logo
२०८१ बैशाख १२ बुधवार



भीडभाडमा मास्क नलगाउने धेरै

खुला |


भीडभाडमा मास्क नलगाउने धेरै


काठमाडौँ, पुस ३० गते । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले घर बाहिर निस्कँदा मास्क लगाउन अनिवार्य गरेको सूूचना जारी गरे पनि सर्वसाधारण भने बिनामास्क हिँड्ने गरेको पाइएको छ । बिहीबार कलङ्की चोकमा चार जना ट्राफिक प्रहरी छुट्टै खटिएका थिए । कार्यालय समय भएकाले सवारी र पैदल हिँड्नेको उत्तिकै भीड । चोकमा खटिएका अन्य ट्राफिक प्रहरीबाहेकका चार जना ट्राफिक प्रहरीको काम भने फरक थियो । उनीहरू चोकको माझमा उभिएर प्लेकार्ड देखाउँदै पैदल र मोटरसाइकलमा सवार यात्रुलाई भन्दै थिए, मास्क खै ?

सडकमा प्रहरी नै प्लेकार्ड बोकेर उभिएको देखेपछि मास्क नलगाउनेहरू तर्किएर हिँड्दै थिए । कतिपय मोटरसाइकलको पछाडि सवार यात्रु हत्तपत्त गरेर पछ्यौरा, गलबन्दी आदिले मुख छोप्दै थिए । यी गतिविधिले सडकमा पैदल हिँड्ने र मोटरसाइकलमा सवार सर्वसाधारणले मास्क लगाउन लापरबाही गरेका प्रस्टै देखिन्थे । चिया पसल, खाद्यान्न, तरकारी पसल तथा बजारमा आवतजावत गर्नेमध्ये धेरैले मास्क नलगाउने प्रवृत्तिलाई निरन्तरता दिएको देखिन्छ ।

अस्पताल तथा मेडिकल होस् वा बजारका विभिन्न चोक नै किन नहोस् । धेरैले मास्क लगाउन बिर्सेका जस्ता भेटिन्छन् । सुपरमार्केट, सपिङ मललगायतका भीडभाड बढी हुने स्थानमा पुगेका सर्वसाधारण किनमेलको मोलमोलाइ गर्दा मास्क खोलेरै कुरा गरिरहेका हुन्छन् । सार्वजनिक सवारीमा सबैभन्दा बढी लापरबाही देखिएको छ । ठूला बस तथा मिनीबसमा चढ्ने यात्रुमध्ये धेरैले मास्क लगाउँदैनन् । लगाएकाको पनि भीडभाडका बीच मास्क मुखको च्यापुमा झुन्ड्याएर हिँड्छन् ।

सुन्धाराबाट थानकोट जाने चन्द्रागिरि यातायातमा बुधबार अपराह्न चढ्नुभएकी दिलमाया श्रेष्ठ मास्क नलगाइकन गाडी चढ्नुभयो । उहाँजस्तै अर्को एक भर्खरको उमेरका युवकको पनि मुखमा मास्क थिएन । उहाँहरूजस्तै चालक सिटको पल्लोपट्टि लहरमा बसेकाको पनि मुखमा मास्क थिएन । कतिपय चालक र सहचालक पनि मास्कप्रति लापर्वाह देखिए । चालकले मास्क लगाउँदै बीचबीचमा खोल्दै गर्थे । सहचालकको खैनी, गुट्खा खाने बानीका कारण बारम्बार मुखको मास्क खोलिरहन्थे । त्यही हातले अनेक यात्रुसँग भाडा असुल्ने, सामान चढाउने र खसाल्ने गर्ने उहाँहरू सेनिटाइजरले हात धुनेतर्फ आकर्षित देखिनुभएन ।

यसले स्वयं सवारीका सदस्यहरू अहिले सक्रिय रूपमा फैलिरहेको कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको उच्च जोखिममा छन् । सर्वसाधारणले सार्वजनिक सवारी, सार्वजनिक स्थलमा गरिरहेको लापरबाहीका कारण ओमिक्रोनको फैलावट थप फैलिने सम्भावना पनि उच्च बनेको छ ।
विगतका समयमा भएका राजनीतिक दलको महाधिवेशन र तिनमा सामेल कार्यकर्ताको भीडभाडले ओमिक्रोनको फैलावटलाई मलजल गरेको थियो । त्यसपछि विभिन्न चाडपर्व, मेला महोत्सवले पनि सङ्क्रमण बढाएको छ । पछिल्लो समय छिमेकी मुलुक भारतको खुला सिमानाबाट नेपाल प्रवेश गर्ने नेपाली र भारतीय मजदुरले ओमिक्रोन भिœयाइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमा नाकामा हेल्थ डेस्क राखे पनि त्यो प्रभावकारी हुन नसकेको गुनासो बढेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले सरकारले सतर्कताका सबै उपाय अपनाइरहेको बताउनुभयो । सङ्क्रमणको दर कम गर्न सावधानी अवलम्बन गर्नुको विकल्प नरहेको उहाँले सुनाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?