logo
२०८१ बैशाख ७ शुक्रवार



राष्ट्रिय परिचयपत्र नम्बर लिन सहज

मुख्य समाचार |


राष्ट्रिय परिचयपत्र नम्बर लिन सहज


चाँदनी हमाल

काठमाडौँ, पुस २६ गते । नेपालमा विद्युतीय राहदानीको प्रचलन गत मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सुरु भयो तर त्यो बनाउन अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रको नम्बर लिने विषयमा भने आमनागरिकमा अन्योल छ । विद्युतीय राहदानी बनाउन आवश्यक राष्ट्रिय परिचयपत्रको नम्बर उपलब्ध गराउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा अभियान नै थालेको छ । आफ्नो स्थायी बसोबास गर्ने जिल्ला प्रशासन कार्यालय तथा विभागले सञ्चालन गरेको अतिरिक्त स्थानबाट सहजै परिचयपत्रको नम्बर हासिल गर्न सकिने विभागले जनाएको छ ।

जसरी नागरिकता बनाउँदा जिल्ला प्रशासन कार्यालयमा फाराम भरिन्छ, त्यसैगरी परिचयपत्रका लागि फाराम भर्नुपर्छ । विभागका महानिर्देशक तीर्थराज भट्टराईले भन्नुभयो, “तर त्यसमा अनुहारसहितको डिजिटल फोटो र अन्य बायोमेट्रिक विवरण पनि समावेश गर्नुपर्छ ।” जसअन्तर्गत दसवटै औँलाको छाप, डिजिटल हस्ताक्षर, आँखाको रेटिनाको पहिचानलगायत व्यक्तिका नयाँ पहिचान स्पष्ट खुलाउनुपर्ने हुन्छ ।

त्यति कुरा कप्युटरमा स्पष्ट खुलाएर दर्ता गरेपछि १० अङ्कको नम्बर प्रदान गरिन्छ । त्यो नम्बर नै राष्ट्रिय परिचयपत्रको नम्बर हो । योबाहेक जिल्ला प्रशासन कार्यालय र अन्य तोेकिएको डेस्कबाट कागजी फाराम भर्ने झन्झटबाट जोगिन अनलाइनबाट फाराम भर्न सकिन्छ । त्यसलाई अनलाइन इनरोलमेन्ट भनिन्छ ।

घरमै बसेर विभागको अनलाइन सुविधा उपयोग गरी नागरिकतामा भएर सरहको आफ्नो वास्तविक व्यक्तिगत विवरणको फाराम भर्न सकिने विभागका निर्देशक तथा सूचना अधिकारी युवराज कटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यति गरेपछि जिल्ला प्रशासन वा अन्य डेस्कमा पुगेर कागजी फाराम भर्ने र लाम लाग्नुपर्ने समय जोगिन्छ । सीधै फोटो खिच्न र बायोमेट्रिक विवरण भर्नका लागि जान सकिन्छ ।”

त्यसपछि पाइने १० अङ्कको नम्बर टिपेर आउनुपर्छ । त्यो अङ्क नै विद्युतीय राहदानी बनाउनका लागि दिनुपर्ने विवरण हो । आमनागरिकले राष्ट्रिय परिचयपत्रको नम्बर भनेको सिङ्गै राष्ट्रिय परिचयपत्रको कार्ड हो भनेर बुझेकाले समस्या आइरहेको उहाँले औँल्याउनुभयो । जिल्ला प्रशासन कार्यालयबाहेक अन्य १७ वटा इलाका प्रशासन कार्यालयमार्फत पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । काठमाडौँमा रहेका उपत्यकाबाहिरका नागरिकका लागि राहदानी विभागको नारायणहिटीस्थित कार्यालय, सरकारी कार्यालयका कर्मचारीका लागि पुरानो गृह मन्त्रालयको कार्यालयमा थप डेस्क राखिएको छ । यीबाहेक स्थानीयवासीका लागि जो जहाँको बासिन्दा हो, त्यहीँको प्रशासन कार्यालयमा गएर बनाउन भनिएको छ ।

सरकारको पन्ध्रौँ आवधिक योजनाले गेमचेन्जर योजनाका रूपमा अघि सारेको हो । मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी प्रचलनको अभियानसँगै राष्ट्रिय परिचयपत्रको अभियानसँगै चलेको छ । जसअनुसार हालसम्म ५२ लाख नागरिकको विवरण पछिल्लो समय सङ्कलन गरिएको छ । हाल सङ्कलन गरिएको विवरणअनुसारको राष्ट्रिय परिचयपत्र वितरणका लागि त्यसको छपाइ प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

काठमाडौँमा सुरु हुँदै
विभागले काठमाडौँ उपत्यकाका स्थानीय पालिकामा पनि राष्ट्रिय परिचयपत्र वितरणका लागि व्यक्तिगत विवरण सङ्कलन अभियान सुरु गर्ने भएको छ । जसका लागि विभागले अन्तिम तयारी गरिरहेको छ । महानिर्देशक भट्टराईका अनुसार सुरुवातमा काठमाडौँको शङ्खरापुर र दक्षिणकालीको स्थानीय पालिकाबाट विवरण सङ्कलन र परिचयपत्र नम्बर प्रदान गर्ने कार्य सुरु गरिँदैछ । सकेसम्म सोमबार यी दुई स्थानबाट अभियानको सुरुवात गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।

उपत्यका १० नगरपालिकामध्ये हालका लागि दुईवटा इलाकामा विवरण सङ्कलन गर्ने तयारी विभागले गरेको हो । बाँकी आठ इलाका नगरपालिका क्षेत्रमा स्थापना गरिनेछ । काठमाडौँ महानगरपालिकामा भने थप चारवटा ब्लक बनाएर अभियान बृहत् बनाइने तयारीमा विभाग रहेको छ । जहाँबाट कम्प्युटरको राष्ट्रिय सञ्जाल जोड्न सकिन्छ, त्यस्ता स्थानको पहिचान र व्यवस्थापन गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?