logo
२०७७ असार ३१ बुधवार

व्यवस्थित बन्दाबन्दीको प्रतीक्षामा व्यवसायी

मुख्य समाचार |


2020-06-07-15909


गोपालचन्द्र सुवेदी

काठमाडौँ, जेठ २५ गते । कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षका लागि जारी बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यमीहरूले यसबाट निकास खोजिरहेका छन् ।
बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा अर्थतन्त्र नै जोखिममा पर्ने, व्यवसायी टाट पल्टने र सर्वसाधारणलाई हातमुख जोड्नसमेत मुस्किल पर्ने खतरा भएको भन्दै उद्यमी व्यवसायी सरकारबाट बन्दाबन्दीको स्वरूप तत्काल पुनर्विचार गर्ने अपेक्षामा छन् । सरकारले यही जेठ ३२ सम्म बन्दाबन्दीलाई निरन्तरता दिएको छ ।
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुनेगरी बन्दाबन्दीको शैली परिवर्तन गर्न यसअघि नै सरकारलाई औपचारिक आग्रह गरिसकेको छ । कतिपय स्थानमा अत्यावश्यकबाहेकका पसल व्यवसाय पनि खुल्न थालिसकेका छन् । कोरोना जोखिममा बच्न आफैँ सुरक्षाको विधि अपनाएर व्यवसाय सञ्चालन गर्ने मनस्थितिमा व्यवसायी पुगिसकेको पछिल्ला घटनाक्रमले देखाउँछ ।
नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्माका अनुसार अब बन्दाबन्दी भन्दै सबै चिज थाती राख्ने अवस्था छैन । “निश्चित मापदण्ड अपनाएर सुरक्षाका साथ अब अर्थतन्त्रलाई गति दिनुपर्छ,” उहाँले भन्नुभयो, “यसका लागि सरकारले स्तरीय र उचित मापदण्ड निर्धारण गरेर कम जोखिमयुक्त क्षेत्रलाई सुचारु हुने वातावरण बनाउनैपर्छ । ”
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि यसमा राजी हुनुहुन्छ । उहाँले थप्नुभयो, “पूरै मुलुकलाई अब बन्द अवस्थामा राख्नुहुँदैन, सङ्क्रमण बढी देखिएका भौगोलिक क्षेत्रमा कडाइ गर्ने र अन्य क्षेत्रमा अवस्था सुरक्षित तरिकाले सहज बनाउनुपर्छ । ” नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि बन्दाबन्दीले समस्या स्थगन मात्र गर्ने तर पूरै निदान नगर्ने प्रमाणित भएको बताउनुहुन्छ । कोरोनाबाट जोगिन खोज्दा भोकमरीले अझ धेरै मर्नुपर्ने अवस्था आउन लाग्यो,” उहाँले भन्नुभयो, “लाखौँलाई बेरोजगार बनाउने, उद्योग व्यवसाय थला पार्ने र न्यूनतम बाँच्ने आधारसमेत कमजोर बनाउने लकडाउनको स्वरूप परिवर्तन गर्नैपर्छ । ”
शर्माले आममानिसलाई घरबाहिर रहँदा अनिवार्य मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्नेमा अझै अभ्यस्त बनाउनुपर्ने आवश्यक रहेको औँल्याउनुभयो । उहाँले बन्दाबन्दीको निरन्तरताको सट्टा कोरोना परीक्षणको तीव्रता अपरिहार्य रहेको औँल्याउनुभयो ।
“कर्मचारी तथा श्रमिकलाई स्वास्थ्य सुरक्षाका लागि पीसीआर परीक्षण गराएर कार्य क्षेत्रमा ल्याउनुपर्ने हुन्छ,” उहाँ भन्नुहुन्छ, “तर परीक्षणको अहिलेको गति र पूर्वाधारले त्यो असम्भवप्रायः जस्तै छ, यसको समाधान सरकारले खोज्नैपर्छ । ”
सरकारले गत महिना उद्योग सञ्चालनका लागि निश्चित मापदण्ड निर्धारण गरेको थियो तर त्यस्ता मापदण्ड कार्यान्वयमा कठिनाइ आएपछि धेरैले उद्योग सञ्चालन गर्न सकेनन् । खासगरी कर्मचारी र श्रमिकलाई आवासीय सुविधा दिन उनीहरूलाई समस्या परेको थियो । बन्द होटलले असहयोग गरेको कतिपय उद्यमीको अनुभव छ । एक जनाका लागि दैनिक न्यूनतम दुई हजार रुपियाँ थप लगानी गर्नुपर्ने अवस्थाले उद्यमी समस्यामा परेका थिए ।
पछिल्लो समय छिमेकी भारतलगायत विभिन्न मुलुकले बन्दाबन्दीको तरिकामा परिवर्तन गर्दै आर्थिक गतिविधि चलायमान बनाउन थालेका छन् । करिब छ दर्जन मुलुककले अन्तर्राष्ट्रिय उडानसमेत सुचारु गरिसकेका छन् । चेम्बरले उद्योग व्यवसाय सहज बनाउन केही तरिका सुझाएको छ । जसअनुसार पसल व्यवसाय बिहान १०ः०० देखि साँझ ५ः३० बजेसम्म खोल्ने, जिल्लाभित्र यातायात सुरु गर्नेलगायतका सुझाव छ ।
बन्दाबन्दीको यो अवधिले व्यवसायीमा नियमित काममा फर्कने बाध्यता र मनोबल दुवै बढेको छ,” श्रेष्ठ भन्नुहुन्छ, “सिमाना, हवाई सेवा, सिनेमा मनोरञ्जन स्थल, धर्म स्थल, विद्यालयजस्ता क्षेत्रलाई बन्द राखेर अरूलाई विधिसम्मत तरिकाले खोल्नुपर्छ । ” सङ्क्रमण उच्च देखिएका जिल्लाहरूमा भने पूर्ण लकडाउनमै रहनुपर्ने उहाँको सुझाव छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?