logo
२०७७ श्रावण २५ आईतवार

प्रधानमन्त्रीको मन्त्रीहरूसँगको बैठक सम्पन्न, वर्तमान परिस्थितिबारे जानकारी

मुख्य समाचार |


2020-07-04-17842


लक्की चौधरी

काठमाडौँ, असार २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलका मन्त्री तथा राज्यमन्त्रीहरूसँग गर्नुभएको बैठक सम्पन्न भएको छ । शनिबार साँझ बालुवाटारमा भएको करिब एक घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी गराउनुभएको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीज्यूले बोलाउनुभयाे, हामी सबै गयौँ तर मन्त्रीपरिषदको बैठक थिएन । अनौपचारिक बैठक मात्र थियो” मन्त्री त्रिपाठीले भन्नुभयो । पार्टीको आन्तरिक विवादका कारण केही समस्या उत्पन्न भएको भन्दै प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिस्थितिबारेमा मन्त्रीहरूलाई जानकारी गराउनुभएको मन्त्री त्रिपाठीले बताउनुभयो ।

याे पनि पढ्नुहाेस्

 प्रधानमन्त्री ओलीले बोलाउनु भएपछि मन्त्रीहरू बालुवाटारमा

 “देश कोरोना कहरमा छ, मुलुकको अर्थतन्त्र समस्यामा छ, यस्तोबेलामा पार्टीको आन्तरिक समस्या चुलिएको छ” प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराउनुभएको त्रिपाठीले बताउनुभयो । यस सङ्कटपूर्ण अवस्था सल्टाउन आफू प्रयासरत रहेको र सबैलाई आफ्नो ठाउँबाट प्रयास गर्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको त्रिपाठीले जानकारी दिनुभयो ।

 “राष्ट्रपतिसँगको छलफलबारेमा मिडियामा ठूलो समाचार आयो तर विषय सामान्य हो” भन्नुहुँदै प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै मन्त्री त्रिपाठीले थप्नुभयो, “राष्ट्रपतिसँग सामान्य भेटघाट हो, राजनीतिक अवस्थाबारेमा जानकारी गराउने काम मात्र भयो, तर मिडियामा के के न हुनलाग्यो भन्ने ढङ्गले समाचार आयो ।”

 राष्ट्रपतिसँग भेटघाटलगत्तै बालुवाटारमा सबै मन्त्रीहरूलाई प्रधानमन्त्रीले आमन्त्रण गर्नुभएपछि ठूलै निर्णय हुनलागेको अडकल बाहिर गरिएको थियो । प्रधानमन्त्री ओली शीतल निवासमा पुग्नुभएका बेला उता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका केही नेताहरूको बैठक खुमलटारमा भएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?