logo
२०८० चैत्र १५ बिहीवार



गाउँमै सडक पुगेपछि ब्यवसायिकता तर्फ उन्मुख बन्दै सुन्तला कृषक

प्रदेश |


गाउँमै सडक पुगेपछि  ब्यवसायिकता तर्फ उन्मुख बन्दै सुन्तला कृषक


ध्यान कुलुङ

सङ्खुवासभा, मंसिर २६ गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर चार मांतेवा सुन्तलाको लागि प्रख्यात छ । यहाँको सुन्तला तुलनात्मक रुपमा मिठो र रसिलो मानिन्छ ।


यहाँ दुई बर्ष अघिसम्म सुन्तला बेच्न धौ धौं हुन्थ्यो । बोटमा लटरम्म फलेको सुन्तला बोकेर बेच्न लैजानु पथ्र्यो । तर अहिले सबै सुन्तला बिक्रि गर्न त्यत्ति समस्या छैन । यो सहजता गाउँमै सडक पुगेकोले सम्भव भएको हो । अहिले मांतेवाको सुन्तला खान र लिन ग्राहकहरु गाउँमै पुग्न थालेका छन् । मांतेवा गाउँको छिमेकी गाउँसम्म पुगेका मानिसहरु सुन्तला खान र लिन कै लागि मांतेवा गाउँ पस्ने गरेका छन् ।

सिलिचोङ गाउँपालिकाको वडा नम्बर ४ मांतेवामा दुई बर्षअघि कच्ची सडक पुगेको हो । सडक मार्गबाट खाँदबारी हुँदै धरानको बजारसम्म सुन्तला बिक्रि गर्न लैजान थालिएको छ । त्यस्तै भोजपुरको बम्लीङटार, कुलुङ, सङ्खुवासभाको हेलुवाबेँशी, खाँदबारी, तुम्लिङटार लगायतको स्थानीय बजारमा पनि सुन्तला बिक्रि गरिदै आएको छ ।

केही ब्यापारीहरु गाउँ मै पुगेर पनि सुन्तला किन्ने गर्छन् । गाउँमै सडक सञ्जाल जोडिएसँगै सुन्तला सहजै बिक्रि हुन थालेपछि कृषकहरुमा सुन्तला मोह बढ्न थालेको छ । गाउँमा सडक मार्ग पुगेपछि सुन्तलाको नयाँ बिरुवा लगाउनेहरुको संख्या पनि ह्वात्तै बढेको छ । गाउँपालिकाले बर्षेनी सुन्तलाको बिरुवा बाँड्दै आएपछि स्थानीय जातको बिरुवाबाट बढी फल लाग्ने कृषकहरुको भनाई छ ।

मांतेवा गाउँमा ६० भन्दा बढी परिवार सुन्तला खेतीमा संलग्न छन् । विशेष गरि जौलेटोल, मुल गाउँ, बाँझे, सल्लेरी लगायतका टोलहरुमा बढी सुन्तला खेती लगाईएको वडा अध्यक्ष देवेन्द्र राईले बताउनुभयो । गत बर्ष एक परिवारले डेढ लाख रुपैयाँसम्मको सुन्तला विक्रि गरेको वडा अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘थोरै बेच्नेले नै ५० हजारसम्मको बेच्छन्, धेरै बेच्नेले डेढ दुई लाख सम्मको सुन्तला बेचेका छन् ।’

केही बर्षदेखि यता तुलनात्मक रुपमा राम्रो मुल्यमा बिक्री गर्दै आए पनि अझै बजार व्यवस्थित हुनु पर्ने कृषकहरुले धारणा राख्छन् । अघिल्लो बर्षदेखि सुन्तला विक्रि नै नहुने समस्या हटेपनि सुन्तलाले उचित मुल्य पाउन नसकेको उनीहरुको दावी छ । अहिले बोटमा पुग्ने ग्राहकहरुलाई प्रतिगोता ४ रुपैयाँको दरले विक्रि गर्दै आए पनि यो मुल्य सस्तो हुन गएको स्थानीय योगेन्द्र कुलुङको भनाई छ । मांतेवादेखि बुम्लिङ स्थीत अरुण नदिसम्म सडक पुगेपनि सवारी साधन तार्न पुल नभएकोले ठुलो बजारसम्म पुराउन नसकेको उहाँको गुनासो छ । ‘पुल नबनेकोले मान्छेलाई बोकाउन झन्झटिलो हुन्छ, पुल बनेको भए सिधै ठुलो बजारसम्म पुराउन सकिन्थ्यो’, कुलुङले भन्नुभयो ।

पछिल्लो समय केही सुन्तलाहरुमा विभिन्न रोग पनि देखा पर्न थालेकोले अहिलेबाट नै रोकथामको उपाय खोज्न कृषकहरुको माग छ । बजार व्यविस्थत गर्नसके थप सुन्तलाको बिरुवा लगाएर सुन्तला उत्पादन क्षेत्र घोषणा गरेर जान सकिने अगुवा कृषकहरुको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?