logo
२०८० चैत्र १६ शुक्रवार



धुलिखेलका मेयसँग विद्यार्थीः स्कुल बसदेखी गुणस्तरीय शिक्षाको माग

शिक्षा |


धुलिखेलका मेयसँग विद्यार्थीः स्कुल बसदेखी गुणस्तरीय शिक्षाको माग


मधुसुधन तिमल्सिना

काभ्रे, माघ ८ गते । विद्यालय आउने सवारीसाधन समय मै नपाउँदा कयौदिन पहिलो घण्टी छुट्छ । यसले हाम्रो पढाईमा निकै असर परेकाले मयेर ज्यू हाम्रा लागि स्कुल बसको व्यवस्थापन गरिदिनुहुन्छ की ?

धुलिखेल नगरपालिका वडा न ७ मा रहेको सञ्जिवनी नमुना माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा कृपा राउतले धुलिखेल नगरपालिकाका मेयर अशेककुमार व्याञ्जूलाई सोध्नुभएको प्रश्न हो । उहाँले थप्नुभयो– बनेपाबाट धुलिखेल पढ्न आउनुपर्दा स्कुल बस नहुँदा निकै दुःख पाएका छौँ । गुणस्तरीय पढाईका लागि हामी धुलिखेल आउँछौँ तर आउने जाने सवारी साधन नहुँदा निकै समस्यामा परेका छौँ । उहाँले तत्काल स्कुल बस व्यवस्थापन गरिदिए बनेपाबाट आउने करिब २ सय भन्दा बढी विद्यार्थी लाभान्वित हुने थिए भन्नुभयो ।

कक्षा १० मा अध्यनरत छात्रा प्रशंसा श्रेष्ठले धुलिखेलका सबै विद्यार्थीलाई बालमैत्री पढ्ने वातावरण कहिले सम्म गर्नुहुन्छ मेयर ज्यू भनेर प्रश्न गर्नुभयो । कक्षा ८ की छात्रा मुस्कान प्रर्विनले म्युजिक र डान्समा आफ्नो रुचि भएपनि प्रशिक्षण दिने सर मिस नहुँदा सिक्न नपाएको बताउनुभयो । विद्यार्थी श्रीराम न्यौपानेले स्थानीय तहले बनाएको प्रश्नपत्रमा त्रुटी नै त्रुटी रहेको जानकारी गराउनुभयो । रिया फुयालले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि धुलिखेल नगरपालिकाले के गरिरहेको छ भन्ने प्रश्न गर्नुभयो । त्यस्तै अन्य विद्यार्थीहरुले खेलकुद मैदान नभएको, गुणस्तर बृद्धि गर्न अतिरिक्त क्रियाकलपा आवश्य रहेको जस्ता प्रश्न मेयर व्याञ्जूलाई राखेका थिए ।

विद्यार्थीका प्रश्न ध्यानपूर्वक सुन्नुभएको मेयर ब्याञ्जूले नगरले शिक्षा क्षेत्रमा गरिरहेका कामको जानकारी गराउनुभएको थियो । हामीले विद्यार्थीका लागि चाहिने शिक्षाको नीति नियम अभिभावक, शिक्षक र विशेषज्ञलाई बोलाएर बनाउने त गर्छौ तर जुन समस्या तपाई (विद्यार्थी) हरुको छ त्यो समेट्न सकेका थिएनौँ । यसका लागि पनि हामीले मेयरसँग विद्यार्थी कार्यक्रम सुरुवात गरेका हौँ, भन्नुभयो । उहाँले धुलिखेल नगरपालिकामा रहेका ११ वटै माध्यमिक विद्यालयमा मेयरसँग विद्यार्थी कार्यक्रम गर्ने जानकारी गराउनुभयो ।

उहाँले शिक्षा क्षेत्रका लागि धुलिखेल नगरपालिकाले आन्तरिक बजेट समेत राखेर काम गरिरहेको छ भन्नुभयो । उहाँले गणित, बिज्ञान र अग्रेजी शिक्षकलाई प्राथकिमता दिएर तालिम लगायत अन्य भेटघाटलाई प्राथमिकता दिएको, मासिक रुपमा प्रधानध्यापकको बैठक राख्ने गरेको, बहुशिक्षा बहुशिक्षण कक्षा सुरु गरेको बताउनुभयो । उहाँले सञ्जिवनी नमुना विद्यालय जस्तै अन्यलाई पनि यही सरह बनाउने योजनामा नगर लागेको बताउँदै धुलिखेलका नागरिकलाई स्नातकसम्म निःशुल्क पढाउने बारेमा समेत छलफल गरिरहेको बताउनुभयो ।

नगर प्रमुख व्याञ्जूले एक महिना भित्रमा नृत्य, संगीत, खेलकुद, साहित्य लगायतका विद्यार्थीलाई प्रशिक्षण दिन प्रशिक्षक नियुती गर्ने र धुलिखेल नगरका सबै विद्यालयमा त्यो सुविधा उपलब्ध गराउन खोजेको जानकारी गराउनुभयो । उहाँले स्कुल बसका लागि पहल गर्ने, बालमैत्री विद्यालय बनाउने, त्यसका लागि नगर सन् २०२० भित्रमा बालमैत्री नगर घोषणा गर्ने, सामुदायिक विद्यालयको गुणस्तरियता बढाउन केन्द्रीत हुने, खेलकुद मैदान बनाउन सहयोग गर्ने तथा अन्य खेलकुद सामग्री नगरले व्यवस्थापन गर्ने छ भन्नुभयो ।

जिल्ला कै नमुना विद्यालय सञ्जिवनीमा ८९२ विद्यार्थी अध्ययनरत रहेको प्रधानध्यापक लोकेन्द्र दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विद्यालयमा कक्षा नौ देखी सिभिल इन्जिनियरिन पढाई हुने गरेको छ । भने कक्षा १–८ सम्म अग्रेजी माध्यममा र कक्षा नौ देखी माथि अग्रेजी र नेपाली माध्यममा पढाई हुने गरेको छ ।

धुलिखेल नगरपालिका शिक्षा शाखाका प्रमुख माधव शर्माले धुलिखेल नगरपालिकाका ११ वटै माध्यमिक विद्यालयमा मेयर सँग विद्यार्थी कार्यक्रम सञ्चालन यस आर्थिक बर्षमा सक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?