logo
२०८१ बैशाख ८ शनिवार



धार्के–सीतापाइला सडक : धमाधम कालोपत्रे गरिँदै

मुख्य समाचार |


धार्के–सीतापाइला सडक :  धमाधम कालोपत्रे गरिँदै


भउचप्रसाद यादव

काठमाडौँ, जेठ २५ गते । मुलुकको अन्य भूभागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको निर्माण सुरु भएको छ ।
धार्के–कलङ्की सडकखण्डमा राजधानी भित्रिने र बाहिरिने सवारी साधनको चापले वर्षांैदेखि अत्यधिक ट्राफिक जामको सास्ती हुने गरेकोमा धार्के–सीतापाइला खण्ड निर्माणसँगै राजधानी भित्रिने र बाहिरिने सवारी साधनका लागि नागढुङ्गाको जाम छल्ने एउटा उपयुक्त विकल्प तयार हुने विश्वास गरिएको छ ।
काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले पृथ्वी राजमार्गअन्तर्गत धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्ड कालोपत्रेको काम सुरु गरिएको जानकारी बताउनुभयो ।
उहाँका अनुसार यसअघि नै यस सडकखण्डको ट्र्याक खोल्नुका साथै दुवैतिर सडक विस्तार गर्ने, फराकिलो गर्ने तथा ढुङ्गाको पर्खाल लगाउने, कल्भर्टसहित आवश्यक पूर्वाधार तयार भइसकेको छ । यो सडकखण्ड निर्माणका लागि काठमाडौँ सडक डिभिजन कार्यालय र भरतपुर सडक डिभिजन कार्यालयबाट काम भइरहेको छ । काठमाडौँतर्फको काम काठमाडौँ सडक डिभिजन कार्यालयबाट र धादिङतर्फको काम भरतपुर सडक डिभिजन कार्यालयबाट भइरहेको छ । यो सडकखण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ)देखि रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्के पुग्नेछ । सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यस सडकखण्डको चौडाइ १२ मिटर हुने डिभिजन कार्यालयले जनाएको छ । यो सडकखण्ड दुई लेनको हुनेछ ।
सीतापाइला (चक्रपथ)देखि ठूलोखोला भन्ने ठाउँसम्म कुल १० किलोमिटर काठमाडौँ सडक डिभिजन कार्यालयको मातहतमा र ठूलो खोलादेखि धार्केसम्मको १४ किलोमिटरको निर्माण भरतपुर सडक डिभिजन कार्यालयको मातहतमा भइरहेको डिभिजन प्रमुख नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार नागार्जुन÷सीएम÷जय बाबा भन्ने निर्माण कम्पनीले यो सडकखण्ड निर्माणको जिम्मेवारी पाएको छ ।
धार्केदेखि कलङ्कीसम्मको दूरी २४ किलोमिटर छ भने त्यसैगरी धार्केदेखि सीतापाइलासम्मको दूरी पनि २४ किलोमिटर नै छ । यो सडक दुई लेनको भएपछि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौँ आउन दुईवटा विकल्प तयार हुनेछ । धार्के–सीतापाइला खण्डको निर्माण सम्पन्न भएसँगै नागढुङ्गामा सानो समस्या आए पनि, गाडी बिग्रे पनि घण्टौँ रोकिनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको डिभिजन प्रमुख नेपालीले बताउनुभयो ।
कुल १५ करोड रुपियाँको लागतमा यो सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुवेत सरकारले तयार पारेको हो । सडक निर्माणको सम्पूर्ण लागत खर्च दुई अर्ब ५० करोड रुपियाँ हुने प्रतिवेदनमा उल्लेख छ ।
सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२०२२) अन्तर्गत मुलुकको पूर्वबाट पश्चिम सिमाना छिचोल्ने गरी मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गको निर्माण गरिरहेको छ । यो २० वर्षे दीर्घकालीन सडक गुरुयोजनाअनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य राज्यले लिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?