logo
२०८० चैत्र १६ शुक्रवार



चार दिनमा नौ हजार सङ्क्रमित निको भए, निको हुने दर बढ्दै

स्वास्थ्य |
राष्ट्रिय |


चार दिनमा नौ हजार  सङ्क्रमित निको भए, निको हुने दर बढ्दै


इश्वरचन्द्र झा
काठमाडौं, भदौ २४ गते । पछिल्लो चार दिनमा कोरोनाभाइरसका करिब नौ हजार सङ्क्रमित निको भई घर फर्केका छन् । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै दुई हजार २८७ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।
दैनिक सङ्क्रमित पुष्टि हुने संख्या औसतमा यथावत रहँदा सङ्क्रमित निको हुने दर भने बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार भदौ १९ गते शुक्रबारदेखि भदौ २३ गते पाँच दिनभित्र आठ हजार ७५७ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त अबधिभित्र पाँच हजार २६१ जना नयाँ सङ्क्रमित पहिचान गरिएका छन् ।
सङ्क्रमितको संख्या वृद्धि हुनु र थोरै संख्यामा मुक्त हुने हुँदा भदौ तेस्रो सातासम्म करिब ५२ प्रतिशतमा झरेको निको हुने दर भदौ अन्तिम साताको सुरुवातसम्म ६८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६८.४८ प्रतिशत सङ्क्रमित निको भएका छन् । ३०.८९ प्रतिशतमा सङ्क्रमण सक्रिय छ । शुन्य दशमलब ६४ प्रतिशत सङ्क्रमितले ज्यान गुमाएका छन् । तीन सय छ जना सङ्क्रमितको मृत्यु भएको छ ।

होम आइसोलेशन र संस्थागत् आइसोलेशनमा बसेपनि निको हुने संख्या उल्लेख्य देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
जनस्वास्थ्यविद् डा. रबिन्द्र पाण्डेले भने बिरामीको औसत उमेर समूह, दीर्घरोगी रहे नरहेको तत्वमा निको हुने दर निर्भर रहेको बताउनुहुन्छ । नेपालमा हालसम्म ४८ हजार १३८ जना सङ्क्रमित भएका छन् । जसमध्ये करिब ३७ हजार सक्रिय उमेर समूह (२१ वर्षदेखि ५० वर्ष)का छन् ।
यद्दपी नियमित चिकित्सकीय परामर्श र आइसीयू, अक्सिजनको उपलब्धताले मृत्यु दर घटाउनुका साथै थोरै भएपनि निको हुने दर प्रभाबित हुने उहाँको तर्क छ । तर मन्त्रालयका प्रवक्ता डा. गौतमले भने अधिकांश होम आइसोलेशन र संस्थागत् आइसोलेशनमा बसेर निको भएकोले उपचार पद्धतीले फरक नपारेको दाबी गर्नुभयो । उहाँ भन्नुहुन्छ, “कोभिड–१९ मा डेडिकेटेड कुनै उपचार छैन्, अधिकांश घरमै वा संस्थागत् आइसोलेशनमा स्वतः कोरोनामुक्त भएका छन् ।”
तर संस्थागत् आइसोलेशन सेन्टरमा बस्दाबस्दै सघन उपचार नपाएर प्रदेश २ मा कतिपय बिरामीले ज्यान गुमाएका छन् । जनस्वास्थ्यविद् डा. पाण्डेले एकजनाको ज्यान पनि महत्वपूर्ण हुने हुनाले आइसोलेशन सेन्टर र अस्पताल दुबैमा नियमित चिकित्सकीय परामर्श, अक्सिजन, आईसीयू र भेन्टिलेटरको सुविधा हुनुपर्ने तर्क गर्नुहुन्छ ।
सङ्क्रमितले आइसोलेशन सेन्टरमा चिकित्सकीय सुबिधा समयमै उपलब्ध नभएको गुनासो गर्दै आएका छन् । हाल १४ हजार ८६८ जना आइसोलेशनमा छन् । जसमध्ये छ हजार १५ जना होम आइसोलेशनमा छन् । काठमाडौं उपत्यकामा संस्थागत् आइसोलेशन(अस्पताल)मा बस्ने बढी छन् ।
सङ्क्रमण नियन्त्रणमा आइसकेको छैन् । निको हुने दर बढेपनि सङ्क्रमण अस्थिर देखिएको छ । जसले गर्दा निको हुने दर बढेपनि वृद्ध सङ्क्रमित बढेसँगै मृत्युदर बढ्न सक्ने जनस्वास्थ्यविद् डा. पाण्डेले तर्क गर्नुहुन्छ । यस्तो अवस्थामा देशैभरिको अस्पताल र आइसोलेशन सेन्टरमा चिकित्सकीय सुविधा र परामर्श महत्वपूर्ण हुन जाने उहाँले आवश्यकता औंल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?