logo
२०८० चैत्र १६ शुक्रवार



बेपत्ता छोरा भेटिए: बाह्र वर्षपछि फर्कियो खुशी

पढ्नै पर्ने |
समाज |


बेपत्ता छोरा भेटिए: बाह्र वर्षपछि फर्कियो खुशी


लक्ष्मण पौडेल

भैरहवा, माघ ८ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमर बहादुर सुनारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र सात वर्षिय छोरालाई लिएर रोजगारीका लागि भारत पुग्नुभयो । २०६४ सालमा भारतको लुधियाना जानुभएका सुनारसँग साथैमा रहेका छोरा सन्तोष कुमार सुनार त्यहींबाट हराए ।

छोरा हराएपछि सुनार परिवारमा चिन्ता थपियो, एकातर्फ उनीहरुको आर्थिक अवस्था कमजोर थियो भने अर्कोतर्फ सन्तान हराएको पीडा । सन्तान भेटिने आशामा सुनार दम्पत्ती भारतमै बसिरहनुभयो । सात वर्षिय बालकको खोजतलास गर्दा कतै पत्तो लागेन । सन्तान हराएको पीडामा रहेको अभिभावकको अनुहारमा अहिले भने मुस्कान देखिएको छ । भारतस्थित नेपाली दुतावासको समन्वय तथा प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्च नेपालको सक्रियतामा अहिले १९ वर्ष पुगिसक्नुभएका सन्तोष अहिले अभिभावकसँगै आउन सफल हुनुभएको छ । उहाँलाई २०७५ साउन ५ गते उद्दार गरिए पनि अभिभावकसम्म आउन भने त्यत्ति सजिलो भएन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सन् २०१४ जनवरी २२ मा लखनउमा ११ वर्ष चार महिना भएको सन्तोष नाम बताउने, घर नेपाल दुर्गानगर बाबु रनबहादुर आमा कमला मिस्त्रीको काम गर्ने सम्म बताएका बालक वेवारिसे रुपमा फेला पारी भारतस्थित विभिन्न बालगृह हुँदै राजकीय बालगृह देवरियामा राखिएको थियो । त्यसपछि सन्तोष, विजय तामाङ, राजेश कुमार, सुमित कुमार गरी चार जनालाई पारिवारिक पुनर्मिलनको लागि भारतस्थित नेपाली दुतावासको सिफारिससहित मित्र मञ्चले जिल्ला प्रहरी कार्यालय रुपन्देही, बालबालिका तथा जेष्ठ नागरिक सहायता केन्द्रमा ल्याएको थियो ।

बालकहरुको अभिभावक पत्ता नलागेसम्मको लागि अस्थायी संरक्षणको लागि चारजना बालकलाई प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा नगरपालिका कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रममा पठाएको थियो । चार जनामध्ये तीन जनाको अभिभावक पत्ता लागेपनि सन्तोषको ठेगाना र अभिभावक पत्ता लाग्न सकेन । त्यसपछि उनलाई बालगृहको संरक्षणमा पशुपति मावि कोटिहवामा भर्ना गराइयो र अभिभावक र ठेगाना खोजी कार्य पनि जारी रहेको थियो ।

त्यसपछि सन्तोषलाई सोधपुछ गर्ने क्रममा घर दुर्गानगर, कुसुम, झोलुंगेपुलसम्म संरक्षण अधिकारीलाई बताएपछि त्यस क्षेत्रका स्थानीयसँग सम्पर्क गर्दा बैजापुर हेल्थ पोष्टका कर्मचारी कुविजा कोइरालाले सन्तोष त्यही क्षेत्रको हुन सक्ने अनुमान गर्नुभयो । त्यस्तै बैजापुर गाउँका अगुवा सन्तोष खड्कासँग बुझ्दा हराएको बालकका अभिभावक भारतमै रहेको जानकारी आएपछि २०७६ पुस ६ गते अमर बहादुर सुनार र लक्ष्मी सुनार बालगृहमा आइ आफ्नो छोरा हो भन्ने पहिचान गरेको प्रहरीको भनाइ छ । पारिवारिक पुनर्मिलनको लागि सन्तोषको जन्मदर्ता, नाता प्रमाणित स्थानीय तहको सिफारिस लगायतका कागजात प्राप्त भएपछि संरक्षक कृष्ण प्रसाद ज्ञवाली थप जानकारी लिन सन्तोषको घर पुगेको प्रहरीले जनाएको छ ।

“सडकको सुविधा थिएन, डुंगा तरेर जानुपथ्र्यो, आर्थिक अवस्था कमजोर थियो, त्यस कारण भारतमा गएर पैसा कमाउँला भन्ने सोच थियो, तर आफुसँगै लगेको छोरा नै हराएपछि झन् समस्या थपियो”–सन्तोषका बाबु अमर विगत सम्झिदै भन्नुहुन्छ । “हराएको छोरा भेट्टाउने आशा नै मारिसकेका थियौं, तर भगवानले १२ वर्षपछि पनि हाम्रा पीडा सुनेर छोरालाई हामीसँगै फर्काए, यो भन्दा खुशीको कुरा के हुन सक्छ”–सन्तोषका आमा लक्ष्मी भन्नुहुन्छ । त्यस्तै सन्तोष पनि अभिभावक पाएकोमा निकै नै खुशी हुनुहुन्छ । “विगतमा के भयो, कसरी हराएँ त्यो सबै त स्मरण गर्न सक्दिन, तर मलाई अभिभावकसम्म ल्याउने संस्थालाई सदैव सम्झिनेछु”–सन्तोषको भनाइ छ ।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयमा सन्तोष कुमार सुनारलाई उहाँको अभिभावकको जिम्मा लगाइएको छ । सो क्रममा रुपन्देही प्रमुख प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले हराएका बालकको उद्धारमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?