डिजाइनर बेबी

बिज्ञान |


2019-09-26-1892


सर्वप्रथम बेलायतमा टेस्टट्युब बेबी जन्माइएको थियो । यो घटना हो सन् १९७८ को । टेस्टट्युब बेबी लुइस ब्राउन जन्माउने बेलायतका वैज्ञानिक अब मानिसको भ्रूणमै हेरफेर गरेर आपूmले चाहेअनुसारको बच्चा जन्माउने प्रविधि विकासमा लागेका छन् । मानव भ्रूणमा हेरफेर गर्न डीएनए स्तरमा काम गर्नुपर्छ र यस प्रकारको कार्यका लागि अनुमति दिने बेलायत विश्वको पहिलो देश हो ।
बेलायती वैज्ञानिकलाई कानुनी सहुलियत मिलिसकेकाले मानव जन्मसँग जोडिएको अत्यन्त जटिल अनुसन्धान कार्य त्यहाँ भइरहेको छ र हाम्रा अगाडि कुनै दिन डिजाइनर बेबीको जन्म अवश्यम्भावी देखिन्छ । मानिसको नैतिकता, मानव सभ्यता र प्राकृतिक नियमका दृष्टिले अत्यन्त विवादास्पद यो अनुसन्धान अहिले लण्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युटमा अगाडि बढाइएको छ । यसमा ठूलो विवाद
छ तर वैज्ञानिकमण्डल आपूmहरूको प्रयास मात्र मानव जीवनको प्रारम्भिक अवस्थाको गहिराइ बुझ्नका लागि मात्र भएको दाबी गर्छ । डीएनए परिवर्तन गरिएको जेनेटिकली मोडिफाइड भ्रूण महिलाको गर्भमा प्रत्यारोपण नगरिने बताइएको छ तर आरम्भिक सफलताले भविष्यमा डिजाइनर बेबी
जन्मको आधार तयार नपार्ला भन्न सकिन्न ।
वनस्पतिमा यस प्रकारको जेनेटिक मोडिफिकेसन कार्य भइरहेका छन् । वंशाणु परिवर्तन गरी कीरा नलाग्ने, बेमौसममा फल्ने, धेरै फल्ने तथा ठूलो आकारका हुने अन्नबाली र तरकारी बनाइएका छन् । जेनेटिक मोडिफिकेसनबाट भिटामिन ए ले पुष्ट गोल्डेन राइस बनाइएको करिब २० वर्ष नै हुन थाल्यो ।
तर के मानिसको डीएनएस्तरमै हेरफेर गरेर भ्रूण तयार पार्नु जरुरी छ ? केका लागि मानिसको भ्रूणमा डीएनए संरचना सम्पादन गर्नुप¥यो ? यसमा केही कारण औँल्याइएको छ । जन्मजात हुने रोगबाट सदाका लागि मुक्ति दिन डीएनए सम्पादन आवश्यक छ । उदाहरणका लागि सिकलसेल एनिमिया, डाउन सिन्ड्रोम, अटिज्म आदिजस्ता वंशाणु रोग निराकरण गर्न डीएनएस्तरमै सम्पादन गर्नुपर्छ । अहिलेलाई मात्र परीक्षणका लागि मानव भ्रूणमा अनुसन्धान भइरहेको छ ।
तर अग्लो कद, गोरो, निकै बलियो, विलक्षण प्रतिभा भएको जस्तो चाहियो त्यस्तै मान्छे जन्माउने गरी प्राकृतिक नियमविपरीत डिजाइनर बेबीको जन्म गराइए त्यो मानव जातिलाई अभिशाप हुनेछ । फ्रान्सिस क्रिक इन्स्टिच्युटमा अण्ड निषेचन भएपछि शुरुका सात दिनको भ्रूणमाथि अनुसन्धान भइरहेको छ । त्यस अवस्थाको भ्रूण आँखाले देख्न सकिँदैन र केही कोषका झुप्पाले भ्रूण बनेको हुन्छ । एकपटक अण्डसँग शुक्राणुको मिलन भएपछि कोषको
स्वरूपमा भ्रूणको सिर्जना हुन्छ । एकबाट दुई हुँदै केही दिनमा कोषहरूको झुप्पोको स्वरूप भ्रूणले लिन्छ र डिम्बनली हुँदै पाठेघरमा पुग्ने प्राकृतिक नियम छ ।
अण्ड र शुक्राणुबीच मिलन हुँदा उत्पन्न भएको ‘जायगोट’मा ४६ क्रोमोजोम हुन्छन् । जसमा रहेका२३ वटा पुरुषबाट र २३ वटा महिलाबाट आएका क्रोमोजोमबाट भावी बच्चाको वंशाणु निर्धारण हुनेगर्छ । धागो आकारका प्रत्येक क्रोमोजोममा लगभग दुई हजार जिन हुन्छन् । यिनै जिनमा बच्चाको विकासका लागि चाहिने सम्पूर्ण गुण समावेश हुन्छ ।
अण्ड निषेचनपछि पाठेघरमा भ्रूणको विकासको आरम्भिक दिनका घटनाक्रम वैज्ञानिकले राम्रोसँग बुझ्नसकेका छैनन् । त्यो सम्पूर्ण प्रक्रिया जान्ने प्रयास वैज्ञानिक टोलीको रहने छ ।
यसैगरी सन् २०१५ को अप्रिलमा चीनको ग्वान्जाउमा रहेको सन यात्सेन विश्वविद्यालयका जुन जिउ हुवाङको टोलीले ‘सीआरआईएसपीआर–सीएएस९’ विधि प्रयोग गरी मानव जिनोम सम्पादन गरेको थियो । जुन घटना विश्वमा पहिलोपटक भयो । जीवनम ा रूपान्तरित नहुने भ्रूणमाथि हुआङको टोलीले अनुसन्धान गरेको भए पनि सैद्धान्तिक
रूपमा मानव ‘जर्म सेल्स’ माथि गरिने यी क्रियाकलाप भावी पुस्तामा सर्ने कुरा बहसमा उठ्ने गरेको छ ।

–उमेश ओझा

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?