logo
२०८१ बैशाख १३ बिहीवार



घर निष्ठाकै बिन्दु बनून् (कविता)

शनिवार |


घर निष्ठाकै बिन्दु बनून्  (कविता)


तेजेश्वरबाबु ग्वंगः

घर छ,
घरभित्र एउटा करेसो नि,
करेसोको बिच एक गोरेटो,
गोरेटो घरको मूल ढोका
अनि पर्खालमा जडेको द्वारसम्मै
आउने जाने माध्यम ।

घर निष्ठाले बस्ने
आनन्दी आश्रम
पर्खाल, त्यसको बचाउको
घेरो ।

घरभित्र जति छन् कोठा
उतिकै ढोकाहरू नि
ढोका बन्द हुन्छन्, खुल्छन्
तर, घरधनीका चाहनानुसार ।

घर घरै हो,
ढोका ढोकै हुन्
पर्खाल पर्खालै रहेछन्
घरको ।

घर निष्ठा निष्ठा घर भएर नि
कहिले घरबाट निष्ठा बाहिरिदिन्छ
यात्रुझैँ बाहिरी फेरा मनपराउने ।

कहिले घर एक्लो बन्छ
निष्ठा बाहिरिदिँदा,
त्यसबेला घर घरमा हुन्न
घरै घरबाट बाहिरिरहेको बेला
निष्ठा बिनाको घर
घरैबाट बाहिरिरहँदो रैछ !

तैपनि म भन्छु,
भनिरहन्छु नि –
घरबाट निष्ठा नबाहिरियून् !
निष्ठा घरमै सटिरहून् !!
घर निष्ठाकै बिन्दु बनिरहून् !!! 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?