logo
२०८१ बैशाख ४ मंगलवार



सबै तहको निर्वाचन समयमै हुनुपर्छ : प्रकाशमान सिंह

राजनीति |


सबै तहको निर्वाचन समयमै हुनुपर्छ : प्रकाशमान सिंह


काठमाडौं, माघ ८ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ ।

चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार डाक्टर मिता सिहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पणपछि पत्रकारले राखेका जिज्ञासाको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।

स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने उहाँको भनाइ छ । संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्नेमा जोड दिनुभएको छ ।

संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उहाँको भनाइ थियो।

‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भन्नुभयो, ‘त्यो कारणले धेरै काम मध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’

झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधान विपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उहाँले स्मरण गर्नुभयाे।

फरक प्रसंगमा नेता सिंहले १४ औँ महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूमाथि अन्याय गरेको बताउनुभयो । ‘१३ औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न मलाई जुनियर भनियो,’ सिंहले भन्नुभयो, ‘तर, अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भने।’

१३ औँ महाधिवेशनमा आफूलाई जुनियर भनेर सभापतिको प्रतिस्पर्धा गर्नबाट रोकेको समूहले १४ औँ महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिस्पर्धामा जाऔँ भनेकाले समूह छाडेको सिंहले प्रष्ट पार्नुभयो । पुस्तक लोकार्पण कार्यक्रममा पुस्तककी लेखक डा मिता सिंह, प्रा कपिल श्रेष्ठ , कनकमणि दीक्षितलगायतले विचार राख्नुभयो । कार्यक्रमको आयोजना गणेशमान सिंह फाउन्डेसनले गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?