logo
२०८१ बैशाख १२ बुधवार



अँध्यारो माइनस उज्यालो (कविता)

शनिवार |


अँध्यारो माइनस उज्यालो (कविता)


रचना ‘अनाकार’

हिपक्रिट
गिदीहरू...!
विचारहरू...!!
गर्भपतन भएका यथार्थहरू
समीकरण नमिलेका व्यवस्थाहरू
फर्मेन्टेसनको प्रक्रियामा
अमिलिएका सङ्कल्पहरू
भित्ताभरि सल्बलाइरहेका
छलनाका लार्भाहरू
टेलिस्कोपको लेन्सदेखि धेरै पर उम्रिएका
टप ग्रेड ब्रीडका स्वार्थहरू
यही नै हो अँध्यारो माइनस उज्यालो !

मुसाको दुलोबाट
कैयौँ पटक उम्किसकेका
योजनाहरू ....!
घोषणाहरू ....!!
परिकल्पनाहरू ....!!!
समयको इन्सिनरेटरभित्र
फालिएका÷डढाइएका
आइडियोलोजीहरू
अँध्यारोमा हुर्किएर
उज्यालोमा ओइली जाने
च्याउका स्पन जस्तै
दुर्बल सिद्धान्तहरू
मारियाना ट्रेञ्चतर्फ अग्रसरित
कागजी जहाजमा सवार
लिब्रलिज्मका फिलसफीहरू
यही नै हो अँध्यारो माइनस उज्यालो !

अँध्यारो माइनस उज्यालोको
प्लेकार्ड काखीमा च्यापेर
कुहेकै सिनोको खोजीमा
उडिरहेका गिद्धहरू
दौडिरहेका स्यालहरू,
बाँदरको पुच्छरको माला भिरेर
अचिभमेन्टको फुइँ हाँक्ने
पुरुषार्थहरू
आँखाका डिलै डिल हिँडेर
डोकोका आँखाबाट चुहिसकेका
जनवादी सिद्धान्तहरू
आश्वासनको आइसियुमा
मरणासन्न लडिरहेका
निर्धा आकाङ्क्षाहरू
भरोसाका हलमार्क टाँसेर
ब्ल्याकहोलभित्र समाहित हुन लागेका
निष्फल मिसनहरू
यही नै हो हामीले पर्खिबसेको
अँध्यारो माइनस उज्यालो ! 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?