logo
२०८१ बैशाख ४ मंगलवार



बाख्रा पाल्ने किसानलाई अनुदान  

अर्थ |


बाख्रा पाल्ने किसानलाई अनुदान  


भरतपुर, कात्तिक ४ गते । चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो रु २५ अनुदान दिन लागेको हो ।    
    
पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । अनुदान दिन नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । “किसानलाई कुन विधिबाट अनुदान दिने भन्नेबारे कार्यविधि निर्माण गरिरहेका छौँ”, ढकालले भन्नुभयो, “किसानलाई सहजरुपले अनुदान दिने विधि बनाउँदैछौँ ।” तिहार अगाडि नै कार्यविधि निर्माण गरी अनुदान दिइनेछ ।    
    
 नगर प्रमुख ढकालले बाख्रापालन गर्ने किसानको समूहलाई रु १० लाख बीउ पूँजीसमेत दिइने बताउनुभयो । नगरपालिकाले दिने अनुदानबाट किसानले बाख्रा खरीद गरी व्यावसायिक बन्न मद्दत पुग्ने उहाँको विश्वास छ । यसले नगरभित्रका निम्न आय भएका नागरिकको आयस्तर उकास्न सहयोग पुग्ने ढकालले बताउनुभयो । बाख्रापालन व्यवसाय माडीमा फष्टाउँदै गएको छ । विगतमा आफैँलाई मासु पु¥याउन यहाँका बासिन्दालाई धौधौ हुने गरेको थियो । अहिले माडीका किसानले मासु बिक्री गरिरहेका छन् ।    
    
 माडी नगरपालिका–७ देवेन्द्रपुरमा माडी एग्रो फार्म स्थापना गर्नुभएका नीलकण्ठ काफ्ले बाख्रापालनको सम्भावना राम्रो भएको बताउनुभयो । उहाँ छ वर्षदेखि बोयर जातको बाख्रापालन गर्दै आउनुभएको छ । “बजारको समस्या छैन”, काफ्लेले भन्नुभयो, “अनुदानको व्यवस्था भएपछि थप राहात मिलेको छ ।” माडीमा झण्डै ३०० व्यावसायिक बाख्रा फार्म छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?