logo
२०८० चैत्र १६ शुक्रवार



समृद्धिका लागि स्वास्थ्य क्षेत्रको विकास आवश्यक : अध्यक्ष यादव

स्वास्थ्य |
राष्ट्रिय |
प्रदेश |


समृद्धिका लागि स्वास्थ्य क्षेत्रको विकास आवश्यक : अध्यक्ष यादव


धर्बेन्द्र झा
जनकपुरधाम, माघ १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताउनुभएको छ । निजि क्षेत्रबाट धनुषाको लक्ष्मनियाँ गाउँपालिकामा निर्माण भएको एक सय बेडको सेन्ट्रल अस्पतालको उदघाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । तीनै तहका सरकारले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढनु पर्ने बताउनुभयो । आफु स्वास्थ्यमन्त्री भएको समयमा उपचारको अभावमा कसैको मृत्यु हुन नपरोस भन्ने उद्देश्यकासाथ नयाँ स्वास्थ्य नीतिअनुरुप प्रत्येक पालिकामा अस्पताल निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले विगतमा आफुले सोही स्वास्थ्य नीतिअनुरुप नेपालमा स्वास्थ्य विमा कार्यक्रम लागु गरिए पनि त्यो प्रभावकारी हुन नसकेको बताउनुभयो । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन तिनै तहका सरकारसँग आग्रह गर्नुभयो । उहाँले अझै पनि मधेश प्रदेशमा गुणस्तरीय शिक्षा र गुणस्तरीय उपचारको अभाव रहेको समयमा निजि क्षेत्रवाट गरिएको कामको प्रसंशा गर्नुभयो ।

विगतमा पनि मिथिला क्षेत्र शिक्षा र स्वास्थ्यको हव रहेको चर्चा गर्दै फेरि पनि शिक्षा र स्वास्थ्यको हवको रुपमा मिथिला क्षेत्रको विकास गरिनुपर्ने धारणा राख्नुभयो । राजनीतिक प्रसंगमा उहाँले मुलुकमा विभिन्न किसिमको राजनीतिक परिवर्तन भएपनि विगतको विकृतिहरु अझै समाप्त नभएको बताउनुभयो ।

विभिन्न भाषा, विभिन्न सँस्कृति र जातजातिको आधारमा गलत दृष्टीकोण कायम रहेको बताउनु भयो । समतामुलक समाजको निर्माणका लागि देशमा रहेको गरिबी बेरोजगारी अन्त्य हुनुपर्ने बताउनुभयो । आर्थिक विकास र समृद्धिको लागि दलहरुले मिलेर काम गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादवले मुलुक संघियतामा गइसकेपछि शिक्षा र स्वास्थ्य क्षेत्र छिटट्ै फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । संघीयतालाई संस्थागत गर्नमा हामी सबै लाग्नुपर्ने धारणा राख्नुभयो । सेन्ट्रल अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय झाको अध्यक्षतामा भएको सो कार्यक्रममा लक्ष्मनियाँ गाँउपालिकाका अध्यक्ष बिन्देश्वर यादवसहितले यस क्षेत्रमा अस्पताल नभएको समयमा सेन्ट्रल अस्पताल सञ्चालनमा आएपछि पाँचवटा पालिकाको ग्रामिण क्षेत्रका बासिन्दालाई उपचारमा सहज हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?