logo
२०८० चैत्र १६ शुक्रवार



कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

मुख्य समाचार |


कान्ति बाल अस्पताल अब अध्ययन संस्थान


सरोज ढुुङ्गेल

काठमाडौँ, साउन ५ गते । राजधानीको कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गरिने भएको छ । बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने पैँतीस वर्ष अघिको योजनाले गति लिएपछि अस्पताल अध्ययन संस्थान बन्ने देखिएको हो । बाल स्वास्थ्य अध्ययन संस्थानका रूपमा विकास गर्न सरकारले नीति तथा कार्यक्रममा राखेपछि अध्ययन संस्थान बन्ने बाटो खुलेको हो । संस्थानलाई बाल रोगका विभिन्न विधामा उच्च शिक्षा अध्ययन गर्ने उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न अवधारणा बनाई मन्त्रालयमा पेस गरिएको छ ।
यस अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा. प्रकाश जोशीले बाल अध्ययन स्वास्थ्य संस्थानमा विकास गर्ने लक्ष्यअनुरूप आउँदो वर्षदेखि एमडी अध्ययन सुरु गर्ने बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष १६ जनालाई एमडी पेडियाट्रिक्स अध्यापन गराइने योजना छ ।
अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिनुभयो । सरकारले २०४२ सालमा बाल स्वास्थ्य अध्ययन संस्थानका लागि मुआब्जा दिई जग्गा अधिग्रहण गरेको थियो । हाल ३५ रोपनी जग्गा बाल स्वास्थ्य अध्ययन संस्थानका लागि छुट्ट्याइएको छ ।
अस्पतालका अनुसार २०५२ सालमा अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्न विभिन्न समिति बनाई प्रतिवेदन तयार भएको थियो तर कार्यान्वयन भएन । डा. पौडेलले भन्नुभयो, “बाल स्वास्थ्य अध्ययन संस्थान बन्ने क्रम अगाडि बढ्यो । ” अस्पतालका सर्जरी विभाग प्रमुख डा. मुकुन्द बस्नेतले अध्ययन संस्थान बनेपछि कान्ति अस्पतालको हालको चाप व्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।
अस्पतालमा हाल बाल चिकित्सा, बाल शल्य चिकित्सा, नवजात शिशु सेवा, ईएनटी, अर्थोपेडिक सेवा, डर्माटोलोजी, दन्त चिकित्सा, एनेस्थेसिया, रेडियोलोजी, अन्कोलोजी, फिजियोथेरापी, प्याथोलोजी र नर्सिङ सेवा उपलब्ध छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?