logo
२०८० चैत्र १५ बिहीवार



आर्मीलाई टाईब्रेकरमा हराउँदै मनाङ फाइनलमा

फुटबल |
खेलकुद |


आर्मीलाई टाईब्रेकरमा हराउँदै मनाङ फाइनलमा


पोखरा, माघ १३ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा मनाङले आर्मीलाई टाईब्रेकरमा ४–३ गोलले स्तब्ध बनायो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत खेल गोलरहित बराबरीमा सकिएपछि टाईब्रेकरमा पुगेर मनाङले बाजी मारेको हो । निर्धारित समयको पहिलो हाफमा मनाङका कप्तान विमल राना पेनाल्टीमा चुक्नुभएको थियो । नवौँ मिनेटमा विमलको पेनाल्टी प्रहार बाहिरिएपछि आर्मीलाई केही राहत मिलेको थियो ।

तर, टाईब्रेकरमा मनाङ भाग्यमानी बन्यो । टाईब्रेकरमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गर्नुभयो । विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो । आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्नुभयो । दीपक गुरुङको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलरक्षक अशोक बरालले बचाउनु भएको थियो ।

मनाङले शनिबार फाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफले शहिद स्मारक ‘ए’ डिभिजनको शीर्षटोली मच्छिन्द्रलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?