logo
२०८१ बैशाख १३ बिहीवार



अलि मिलेन पूर्वानुमान

खुला |


अलि मिलेन पूर्वानुमान


चाँदनी हमाल

काठमाडौँ, पुस २५ गते । गत मङ्गलबार जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन आयो । त्यसमा अबको केही दिन पश्चिमी न्यूनचापीय प्रणालीले नेपालका विभिन्न भू–भागमा वर्षा र हिमपात गराउने उल्लेख थियो ।
मङ्गलबार भित्रिएको न्यूनचापीय प्रणालीले सुदूरपश्चिम र कर्णालीका केही भेगमा हल्कादेखि मध्यम वर्षा र हिमपात गरायो । तर त्यसयता लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा पनि बिहीबारदेखि बदली सुरु भयो । शनिबार दिउँसोसम्म पानी पर्ला–पर्लाजस्तो गरी बादलले आकाश ढाक्यो । तर, पानी परेन । घरीघरी बादलका बीच–बीचमा आकाश खुलेर चरक्क घाम लाग्यो । साँझबाट भने हल्का वर्षा भएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले भन्नुभयो, “हाम्रो पनि अनुमान उच्च पहाडी भेगमा वर्षा र हिमपात हुने नै थियो तर अनुमान मिलेन । ”
पहिलेको प्रणालीले अन्य भेगमा पानी नपारेकै अवस्थामा पुस २३ गते फेरि अर्को विशेष बुलेटिन महाशाखाले निकाल्यो । त्यसमा भने हाल रहेको न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको जानकारी थियो । साथै शनिबारदेखि पश्चिम नेपालबाट अर्को न्यूनचापीय प्रणाली भित्रिने उल्लेख छ । यसले पनि सुदूरपश्चिम र कर्णालीमा सामान्यदेखि पूर्णसम्मको बदली कायम रही हल्कादेखि मध्यम वर्षा र हिमपात गराउने जनाएको थियो । अन्य भेगमा भने आंशिकदेखि सामान्यसम्मको बदलीको अवस्था रहने उल्लेख गरेको थियो ।

पश्चिमी न्यूनचापीय प्रणाली मनसुनको पूर्वीय न्यूनचापीय प्रणालीजस्तो बलियो हुन्न । पूर्वीयको तुलनामा पश्चिमी प्रणालीमा कम जलवाष्पका कण हुन्छन् । तर, पानी नै नपार्नेगरी निकै जलवाष्पको परिणाम कहिलेकाहीँ दोहोरिन्छ । यसपालिको हिउँदे वर्षाको पूर्वानुमानका क्रममा त्यस्तै भएको मौसमविद् बासीले बताउनुभयो ।
आकाशमा डम्म बादल छ । पूर्वानुमानअनुसार पानी पर्न लागेकै हो । तीन दिन बित्यो । तर, पर्दैन । त्यसैले छाता र वर्षादी बोकेका आममानिस पानीले आज पनि झुक्यायो भन्न थालेका थिए ।

बादल आकाश ढाक्नेगरी लागे पनि बीच–बीचमा आकाश खुल्दै चरक्क घाम लाग्ने क्रम दोहोरिइरह्यो । पश्चिमी न्यूनचापीय प्रणालीसँग यसपालि आएको बादल पानी कम पार्ने भएकाले सुरुवाती चरणमा मात्र वर्षा गराएको हुन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
कतिपय अवस्थामा बादल लागे पनि पानी पर्दैन । त्यसो हुनुमा पानी नपार्ने बादल आउनु, जलवाष्पयुक्त न्यूनचापीय प्रणाली नहुनु र हावाको बहाव विपरीत दिशातिर अग्रसर हुनु आदि कारण हुने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी तथा मौसमविद् रामप्रसाद अवस्थीले बताउनुभयो ।
यसापालिको हिउँदे वर्षामा यस्तै कारणले असर गरेको हुन सक्ने अनुमान उहाँ गर्नुहुन्छ । पानी पर्न बाँकी स्थानमा केही दिनपछि फेरि पानी पर्ने प्रणाली सक्रिय हुन सक्ने उहाँले औँल्याउनुभयो ।

यतिबेर बादल आकाशमा रहेको अवस्थामा वर्षा नहुँदा वातावरण प्रदूषित बन्दै गएको छ । पानी परेको खण्डमा बादलमाथि जान नपाएका धूलो र धूवाँका कण धर्तीमा झरेर आकाश सफा हुन्थ्यो । तीन दिनयताको मौसमी अवस्थामा प्रदूषणले पनि आकाशको पारदर्शिता कम गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकारण हवाई उडान दैनिकजसो प्रभावित बन्ने गरेको छ । तराईमा शीतलहर, हुस्सु र कुहिरो त्यसैका कारण बढेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?