logo
२०८१ बैशाख ७ शुक्रवार



काव्य–यात्राका दुई दिन

शनिवार |


काव्य–यात्राका दुई दिन


जयदेव भट्टराई

ऐतिहासिक गोरखा काठमाडौँ पदयात्राको शुभारम्भ गरेर टोलीलाई बिदाइ गरेर सुस्ताउन पाएको छैन साहित्यका लागि पर्यटन काव्य–यात्रामा सहभागी टोलीको स्वागत गर्न हतार भइसकेको थियो गोरखावासी र नगरपालिकालाई । पुस महिनाको चिसो, बिहानीको समय, त्यसमा पनि वर्षाको सम्भावना औँयाइएको समय यी सब एकातिर पन्छाएर नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा भेला भएर गोरखा टेक्न पुगेको थियो साहित्यकार–कलाकारको १८ जनाको टोली । आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको न्यानो स्वागत र प्रायोजक गोरखा नगरपालिकाको हार्दिक आतिथ्यताले न्यानो अनुभूति सँगालेर साहित्यका लागि पर्यटन काव्य–यात्रामा सहभागी भएका थियौँ पुस २१ गते । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सन्ध्या पहाडी र समाज परिवारको स्वागत स्वीकार्दै ऐतिहासिक थलो गोरखा प्रस्थान गर्दा बिहानको आठ बजिसकेको थियो । चिसो बिहानीमा यात्राको थालनीसँगै बजेको सङ्गीत र सङ्गीतसँगै आरम्भ भएको नाचगानले शायदै कसैले चिसोको अनुभव गरे होला । नाचगानका साथै साहित्यका बारेमा चलेको बहसमा सहमति र असहमतिका स्वर पनि सुनिन्थ्यो बेला बखत ।

काठमाडौँमा यात्रा थाल्दा बसमै बज्न थालेका साङ्गीतिक धुनले नै चलमलाएका गोडा गोरखाको माटो टेक्दासम्म थामिएका थिएनन् । एक किसिमको रोमाञ्चक बनेर गोरखासम्मको पाँचघन्टे यात्रा टुङ्गिन नपाउँदै स्थानीय कदम होटलमा आधा घन्टाको विश्रामपछि औपचारिक कार्यक्रममा देखापर्दा स्थानीय स्रष्टा, साहित्यप्रेमी, कलाकार, कलाप्रेमी, स्थानीय निकायका प्रतिनिधिलगायत अतिथिहरू जम्मा भइसकेका थिए । हात हातमा आ–आफ्ना सिर्जना बोकेर सभाकक्षमा प्रवेश गर्नेहरू, स्थानीय भेषभूषामा सजिएर अतिथिहरूलाई स्वागत गर्न तम्तयार भएका युवतीहरू, नृत्य गर्न तम्सिएका कलाकार टोली, कविता सुनाउन ब्यग्र स्रष्टा, मन्तव्य सुन्न उत्सुक थिए श्रोता–दर्शक । अतिथि, प्रमुख अतिथि, विशेष अतिथिले भरिएको सभाकक्षलाई लक्षित गरी कार्यक्रम सञ्चालक सञ्चारकर्मी एवं कवि मधु पाठकले कार्यक्रमको थालनी कलाकार देव वरा र लक्ष्मी तिवारीका नृत्यबाट गरेपछि दर्शक रोमाञ्चित बन्न पुगे । गोरखाको भूमिमा पश्चिमेली प्रसिद्ध छलिया नृत्यमा देव वराको सशक्त प्रस्तुति निकै आकर्षक रह्यो । यसपछि लक्ष्मी तिवारीसमेतको सिँगारु नृत्यले अतिथि दर्शक मन्त्रमुग्ध बन्न पुगे । सांस्कृतिक प्रस्तुतिको लगत्तै स्थानीय स्रष्टा शिव उप्रेतीले स्वागत गर्नुभएपछि कार्यक्रम संयोजक शान्ता बस्नेतले कार्यकमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।

पर्यटन काव्य–यात्राको मुख्य आकर्षण काव्य वाचनमा कवि नारायणप्रसाद पोखरेल, गीता कार्की, कल्पना खरेल, मणि लोहनी, विजयभक्त उपाध्याय, डा. रेणुका सोलु, विमला निरौला, सुरेन्द्र देवकोटा, एलिशा ढुङ्गाना, प्रदीप रोदन, गीता मैनाली, यदु अधिकारी, सुष्मा आचार्य अंशु, उदय भट्टको सिर्जनाले दर्शक श्रोताको मन जित्न सफल भयो । साहित्यकारका रचना कृति पढेर यात्रा गर्न प्रेरित हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टी एवं साहित्यकार गीता खत्री, साहित्यकार लीला लुइँटेल, डा. रेणुका सोलु, विमला निरौलाले साहित्यकारका रचना पढेर यात्रा गर्न प्रेरित रहेको धारणा राख्नु भयो । नेपालजस्तो विविधता र सांस्कृतिक सम्पदाले सम्पन्न देशमा पर्यटकलाई आकर्षित गर्न साहित्य–कलाको महìवपूर्ण भूमिका हुने भएकोले लेखक कलाकारले यसतर्फ पनि सोच्नु पर्ने विचार अभिव्यक्त गर्नुभयो । आफ्नै वैभवले परिचित नेपाललाई यहाँको प्राकृतिक र सांस्कृतिक सम्पदाबारे लेख्न सके पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास थियो स्रष्टाहरूको । डा.तारानाथ शर्माको बेलायततिर बरालिदा, पाताल प्रवास पढेर बेलायत अमेरिका जान प्रेरित हुनेहरूको कमी छैन, हाम्रा लेखकले लेखेका कृति रचना पढेर नेपाल आउन प्रेरित हुनेहरू पनि पक्कै होलान, यसतर्फ सोचेर लेखक–साहित्यकारले कलम चलाउनु पर्ने विचार राख्नु भयो उहाँहरूले ।

