर्माणका लागि घिसिङ–विजय (जेभी) निर्माण कम्पनीसँग २०७३ असोजमा निर्माण सम्झौता भएको थियो ।

सङ्क्रमणको उच्च जोखिम
कारागारमा कोरोनाको उच्च जोखिम रहेको छ । सूचना अधिकारी सापकोटाका अनुसार अहिलेसम्म मुलुकको विभिन्न कारागारमा ७२० जना कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएका छन् जसमध्ये १२४ जना निको भइसकेका छन् । त्यसैगरी ५७५ जना उपचाररत छन् भने छ जनाको मृत्यु भएका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?