logo
२०८१ बैशाख ७ शुक्रवार



‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज राति उल्का वर्षा   

बिज्ञान |


‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज राति उल्का वर्षा   


काठमाडौँ, साउन २८ गते ।‘ स्विफ्ट टटल’ नामक पुच्छ्रेताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको पनि उहाँले सुनाउनुभयो ।    
    
‘स्विफ्ट टटल’ ले सूर्यको एकपटक परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । ‘स्विफ्ट टटल’ अहिले पृथ्वीको नजिक छैन । तर, यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्छ । “जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेतारा उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसैलाई उल्का वर्षा भनिन्छ, उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ”, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको नेपाल प्रतिनिधिसमेत रहनुभएका अध्यक्ष भट्टराईले भन्नुभयो ।    
    
उल्का वर्षा स्थानीय समयअनुसार आज राति १०ः३० देखि बिहीबार बिहान ५ बजेसम्म देख्न सकिने जनाइएको छ । अत्यधिक मात्रामा भने बिहीबार बिहान ३ देखि ४ बजेसम्म देख्न सकिनेछ । यस वर्ष त्यसबेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाको गति प्रतिसेकेन्ड ६० किमीसम्म हुने भएकाले करीब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।    
    
यस वर्ष जुलाई १७ देखि अगस्ट २६ तारिखसम्म सक्रिय उल्का वर्षा हुनेछ । अत्यधिक उल्का वर्षा हुने अगस्ट १२ रातिदेखि अगस्ट १३ बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन् । यसका लागि आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहनुपर्छ ।    
    
के हो स्विफ्ट टटल?    
    
स्विफ्ट टटल सन् १८६२ जुलाईमा अमेरिकन खगोलविद्द्वय लेविस स्विफ्ट (१८२०–१९१३) र होरस टटल (१८३८–१९३३) द्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो । सन् १९९२ म सूर्यको नजिक आएको यो पुच्छ्रेतारा अब सन् २१२५ मा मात्र नजिक आउने सोसाइटीले जनाएको छ । हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन । यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई उल्का वर्षा भनिएको हो ।    
–––  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?