logo
२०८० चैत्र १६ शुक्रवार



निजी क्षेत्रका नर्स र चिकित्सकले तलब नपाएको गुनासो

फिचर |


निजी क्षेत्रका नर्स र चिकित्सकले तलब नपाएको गुनासो


नवराज कट्टेल
विराटनगर, असार २२ गते । आकर्षक मानिएको नर्सिङ तथा चिकित्सक पेशामा संलग्नहरूको निजी अस्पताल, मेडिकल कलेज, नर्सिङ तथा स्वास्थ्य संस्थाहरूले सेवा सुविधा कटौती गरेपछि उनीहरूको दैनिकी सङ्कटमा पर्न थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण देखाउँदै निजी अस्पताल, मेडिकल तथा नर्सिङ कलेजहरू र स्वास्थ्यसँग सम्वद्ध संस्थाहरूले चिकित्सक तथा नर्सहरूको रोजगारी खोसेको आरोप चिकित्सक सङ्घ र नर्सिङ सङ्घले लगाएका हुन् ।

चिकित्सक सङ्घ कोशी र नर्सिङ सङ्घ मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना सङ्क्रमणको अवस्थालाई देखाउँदै चिकित्सक तथा नर्सहरूको सेवा सुविधा काटिएकोमा विरोध जनाएका छन् । निजी स्वास्थ्य संस्थाहरूले दबाबमा बिदामा राख्ने, खाईपाई आएको सेवा सुविधा कटौती गर्नेदेखि कामबाट समेत निकाल्न थालेको चिकित्सक सङ्घ कोशीका अध्यक्ष फरवार्ड सिलवालले बताउनुभयो । 

सिलवालका अनुसार प्रदेश १ का १४ जिल्लामा सरकारी तथा निजी अस्पतालहरूमा तीन हजारको हाराहारीमा चिकित्सक कार्यरत रहेका छन् । सरकारी अस्पतालमा ३०० सयको हाराहारीमा चिकित्सकहरू कार्यरत रहेका छन् । त्यसबाहेक निजी अस्पताल तथा मेडिकल र नर्सिङ कलेजमा रोजगारी गरिरहेकाहरूको अवस्था नाजुक बन्दैगएको अध्यक्ष सिलवालको दाबी छ ।

घरभाडा बुझाउन नसकेर घरबाट चिकित्सक निस्कनुपर्ने दिन आयो, अध्यक्ष सिलवालले भन्नुभयो–कतिपय अस्पतालले फागुनदेखिकै तलब दिइरहेका छैनन् । उहाँका अनुसार चैतमा २५ प्रतिशत सेवा सुविधा कटौती गरियो, वैशाखमा ५० प्रतिशत तर जेठमा लागेपछि कतिपय अस्पतालले तलबसमेत नदिएका हुन् ।

वैशाखदेखि अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण सुरु भइसकेको सङ्घका अध्यक्ष सिलवालको दाबी छ । तर, अस्पताल सञ्चालकहरूले भने लकडाउनका कारण बिरामी अस्पताल नआएको कारण देखाउँदै सेवा सुविधा कटौतीदेखि तलब रोक्ने कामसम्म गर्दैआएका हुन् ।

प्रदेश १ मा नर्सिङ पेसामा १० हजार नर्सिङहरू रोजगारीमा संलग्न रहेका छन् । यीमध्ये २५ प्रतिशत नर्सिङ सरकारको निकायमा कार्यरत रहेको नर्सिङ सङ्घ मोरङकी अध्यक्ष कविता अधिकारीले जानकारी दिनुभयो । अन्य जिल्लामा नर्सिङ नभएका कारण मोरङले नै प्रदेश १ का १४ जिल्लाको संयोजन गरिरहेकोले ७५ प्रतिशत नर्सिङहरूको अवस्था नाजुक देखिएको अध्यक्ष अधिकारीको भनाइ छ ।

अस्पतालमा मात्रै नभई नर्सिङ कलेज तथा स्वास्थ्य संस्थाहरूमा अध्यापन गराउँदै आएका नर्सहरूलाई समेत दबाबमा बिदा बस्न लगाउनेदेखि, सामान्य अवस्थामा खाईपाई आएको तलब कट्टी गर्नेसम्मको काम हुँदै आएकोले त्यसलाई तत्काल रोक्न माग गरिएको छ ।
दबाबमा बिदा बसाएर तलब कटौती गर्ने र खाईपाई आएको सेवा सुविधाबाट कुनैपनि बहानामा वन्चित गर्ने कार्य तत्काल रोक्न माग गर्दछौँ, पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले भननुभयो–मेडिकल तथा नर्सिङ कलेजहरूले सुरुमै विद्यार्थीसँग शुल्क लिइसकेका छन्, अहिले कोरोनाको प्रभाव देखाउन पाइँदैन ।

आकर्षक पेसा र राम्रो सेवा सुविधा हुन्छ भनेर घरभाडामा लगाएका घरधनीले समेत अहिले धमाधम घर खाली गर्न भन्न थालेको दुवै सङ्घका पदाधिकारीको भनाइ छ । घर भाडा बुझाउन सक्ने अवस्था चिकित्सक र नर्सहरूमा छैन, नर्सिङ सङ्घ सचिव मेनका भण्डारीले भन्नुभयो–आन्दोलन गर्नसक्ने अवस्था नभएको बेला हेपिएका छौँ ।

चिकित्सक तथा नर्सिङ सङ्घले कोरोना सङ्क्रमणका कारण अहिले आन्दोलनमा उत्रन सक्ने अवस्था नरहेको बताएका छन् । जटिल अवस्थामा आन्दोलन गरेर हिँड्ने अवस्था नभएपछि सामान्य स्थिति भएपछि कुनै न कुनै बाध्यकारी अवस्थाको सिर्जना गर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?