कार्र्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजनराज पन्तले यस्ता खाले कार्यक्रमले गोरखा–काठमाडौँको साहित्यिक एवं सांस्कृतिक सम्बन्ध बिस्तार हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले गोरखा राजनीतिक इतिहास मात्र नभई साहित्यिक र सांस्कृतिक भूमि पनि हो भनेर चिनाउन आफूहरू प्रयत्नरत रहेको विचार अभिव्यक्त गर्नु भयो । सम्मेलनमा नारीहरूको सक्रियता र सम्मान देख्दा खुसी व्यक्त गर्ने उपप्रमुख बीना श्रेष्ठ साहित्य र समाजको सम्बन्ध प्रगाढ रहने विचार व्यक्त गर्दै समारोहमा उत्साहका साथ प्रस्तुत हुनुभएको थियो । साहित्य, संस्कृतिले एक अर्कालाई जोड्ने भएकोले यी क्षेत्रको उत्साहमा नगरपालिका सदैव क्रियाशील हुने उहाँको दृढता थियो । संस्थाका तर्फबाट अध्यक्ष सन्ध्या पहाडी र उपाध्यक्ष राजेन्द्र केसीले प्रमुख अतिथि, विशेष अतिथिलाई सम्मान प्रदान गर्नुभएको थियो । साढे दुई घन्टा समय लिएको कार्यक्रममा सहभागीहरूलाई गोरखावासीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । लगत्तै सभापति सन्ध्या पहाडीले च्याप्टरले साहित्य र पर्यटनलाई जोड्न लमजुङबाट थालिएको यात्रा गोरखासम्म आइपुगेको र आउँदा दिनमा साहित्य, कलाका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न लागिपर्ने दृढता व्यक्त गरेसँगै कार्यक्रम औपचारिक रूपमा टुङ्गिएको थियो ।

औपचारिक रूपले कार्यक्रम यति भए पनि काठमाडौँबाट यात्रा थाल्दादेखि नै नाचगानमा रमाएकाहरू गोरखामा नृत्य प्रस्तुतिमा पनि त्यत्तिकै रम्न पुगे, स्थानीय कवि प्रदीप रोदनको गजल र नारायणप्रसाद पोखरेल आदिका कविताले मन्त्रमुग्ध हुन पुगेका थिए । अतिथि कविका रूपमा आ–आफ्ना रचना सुनाएर गोरखावासीको मन जित्ने कवि कवयित्रीमात्र होइन चुस्त र भावनात्मक कार्यक्रमबाट उत्साहित भएकाहरू कार्यक्रम समापनपछि पनि उत्साहित देखिन्थे । मेलाको रौनकले रङ्गिएको गोरखाको साँझ केही समय त्यतै बिताएर फर्केपछि पनि सांस्कृतिक र साहित्यिक कार्यक्रमलाई निरन्तरता दिन अघि सर्नेहरूको कमी थिएन । अनौपचारिक रूपमा प्रस्तुत हुँदा मान्छे बढी खुल्छ भन्ने उदाहरण यहीँनिर देखियो । गीत सङ्गीत भनेपछि टाढै बस्न रुचाउने, अरूले नाचेको देख्दा पनि लजाएर छेलिएर बस्नेहरू समेत सङ्गीतको तालमा मात्र होइन आफ्नै गायनमा खुलेर नाचेको पनि देख्न पाइयो । यी सबैबाट अलग भएर बस्नु भएका समाजका सदस्य एवं भानु प्रतिष्ठानका कोषाध्यक्ष हरिबोल ढकालको सक्रियता कार्यक्रममा कम्ती उल्लेख्य रहेन ।

पुस २२ गते बिहान आफ्नै गौरवगाथा बोकेको ऐतिहासिक गोरखाको अवलोकन र स्वेच्छिक रूपले रचना वाचन र आ–आफ्ना प्रस्तुतिसँगै काठमाडौँ फर्कने तयारीमा जुट्न पुग्छौँ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको कार्यक्रमले गोरखामा आयोजना गरेको कार्यक्रमको प्रभाव कहाँसम्म पुग्ने हो त्यो त भन्न नसकिएला, यति चाहिँ पक्कै भन्न सकिन्छ, कार्यक्रमको सफलता र उपलब्धि दर्शक श्रोताको भीडले भन्दा कार्यक्रमले समेटेका विषय र दिएको सन्देशले बढी महìव राख्छ । काठमाडौँ–गोरखासम्मको यात्रा केवल यात्रा मात्र नभएर साहित्य र कलाका क्षेत्रमा केही गरौँ भन्ने च्याप्टरको सोच पनि हो । विविध क्षेत्रका विविध उमेरका दर्शक श्रोताको उल्लेख्य सहभागिता रहेको पर्यटन काव्य यात्राले आउँदा दिनमा अझ व्यापक सहभागिताका साथ यस्तै चुस्त र सफल कार्यक्रम गर्न सक्छ भन्ने विश्वास गोरखामा आयोजित कार्यक्रमले जगाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?