logo
२०८० चैत्र १६ शुक्रवार



आवधिक योजना बिना नै स्थानीय बजेट

मुख्य समाचार |


आवधिक योजना बिना नै स्थानीय बजेट


नगेन्द्र सापकोटा

काठमाडौंँ, असार २१ गते । अधिकांश स्थानीय तहले आवधिक योजना बिना नै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेका छन् । योजनाबद्ध विकास गर्न आवधिक योजना आवश्यक हुन्छ भने कानुुनी तवरले पनि आवधिक योजना ल्याउनैपर्ने बाध्यता छ ।
प्रभावकारी विकास गर्न स्थानीय तहका जनप्रतिनिधिले एक वर्षभित्र बनाउनुपर्ने आवधिक योजना तीन वर्ष बित्न लाग्दा पनि ८० प्रतिशत स्थानीय तहले अझै बनाउन सकेका छैनन् । कुल ७५३ स्थानीय तहमध्ये करिब २० प्रतिशत अर्थात् १५० वटा स्थानीय तहले मात्र आवधिक योजना बनाएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको सम्भावनालाई समृृद्धिमा रूपान्तरण गर्न आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा स्थानीय स्तरको विकास गर्न आवधिक, वार्षिक, रणनीतिगत, विषयगत, क्षेत्रगत, मध्यकालीन र दीर्घकालीन विकासका योजना बनाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।
स्थानीय शासन विज्ञ रमेशकुमार अधिकारीले स्थानीय तहभित्र भएका सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न पाँच वर्षभित्र नगरपालिका र गाउँपालिकाको निश्चित विकासका पूर्वाधार तयार गर्नेगरी आवधिक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले पहिलो वर्षमै आवधिक योजना बनाई त्यसलाई वार्षिक योजनाले पछ्याउनुपर्ने हो त्यसो हुन सकेन भन्नुभयो ।
उहाँका अनुसार आफ्नो गाउँपालिका र नगरपालिकाभित्र कुन स्थानमा विद्यालय, कलेज, खेल मैदान, बाटो, पुल, खानेपानी, पर्यटकीय, सांस्कृतिक क्षेत्र लगायतका भौतिक संरचना निर्माण गर्नुपर्ने हो, त्यसका लागि पहिलो वर्षदेखि नै आवधिक योजना निर्माण गर्नुपथ्र्यो ।
वार्षिक योजनाले अल्पकालीन योजना र लक्ष्य पूरा गरे पनि आवधिक योजनाले स्थानीय तहको दीर्घकालीन योजना र लक्ष्य सार्थक बनाउँछ । विज्ञ अधिकारीका अनुसार निर्वाचित जनप्रतिनिधिले विकास गर्न अनिवार्य रूपमा आवधिक योजना निर्माण गर्नुपर्ने हुन्छ ।
कतिपय नगरपालिकाले आवधिक योजनाको विकल्पमा एकीकृत नगर विकास योजना बनाएका छन् भने कतिपयले आवधिक योजनाको विकल्पमा गुरुयोजना बनाएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले आर्थिक विकास, गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, जनताको जीवन स्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग हुने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने गरी योजना बनाउनुपर्ने उल्लेख छ ।
त्यस्तै योजनाको सम्भाव्यता अध्ययनका आधारमा स्रोत साधनको पूर्वानुमान, आयोजनाको प्राथमिकीकरण, योजना कार्यान्वयन तालिका, अनुगमन तथा मूल्याङ्कन योजनासमेत
तयार गर्नुपर्नेछ ।
स्थानीय तहले योजना बनाउँदा अल्प, मध्य र दीर्घकालीन योजनाको सूचीसमेत तयारी गरी आवधिक योजना बनाउनुपर्ने हुन्छ । आवधिक योजनाले स्थानीय र राष्ट्रिय प्राथमिकताबीच तालमेल हुने, वार्षिक विकास, कार्यक्रम र बजेट दीर्घकालीन सोचबाट अभिपे्ररित भई तर्जुमा हुने तथा स्थानीय तहभित्र सञ्चालित केन्द्रीय आयोजना प्राथमिकतामा पर्ने भएकाले आवधिक योजना निर्माण गर्नुपर्छ ।
यस अवधिमा कतिपय स्थानीय तहका जनप्रतिनिधिले आवधिक योजना बनाएको दाबी गरेका छन् । सबै स्थानीय तहले आवधिक योजनाकै नाममा योजना नबनाए पनि कतिपयले गुरुयोजना त कतिपयले रणनीतिगत योजना निर्माण गरेको दाबी स्थानीय जनप्रतिनिधिको छ ।
नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले एकीकृत नगर विकास योजना, सहरी विकास योजना, गुरुयोजना र रणनीतिगत लगायतका नाममा स्थानीय तहले योजना बनाएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको आर्थिक वृद्धि र सामाजिक रूपान्तरणको आधार बनाई वार्षिक बजेट र कार्यक्रमलाई निर्देशन गर्ने, सेवा र सुविधा सर्वसुलभ र गुणस्तरीय बनाउन आवधिक योजना आवश्यक महसुुस गरी स्थानीय तहले आवधिक योजना बनाउन सुरु गरेका छन् ।
कतिपय स्थानीय तहमा भने कर्मचारीको अभावमा वार्षिक योजना नै बनाउन समस्या भएकाले सबै स्थानीय तहले आवधिक योजना बनाउन सम्भव नभएको जनप्रतिनिधिको भनाइ छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?